काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन आफूले मध्यमार्गी बाटो रोजेको जिकिर गरेका छन् ।
बिहीबार मोरङ क्षेत्र नम्बर ६ स्थित सुन्दरहरैँचामा कांग्रेसका समर्थकहरूसँग कुराकानीका क्रममा कोइरालाले आफू दोस्रो विशेष महाधिवेशनमा नगएर पार्टी विभाजन रोक्न भूमिका खेलेको बताए ।
त्यसबेला एउटा समूह विशेष महाधिवेशन र अर्को नियमित महाधिवेशन भनेर हिँड्दा आफूले मध्यमार्गी बाटो रोजेको उनले बताएका छन् । ‘त्यसैले पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ’, उनले भने ।
आफू विशेष महाधिवेशनको हलमा गएको भए पार्टी दुई टुक्रा हुने निश्चित रहेको उनले सुनाए । ‘म त्यो हलमा गएको भए पार्टी दुई टुक्रा हुन्थ्यो,’ उनले भने ।
विशेष महाधिवेशनको हलमा जाँदा सभापति बन्ने अवसर पनि पाउने अवस्था रहेको उनको भनाइ थियो । तर पार्टी दुई टुक्रा हुने देखेपछि त्यहाँ नगएको उनले जिकिर गरे । ‘त्यहाँ गएको भए म पार्टी सभापति म बन्थेँ, बन्दैनथे त्यो बेग्लै कुरा हो। तर, पार्टी दुई टुक्रा हुन्थ्यो,’ कोइरालाले भने ।
कोइराला विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको हस्ताक्षरमा वितरित टिकट लिएर फेरि मोरङ ६ मा उत्रिएका छन् । त्यहाँ उनलाई नेकपा एमालेका विनोद ढकालले चुनौती दिँदैछन् ।













प्रतिक्रिया