उम्मेदवारको भाइरल मोह– सचेत मतदाताले रुचाउलान् त चटक ? « Khabarhub

उम्मेदवारको भाइरल मोह– सचेत मतदाताले रुचाउलान् त चटक ?



काठमाडौं— चुनावमा मतदातालाई प्रभावित पार्न गोठमा पुगेर गाई दुहुने, भकारो सोहोर्ने, खेत खनजोत गर्ने, नाङ्लो जाँतोमा सघाईदिने खालका चटके माहोल यसपटकको संसदीय चुनावमा पनि दोहोरिन थालेको छ । आफूलाई भाइरल बनाएर मतदाताको ध्यान खिच्ने यो शैली नयाँ होइन ।

सामाजिक सञ्जालको प्रभाव बढ्दै जाँदा यस्ता गतिविधिले ठाउँ पाउँदै आएका छन् । चुनावी तिथि नजिकिँदै जाँदा ध्यान खिच्न ‘एटेन्सन सिकर’ को यो शैलीले उम्मेदवारलाई विवादास्पद बनाउने जोखिम रहन्छ । निर्वाचन आयोगले यसखाले प्रचारशैलीमा नउत्रन सचेत गराउँदै आएको छ ।

खासगरी सामाजिक सञ्जालमा भाइरल भइरहेका केही दृश्यहरूले अहिलेको चुनावी प्रचार कति हदसम्म पुगेको छ भन्ने स्पष्ट देखाउँछन् । टेलिभिजन कार्यक्रम चलाउँदा अन्टसन्ट प्रश्न सोध्ने भनेर आलोचित हुँदै आएका पत्रकार ऋषि धमला चुनावी मैदानमा सर्वाधिक चटक गर्नेको अग्रमोर्चामा छन् ।

रौतहट–४ क्षेत्रबाट आम जनता पार्टीको प्रतिनिधित्व गर्दै उनी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । उम्मेदवारी दर्ता गरेसँगै उनी अहिले सक्रिय रूपमा प्रचारप्रसारमा जुटिरहेका छन् । सञ्चारकर्मीका रूपमा उनको स्पष्ट बोली र आक्रामक प्रस्तुति जनताले चासोका साथ हेर्ने गरे पनि, अहिले भने उनको भोट माग्ने शैली सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

हाल भाइरल भइरहेका भिडियोहरूमा धमलालाई विभिन्न अवतारमा देख्न सकिन्छ । कतै साइकल चलाउँदै, कतै तातो तेलमा जिलेबी पकाउन त कतै आराले काठ काट्दै गरेको दृश्यमा देखिन्छन् ।

एउटा भिडियोमा उनी पार्किङ गरिएको ट्याक्टरको चालक सीटमा बसेर किसानलाई मलबीउ सहज बनाउने संकल्प गर्छन् । अर्को भिडियोमा उखुबारीमा पुगेर उखु बोक्छन् । हँसियाले उखु काट्छन् । कतै ज्येष्ठ नागरिकको आँसु पुछेको देखाउँछन्, आफू पनि भावुक हुन्छन् । यी अधिकांश दृश्य असहज लाग्छ ।

समर्थकहरू यसलाई ‘जनतासँग घुलमिल हुने प्रयास’ भन्छन् भने आलोचकहरू ‘भोटका लागि देखावटी अभिनय’को संज्ञा दिन्छन्। यस्तै, गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रि स्वतन्त्र पार्टीका उम्मेदवार बनेका सुधन गुरुङको भिडियो पनि अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ । उक्त भिडियोमा नाम्लो सहितको भारी बोकेर उकालो चढ्दै गरेको देखिन्छ ।

गुरुङको यो दृश्यलाई कतिपयले श्रमको सम्मान र जनताको दुःख बुझ्ने प्रयासको रूपमा व्याख्या गरेका छन् । त्यसैगरी कुनै उम्मेदवारको अर्को भिडियो पनि चर्चामा छ । भिडियोमा उनले मतदाताको खुट्टा ढोगेर भोट मागेको देखिन्छ । यो दृश्यले केहीलाई भावुक बनाएको छ भने केहीले चुनावी मर्यादामाथि प्रश्न उठाएका छन् ।

उता गुल्मीमा रास्वपाबाट उम्मेदवार बनेका सागर ढकालले भोट माग्ने क्रममा चर्को अभिव्यक्ति दिएका छन् । ढकालले चुनावी सभा र सामाजिक सञ्जालमा आफ्नो दृष्टिकोण स्पष्ट पार्दै आम जनता समक्ष केही प्रश्न उठाएका छन्, जसले स्थानीय मतदाताको ध्यान खिचेको छ ।

उनले भने, “अहिलेसम्म गुल्मी जिल्लामा तपाईंहरूले हेर्नुभयो भने पेशा गरेको नेता खोई ? काम गरेर खानुपर्छ कि पर्दैन ? तपाईंले यहाँ किराना पसल गर्नुपर्ने, होटल गर्नुपर्ने, व्यवसाय गर्नुपर्ने, गाडी चलाउनुपर्ने । नेताहरूले गर्न पर्दैन ? छोराछोरी पाल्नलाई केही गर्न पर्दैन ? नेताहरू अहिलेसम्म के गरे ? काम गरेर खाए, खाएनन् तर हामीले काम गरेर खाएको आजको दिनसम्म ।” सागर ढकाल यतिमै रोकिदैनन् ।

आत्मरतिमा रमाउँदै भन्छन्– ‘मैले विदेश बनाएँ । भारत, चीन, अमेरिकाजस्ता देशबाट बोलावट आइरहेको छ । तर के मैले आफ्नै गुल्मीलाई बनाउन नपाउने ?” अघिल्लो संसदीय चुनावमा उनी डडेलधुरामा पुगेर उमेदवारी दिएका थिए ।

एकातर्फ यस्ता गतिविधिले चुनावी प्रचारलाई जनतासम्म सजिलै पुर्‍याउने काम गरिरहेको छ भने अर्कोतर्फ राजनीति गम्भीर विषय हो कि केवल दृश्यात्मक प्रतिस्पर्धा भन्ने बहसले ठाउँ पाउँदै गएको छ । राजनीति जनताको व्यवस्थापन हो ।

त्यसको लागि स्पष्ट विचार, उद्देश्य, लक्ष्य सबै चाहिन्छ । विशेष गरी कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टीका उमेदवार यस्ता प्रचारमा कम देखिएका छन् । मतदाताले चटक पत्याउँछन् कि विचार त्यसका लागि फागुन २१ पर्खनुको विकल्प छैन ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ३ : ०४ बजे

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ