अस्पताल भवन बन्यो, सञ्चालनमा आएन « Khabarhub

अस्पताल भवन बन्यो, सञ्चालनमा आएन


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– शिरानमा ६ भिरालो जग्गामा गुजुमुज्ज परेको दोवागाउँ । गाउँको पुछारमा उजाड लाग्दो पाखो छ । पाखोको छेउमै छ पहेँलो रङको पक्की भवन । अनकन्टारजस्तो ठाउँमा आकर्षक देखिने त्यो भवन दोवाको पालिकास्तरीय अस्पताल भवन हो ।

२०७८ सालमा निर्माण सम्पन्न भएको त्यो भवन बाहिर हेर्दा चिटिक्कको देखिए पनि भित्र खण्डहरजस्तै बनेको छ । कारण हो– अस्पताल सञ्चालनमा आउन नसक्नु । निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि पाँच शय्या क्षमताको सो अस्पतालमा न उपकरण आए, न त चिकित्सक नै । अहिले करोडौँ रुपैयाँ खर्च गरेर बनाएको सो भवन अलपत्र अवस्थामा छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा पर्छ दोवागाउँ । अस्पताल भवनबाट गाउँमा पुग्न गाडीमा १५–२० मिनेट लाग्छ । गाउँदेखि टाढा अपायक ठाउँ । न राम्रो सडक न व्यवस्थित बस्ती । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने नीतिअनुरुप स्थानीयवासीले जग्गादान दिएर निर्माण गरिएको सो अस्पताल दोवावासीका लागि कुनै काममा आएन ।

बजेट अभाव र जनशक्ति व्यवस्थापन नहुँदा अस्पताल भवन प्रयोगमा आउन नसकेको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाले बताए । वडाध्यक्ष गर्बुजाका अनुसार चार वर्ष अगाडि निर्माण सम्पन्न भएको पाँच शय्याको पालिकास्तरीय अस्पतालको भवन उपकरण, चिकित्सकसहितको जनशक्ति व्यवस्थापनमा तीनै तहको सरकारको ध्यान नपुग्दा अलपत्र अवस्थामा पुगेको हो ।

बाह्र रोपनी सात आना दुई दाम क्षेत्रफल रहेको अस्पताल रविना–अमित जेभीले पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का लिई निर्माण गरेको अध्यक्ष गर्बुजाले बताए । अस्पताल निर्माण गर्न स्थानीय सात व्यक्तिले १२ रोपनी सात आनाभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको गर्बुजाले बताए ।

अस्पतालमा अपाङ्गमैत्री भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवास सहित ३५ कोठा छन् ।

अस्पताल भवन बनेर पनि सञ्चालनमा आउन नसकेपछि सामान्य बिरामी पर्दा पनि उपचारका लागि बेनी धाउनुपरेको अन्नपूर्ण गाउँपालिका–१ दोवाकी मनसरा गर्बुजाले गुनासो गरिन् । पाँच शय्या क्षमताको भूकम्पप्रतिरोधी भवन निर्माण भए पनि प्रदेश र सङ्घीय सरकारले आवश्यक स्रोतसहितको जनशक्ति व्यवस्थापन गर्न नसकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले बताए । (रासस)

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ८ : ०० बजे

सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मकवानपुरको मनहरीमा बस दुर्घटना : २२ यात्रु घाइते

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना भएको छ

माध्यमिक परिक्रमाको सातौँदिन : ध्रुवकुण्ड पुग्दै यात्री

महोत्तरी– १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन

मणिका धाममा फागुन १३ र १४ गते परम्परागत मेला लाग्ने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका

नेपालगञ्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको