रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी « Khabarhub

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिता पालनासम्बन्धी निर्वाचन आचारसंहिता, २०८२ ले तोकेबमोजिमका चार बुँदे आचरणसहित सार्वजनिक सूचना जारी गरेको छ ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्य र निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रमुख कोष नियन्त्रक विष्णुप्रसाद खनालले आज राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिहरूका लागि आचारसंहिता कार्यान्वयन गराउन सूचना जारी गरिएको जनाइएको छ ।

सूचनामा निर्वाचन आचारसंहिता २०८२ बमोजिम जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने विभिन्न २५ बुँदे आचरण तोकिएको छ । जसअन्तर्गत राजनीतिक पार्टी वा उम्मेदवारले चुनाव प्रचारप्रसारका क्रममा जुलस, आमसभा, कोणसभा वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने उल्लेख छ । कार्यक्रम गर्दा कसैको घरको आसपास गई विरोध वा प्रदर्शन गर्न नहुने, कार्यक्रम गर्दा मिति, समय, मार्ग र स्थानका बारेमा कम्तीमा २४ घण्टाअगावै स्थानीय प्रशासनसँग अनुमति लिएर गर्नुपर्ने उल्लेख गरिएको छ ।

निर्वाचन प्रचारप्रसारका कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग गर्न पूर्ण रूपले रोक लगाइएको छ । साथै ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउनसक्ने किसिमले प्रचारप्रसार गर्न गराउन नहुने उल्लेख गरिएको छ ।

घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर बाजागाजा तथा झाँकीसहित जान बन्देज गरिएको छ ।

निर्वाचन प्रचारप्रसारका क्रममा कुनै पनि धर्मका नाममा प्रचारप्रसार गराउन र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने उल्लेख गरिएको छ । यस्तै, दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारले र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्नबाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झन्डा प्रयोग गर्न गराउन नहुने स्पष्ट पारिएको छ ।

निर्वाचन आचारसंहिता २०८२ बमोजिम उम्मेदवार र राजनीतिक दलहरूका लागि निर्वाचन प्रयोजनका लागि सवारीसाधन प्रयोग गर्नसमेत आचरणहरू आचारसंहितामा व्यवस्था गरिएको छ । आचारसंहितामा निर्वाचन अधिकृतको अनुमति लिइ उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ । तर विदेशी नम्बर प्लेटको सवारीसाधनलाई प्रयोग गर्न बन्देज लगाइएको छ ।

यस्तै कुनै पनि राजनीतिक दलले हेलिकप्टर सेवा प्रयोग गर्दा राजनीतिक दलका लागि आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उम्मेदवारको सङ्ख्याका आधारमा दलले गर्न पाउने खर्चको सीमाभित्र रही गर्नुपर्ने उल्लेख गरिएको छ ।

निर्वाचन आचारसंहिताबमोजिम राजनीतीक दल तथा कुनै पनि उम्मेदवारका लागि निर्वाचन प्रयोजनका लागि गर्नुपर्ने खर्चको समेत आचारसंहिताले तोकेको मापदण्ड पालना गर्ने व्यवस्था गरिएको छ । यसअन्तर्गत राजनीतिक कुनै पनि दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सो खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने र उक्त रकम बुझेको रसिद वा भरपाई दिइ उम्मेदवार वा दलको बैंक खातामा जम्मा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

यस्तै, निर्वाचन आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारका क्रममा सञ्चारमाध्यमको प्रयोग गर्दा टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसारका लागि प्रयोगको मापदण्ड पनि तोकिएको छ । निर्वाचन प्रचारप्रसारका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न पाउने त्यसको प्रयोगको मापदण्ड निर्धारण गरी सूचना जारी गरिएको छ ।

अनुगमन समितिले जारी गरेको आचारसंहितासम्बन्धी सूचनाबमोजिम निर्वाचन आचारसंहिता, २०८२ को बर्खिलाप हुनेगरी गतिविधि सञ्चालन गरे गराएको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रु एक लाखसम्म जरिवाना गर्न वा उम्मेदवारीसमेत रद्द हुनसक्ने जनाइएको छ ।

अनुगमन समितिले निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण रूपमा पालना गरी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सफल, स्वच्छ, निष्पक्ष तथा भयरहित तवरबाट सम्पन्न गर्न तथा आचारसंहिता पालनामा नमूना तथा उदाहरणीय जिल्ला बनाउने कार्यमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आमनागरिक, मतदाता एवं सञ्चारकर्मीलगायत सम्बद्ध सबै सरोकालवालालाई अनुरोध गरिएको छ । (रासस)

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ११ : २१ बजे

टाटा कमर्सियल गाडीको सुरक्षित यात्राको लागि आजबाट होली सर्भिस क्याम्प

काठमाडौं– होली पर्व नजिकिँदै गर्दा टाटा कमर्सियलले ग्राहकलाई आजदेखि १५ गते

भक्तपुर- १ का मतदाता भन्छन् : सधैँ जनतामाझ रहने उम्मेदवारलाई मात्र मत दिन्छौँ

काठमाडौं– ‘चुनावमा मात्रै भोट माग्न आउनेलाई यसपाली मतदान गरिँदैन’ भक्तपुर

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, एकै परिवारका चारसहित कम्तीमा १६ जना मारिए

इस्लामावाद- पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ। आइतबार

यो निर्वाचनले परिवर्तनको अपेक्षा पूरा गर्नेछ : डा. अयोधीप्रसाद यादव (अन्तर्वार्ता)

राजविराज– प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २०७३ असार २७

पाक-अफगान सीमा तनाव चुलियो

बिहसुद– पाकिस्तानले आइतबार छिमेकी अफगानिस्तानको सीमा क्षेत्रमा गरेको व्यापक हवाई