अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, एकै परिवारका चारसहित कम्तीमा १६ जना मारिए « Khabarhub

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, एकै परिवारका चारसहित कम्तीमा १६ जना मारिए

चार महिनापछि दुई छिमेकीबीच फेरि चुलियो तनाव


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ। आइतबार बिहान सबेरै सीमावर्ती क्षेत्रमा गरिएको आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको मानवअधिकार संगठनले जनाएको छ।

अफगान अधिकारीका अनुसार आक्रमणमा एकै परिवारका सबै १३ सदस्य पुरिएका छन्। जसमध्ये चारजनाको ज्यान गइसकेको छ ।

अल जजिराका अनुसार पाकिस्तानी सेनाले तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेटसँग सम्बन्धित सातवटा क्याम्प र ठेगानालाई निशाना बनाएको दाबी गरेको छ।

पाकिस्तान सरकारले हालै भएका आत्मघाती हमलाको जवाफस्वरूप ‘इन्टेलिजेन्स बेस्ड अपरेसन’ सञ्चालन गरिएको जनाएको छ। सूचना तथा प्रसारण मन्त्रालयले अफगान भूमिबाट सञ्चालित सञ्जालले पाकिस्तानमा आक्रमण गराएको पुख्ता प्रमाण रहेको दाबी गरेको छ।

टोलोन्यूजका अनुसार नांगरहार प्रान्तमा एउटा घरमा आक्रमण हुँदा एकै परिवारका २३ जना भग्नावशेषमा पुरिएका थिए। हालसम्म चार जनालाई मात्र बाहिर निकालिएको छ। आक्रमणका बेला यो परिवार सुतिरहेको थियो।

अन्तर्राष्ट्रिय मानवअधिकार फाउन्डेशनका अनुसार यो घटनामा १६ जनाको मृत्यु भएको छ, जसमा महिला र बालबालिका पनि छन्। यद्यपि आधिकारिक तथ्यांक अझै सार्वजनिक भएको छैन।

अफगानिस्तानको चेतावनी

अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानलाई ‘उचित समयमा कडा जवाफ दिने’ चेतावनी दिएको छ। मन्त्रालयले यसलाई अफगान सार्वभौमिकताको उल्लंघन भनेको छ।

अफगान अधिकारीका अनुसार पक्तिका प्रान्तमा एक धार्मिक विद्यालयमा ड्रोन आक्रमण भएको थियो । उता नांगरहारमा पनि आक्रमण गरिएको छ।

पाकिस्तानको दाबी र माग

पाकिस्तानले आतंकवादी ठेगानामा मात्र आक्रमण गरिएको बताएको छ। इस्लामाबादले लामो समयदेखि तालिबान सरकारसँग अफगान भूमिलाई कुनै पनि आतंकी समूहले प्रयोग गर्न नदिन माग गर्दै आएको छ। पाकिस्तानले टीटीपी अफगानिस्तानबाट सञ्चालन भइरहेको आरोप लगाएको छ, तर तालिबानले यसलाई अस्वीकार गर्दै आएको छ।

पाकिस्तानले सन् २०२० मा अमेरिका र तालिबानबीच कतारको दोहामा भएको दोहा सम्झौताअनुसार तालिबानमाथि अन्तर्राष्ट्रिय समुदायले दबाब दिनुपर्ने माग गरेको छ।

उक्त सम्झौता २९ फेब्रुअरी २०२० मा हस्ताक्षर भएको थियो, जसले अमेरिकी फौज फिर्ता गर्ने मार्ग प्रशस्त गरेको थियो।

त्यसपछि सन् २०२१ मा अमेरिकी सेना फिर्ता भएपछि तालिबानले काबुल नियन्त्रणमा लिएको थियो।

पछिल्ला हमलापछि तनाव

एयरस्ट्राइकअघि खैबर पख्तूनख्वाको बन्नू जिल्लामा सुरक्षा गस्तीमाथि आत्मघाती हमला हुँदा दुई सैनिक, जसमा एक लेफ्टिनेन्ट कर्नेल पनि थिए, मारिएका थिए। १६ फेब्रुअरीमा बाजौरमा विस्फोटकले भरिएको गाडी सुरक्षा चौकीमा ठोक्किँदा ११ सैनिक र एक बालकको ज्यान गएको थियो।

यसअघि इस्लामाबादस्थित एक शिया मस्जिदमा जुमाको नमाजका बेला भएको आत्मघाती आक्रमणमा ३१ जनाको मृत्यु र १६९ जना घाइते भएको डनले जनाएको थियो। उक्त हमलाको जिम्मा इस्लामिक स्टेटले लिएको थियो।

टीटीपी : पाकिस्तानका लागि ठूलो खतरा

सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा आएपछि टीटीपीले पाकिस्तानी सुरक्षाबलविरुद्ध गुरिल्ला युद्ध तीव्र पारेको छ।

पाकिस्तानले टीटीपीका लडाकुहरू अफगानिस्तानमा तालिम लिएर सीमा पार गरी आक्रमण गर्दै आएको आरोप लगाएको छ। तालिबानले भने टीटीपी लाई समर्थन नगरेको दाबी गर्दै आएको छ।

सन् २००७ मा बैतुल्लाह मेहसूदको नेतृत्वमा टीटीपी गठन भएको थियो। यसको उद्देश्य पाकिस्तानी राज्यविरुद्ध लड्नु र शरिया कानुन लागू गर्नु रहेको बताइन्छ।

पाकिस्तान इन्स्टिच्युट फर पिस स्टडीजका अनुसार पछिल्ला वर्षमा पाकिस्तानमा आतंकवादी आक्रमण उल्लेख्य रूपमा बढेका छन्, जसका लागि टीटीपी लाई मुख्य कारण मानिएको छ।

अक्टोबरमा सीमा क्षेत्रमा भएका झडपपछि दुवै देशबीच तनाव चर्किएको छ। कतारको मध्यस्थतामा अस्थायी युद्धविराम भए पनि स्थायी सहमति हुन सकेको छैन।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  १२ : ५६ बजे

इ-कमर्स व्यवसायलाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी : पोर्टलमा सूचीकरण अनिवार्य

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट हुने व्यापारलाई

लिङ्देनको गुनासो : चुनावअघि नै राजासहितको नयाँ समझदारी गरौँ भन्दा कसैले सुनेनन्

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि नयाँ

मतदान गर्नुअघि देश जलाउने र बनाउनेलाई चिनौँ : महेश बस्नेत

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको

गृहमन्त्री अर्यालद्वारा ‘रासस मिडिया सङ्ग्रहालय’ अवलोकन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय  र समाचार बुलेटिन