घोषणा पत्रमा दलका उडन्ते योजना, विज्ञ भन्छन् : औकातबिनाको महत्वाकाङ्क्षा कसरी पूरा होला ? « Khabarhub

घोषणा पत्रमा दलका उडन्ते योजना, विज्ञ भन्छन् : औकातबिनाको महत्वाकाङ्क्षा कसरी पूरा होला ?

पुरानादेखि नयाँ दलसम्म बाँड्दै फोस्रा सपना



काठमाडौं- सडक समयमै नबन्दा हजुरबुबादेखि नाती पुस्तासम्मले भोग्नुपर्ने वर्षौँदेखिको सास्ती उस्तै छ । सडक मात्रै होइन, आमनागरिकसँग दिनहुँ प्रत्यक्ष जोडिने अधिकांश यातायात पूर्वाधार क्षेत्रको नियति उस्तै छ ।

यो नियतिको उदाहरण भोग्न कुनै विकट गाउँ पुग्नै पर्दैन । देशकै राजधानी काठमाडौंमा वर्षौदेखि आम नागरिकले भोग्नुपर्ने घण्टौँदेखिको जाम नै पर्याप्त होला ।

यससँगै विद्युत प्राधिकरण, ढल तथा सडक विभागको तादात्म्य नहुँदा राजधानीको सडक पेटी छिचोल्न पैदल यात्रीलाई सकस छ । जसले सरकारको नीति र समन्वयलाई उदाङ्गो पारेको छ ।

यस्तै, पूर्व-पश्चिम, हुलाकी, मध्यपहाडी लगायत दर्जनौँ राजमार्ग दशकौँ बितिसक्दा समेत विस्तार सकिएको छैन । तर, दलका घोषणापत्रमा यसपटक पनि जलदेखि रेलमार्गसम्मका महत्वाकाङ्क्षी योजनाले नै निरन्तरता पाएका छन् ।

के भन्छन् जानकार ?

दलका घोषणापत्र यसपटक पनि पुरानै ढर्रामा अव्यवहारिक बनेको सरकारका पूर्वसचिव किशोर थापाले टिप्पणी गरेका छन् । उनका अनुसार वर्षौदेखि दोहोरिँदै आएका प्रतिबद्धताले घोषणापत्रको विश्वसनीयता घट्दै गएको छ ।

‘विगतको जस्तै पूरा हुने कुरा खासै छैनन् । आफ्ना वाचामा प्रतिबद्ध हुनुपर्ने भए व्यवहारिक कुरा आउँथ्यो, पछाडि फर्केर हेर्नै नपर्ने भएपछि जे लेखे पनि त्यसले फरक पार्दैन,’ उनले भने ।

दलहरू सुधारिएर आउने आफ्नो अपेक्षा भएपनि घोषणापत्रमा लेखिएका विषय हेर्दा औकातबिनाका महत्वाकाङ्क्षामात्रै दोहोरिएको उनी बताउँछन् । उत्पादन र क्षमता अभिवृद्धिसम्बन्धी ठोस योजना नदेखिँदा जनता अझ हैरान हुनेमा उनले शङ्का व्यक्त गरे ।

‘महत्वाकाङ्क्षा त बालकदेखि हरेक साधारण व्यक्तिको पनि हुन्छ, विगतका बाचाहरू पूरा गर्नेतर्फ इमान्दारी नदेखाउने प्रवृत्तिबाट त हाम्रो समाज हाम्रा मतदाता हामी सबै हैरानै छौँ नि’ , उनले थपे, ‘हामीले प्रविधि, जनशक्ति, पूँजी परिचालनमा क्षमता नबढाउँदा पूर्वाधार लगायत क्षेत्रमा दशकौदेखि गौरवका आयोजनाहरू अस्तव्यस्त छन् । त्यसलाई पूरा गर्ने बाटोमा हामीले क्षमता बढाउन सकेनौँ ।’

अब सरकारमा आउने दलले देशलाई विकासोन्मुखतर्फ लैजान अन्तरदेशीय कूटनीति र स्वदेशी तथा विदेशी पुँजी परिचालनमा नीतिगत सुधारमा केन्द्रित हुनुपर्ने उनले बताए ।

‘हामी अल्पविकसितबाट विकासोन्मुखतर्फ जाँदैछौँ । तर सरकारले विनियोजन गर्ने करिब दुई खर्ब रुपैयाँ पर्याप्त छैन’, उनले थपे, ‘स्वदेशी र अन्तरदेशीय पूँजी कसरी भित्र्याउने भन्ने स्पष्ट खाकाबिना यति किलोमिटर सडक र रेल बनाउँछुभन्ने घोषणाको अर्थ हुँदैन, कहाँबाट गर्ने ?’

रेमिट्यान्स मात्रै विकासका लागि पर्याप्त नहुने भन्दै वस्तु तथा सेवा उत्पादन बढाउँदै पूँजी परिचालनको स्पष्ट रणनीति घोषणापत्रमा कोर्नुपर्नेमा त्यसो नभएको उनले बताए । सबै दलका घोषणापत्रमा समग्र भौतिक विकासको दीर्घकालीन सोच र योजनामा पर्याप्त गृहकार्य र गम्भीरता नदेखिएको योजनाकार तथा नीति विश्लेषक डा. सूर्यराज आचार्य बताउँछन् ।

‘दीर्घकालीन सोच र गम्भीर गृहकार्यभन्दा झाराटराइ मूलतः हालकै टुक्रे–विकासको शैलीकै निरन्तरता देखिन्छ,’ उनले थपे, विकासशील र गरिब देशको भौतिक विकास तथा पूर्वाधारको तत्कालआवश्यकताको सोच बोकेर मध्यआय वा विकसित देशको सपना बाँड्ने पुरानै विकासे शैलीलाई सबै दलले पछ्याएको देखियो ।’

५ वर्षे कार्यकालका लागि दलले घोषणापत्र बनाएपनि भौतिक विकासको हकमा ५० वर्ष पछिको नेपाललाई ध्यानमा राखेर योजना बनाउनु पर्ने उनले सुझाए ।

पूर्वाधारमा कुन दलको प्रतिबद्धता कस्तो ?

उज्यालो नेपाल पार्टी (उनेपा)

प्रविधियुक्त पूर्वाधार विकासलाई प्राथमिकतामा दिँदै उनेपाले पोडवे, सुरुङमार्ग, मेट्रो र केवलकार लगायतको सम्भाव्यता अध्ययन गरी पीपीपी मोडेलमार्फत निर्माण अघि बढाउने उल्लेख गरेको छ । यी विषय हरेक चुनावमा सबै दलका मुख्य एजेण्डा बनाइए पनि निर्वाचित बनेपछि त्यसमा पर्याप्त ध्यान पुगेको देखिँदैन ।

देशको संघीय राजधानी काठमाडौं उपत्यकामा मेट्रो चलाउनेबारे पटक–पटक सम्भाव्यता अध्ययन गरियो । तर स्थानीय सरकारबीच समन्वय नहुँदा उक्त विषय हालसम्म अध्ययनमै सीमित छ । बालेन्द्र शाह नै नगर प्रमुख हुँदासमेत यो योजना अघि बढाउन कुनै प्रयास गरेनन् ।

हवाई पूर्वाधारतर्फ पोखरा र भैरहवा विमानस्थलको सञ्चालन विस्तार गर्दै हवाई कनेक्टिभिटी बढाउन नयाँ एयरलाइन्सलाई प्रोत्साहन गरिने उल्लेख छ । यो विषयमा सबै दलको प्रतिज्ञा छ ।

अर्बाैँ लगानीमा बनेका यी दुवै विमानस्थल उद्घाटनको करिब तीन वर्ष बितिसक्दा पनि नियमित जहाज उड्न सकेका छैनन् । अझ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै दर्ता भएको मुद्दा अदालतमा विचाराधीन छ । ठेक्का प्रक्रिया र लागत अनुमान बढाउने विषयमा राजेन्द्र लिङ्देन संयोजक रहेको तत्कालीन पूर्वाधार विकास समितिले थप अनुसन्धान र कारबाहीका लागि सिफारिस गरेको थियो ।

विमानस्थलको लागत अनुमान १४ अर्ब रुपैयाँ गरिएकोमा बोलपत्र आह्वान गर्दा न्यूनतम बोलपत्र लगाउनेले नै ३० अर्ब रुपैयाँभन्दा धेरै कबोल गरेको थियो । त्यसलाई पछि वार्ताबाट २२ अर्ब रुपैयाँ पुर्‍याएर सम्झौता गरिएकोमा मुद्दा दर्ता भएको थियो ।

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी मोडालिटी टुङ्ग्याएर निर्माणलाई तीव्रता दिने योजना पनि समेटिएको छ ।उक्त विमानस्थलबारे सर्वोच्च अदालतले २०७९ निर्माण प्रक्रियाअघि नबढाउन सरकारका नाममा आदेश जारी गरिसकेको छ ।

सर्वोच्चले उक्त विमानस्थलबारे एकसाथ तीन निर्णय गरेर अहिलेसम्मका प्रक्रिया खारेज गर्दै विज्ञ टोली बनाएर अरू विकल्पमाथि अध्ययन गर्न सुझाएको थियो । सरकारले २० फागुन २०७१ मा उक्त निर्णय अघि सारेको थियो ।

यस्तै, सडक पूर्वाधारअन्तर्गत आगामी पाँच वर्षभित्र ८ हजार किलोमिटर कालोपत्रे, ४ हजार किलोमिटर ग्राभेल र ३ हजार किलोमिटर नयाँ ट्रयाक खोल्ने लक्ष्य लिइएको छ । काठमाडौं–निजगढ, पूर्व–पश्चिम, मध्यपहाडी, हुलाकी तथा उत्तर–दक्षिण कोरिडोरहरूको स्तरोन्नति गर्ने योजना छ ।

रेलमार्गतर्फ रक्सौल–काठमाडौं–केरुङ तथा पूर्व–पश्चिम रेलमार्गको विस्तृत अध्ययन पूरा गरी लगानी ढाँचा तयार गरिने उल्लेख छ । कोशी, गण्डकी र कर्णाली नदीमा जलमार्गको सम्भाव्यता अध्ययन गरी जल यातायात सुरु गर्ने नीति पनि उनेपाले अघि सारेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

सार्वजनिक खरिद ऐन संसोधन तथा आयोजनामा हुने ढिलासुस्ती, लापरवाही र नीतिगत भ्रष्टाचारको अन्त्य गर्ने दाबी राप्रपाले गरेको छ ।

चालु तथा प्रस्तावित आयोजना३ वर्षभित्र सम्पन्न गर्नेगरी तीब्रता दिइने जनाइएको छ ।

मेट्रो, पडवे, आकाशे पुल, अण्डरपास, ओभरपास, रिङ्गरोड विस्तार तथा वैकल्पिक मार्ग निर्माणमार्फत यातायात सञ्जाललाई आधुनिक र व्यवस्थित बनाइने राप्रपाको दाबी छ ।

‘स्मार्ट ट्राफिक प्रणाली, पार्किङ सुविधा, इलेक्ट्रिक बस र रेलको प्रयोगलाई प्रोत्साहन दिइनेछ । पाँच वर्षभित्र सम्पूर्ण उपत्यकालाई मेट्रो रेल र पडवे लगायतका यातायातमार्फत यातायात सञ्जालमा जोडिनेछ ।’ घोषणापत्रमा उल्लेख छ ।

राष्ट्रिय रणनीतिक सडक बाह्रै महिना सुचारु, महेन्द्र राजमार्ग तीन वर्ष भित्र अन्तर्राष्ट्रिय हाइवेको मापदण्डमा स्तरोन्नति गरिने समेत घोषणापत्रमा दाबी छ । आर्थिक सम्भाव्यताको आधारमा रेलमार्गको निर्माण र सञ्चालनमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गरिने समेत राप्रपाको प्रतिबद्धता छ ।

एमाले

नेकपा एमालेले देशभित्र र अन्तरदेशीय गरी ६ वटा रेल मार्ग निर्माण गर्ने लक्ष्य राखेको छ ।

‘पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आगामी एक दशकभित्र सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिनेछौँ, वीरगञ्ज–काठमाडौं, केरुङ–काठमाडौं विद्युतीय रेलमार्ग निर्माणका लागि पूर्वाधार तयारी बढाउनेछौँ । नेपाल–भारत अन्तरदेशीय रेलमार्ग निर्माणको कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने,’ एमालेको घोषणापत्रमा उल्लेख छ ।

विद्युतीय रेल मात्रै होइन, शहरी क्षेत्रमा सवारीको चाप व्यवस्थापन गर्न मेट्रोरेल, मोनोरेल सञ्चालनमा समेत एमालेको जोड छ । तथापी २०७४ को निर्वाचनमा एमालेबाटै विद्यासुन्दर शाक्य नगरप्रमुख बन्दा समेत काठमाडौं उपत्यकामा मेट्रोरेल, मोनोरेल सञ्चालन गर्नेबारे चर्चा चुलिएको थियो ।

तर एमालेकै अध्यक्ष केपी शर्मा ओली आफैँ प्रधानमन्त्री बन्दा समेत कार्यान्वयनमा कुनै पहल गरेनन् ।

‘शहरी क्षेत्रमा सवारीको चाप व्यवस्थापन गर्न मेट्रोरेल, मोनोरेल, पडवे, फाष्टट्रयाक तथा धेरै यात्रु बोक्ने बस सेवा सञ्चालन गर्नेछौँ । सार्वजनिक यातायातको पुनर्संरचना गरी ठूला शहरमा विद्युतीय बस सेवा विस्तार गर्नेछौँ’ घोषणापत्रमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय विमानस्थललाई थप मजबुत बनाउँदै प्रमुख आन्तरिक विमानस्थललाई दैनिक १८ घन्टा सञ्चालन गर्ने एमालेले बताएको छ ।

तथापि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको झण्डै ३ वर्ष बितिसक्दा पनि नियमित हुन सकेका छैनन् । केही आन्तरिक विमानस्थल समेत निर्माणपछि सुचारु हुन सकेका छैनन् ।

भारत र चीनसँग अन्तरदेशीय जलमार्ग विस्तार गर्दै अन्तर्राष्ट्रिय व्यापारमा जलमार्गको पहुँच पुर्‍याउने लक्ष्य घोषणापत्रमा समेटिएको छ । ‘राजमार्ग, रेलमार्ग, जलमार्ग र विमानस्थललाई एकअर्कासँग आबद्ध गर्नेगरी एकीकृत मल्टिमोडल ट्रान्सपोर्ट सिस्टमको विकास गर्नेछौँ,’ एमालेको घोषणापत्रमा उल्लेख छ ।

काठमाडौं–तराई जोड्ने द्रुतमार्गको निर्माण निर्धारित समयभित्र सम्पन्न गर्दै पूर्व–पश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेमा स्तरोन्नति गर्ने एमालेको लक्ष्य छ । यस्तै मध्यपहाडी, हुलाकी राजमार्ग लगायत गौरवका आयोजनाका रुपमा विस्तार भइरहेका सडकलाई विशेष रुपमा विकास गर्ने बताइएको छ ।

‘राष्ट्रको लाइफलाइन मानिने सडक पूर्वाधारको गुरुयोजना तयार गरी मध्यपहाडी–पुष्पलाल राजमार्गलाई डेडिकेटेड डबल लेनको स्तरमा निर्माण गर्नेछौँ । मदन भण्डारी र हुलाकी राजमार्गलाई रणनीतिकराजमार्गको रूपमा विकास गर्नेछौँ । कोशी, गण्डकी र कर्णाली करिडोरलाई आर्थिक समृद्धिका मेरुदण्डको राजमार्गका रूपमा विकास गर्नेछौँ’, घोषणापत्रमा भनिएको छ ।

तर, दशकौँदेखि अलपत्र यि आयोजना सम्पन्न गर्न पटक–पटक सरकारमा पुग्दा समेत ध्यान नपुर्‍याएको एमालेको यो वाचालाई जनताले कति विश्वास गर्ने हुन् त्यो समयले बताउँछ । देशभरिका ७ सय ५३ वटै पालिकामा बाह्रै महिना चल्ने एक सडक निर्माण गर्ने एमालेको दाबी छ ।

‘सबै गाउँपालिका, जिल्ला सदरमुकाम र प्रदेश राजधानीलाई राष्ट्रिय राजमार्गमा जोड्नेछौं,अब बन्ने सडक कम्तीमा डबल लेनको बनाउँदै सिंगल लेनमा बनिसकेका सबै सडक डबल लेनमा स्तरोन्नति गर्नेछौँ,’ पत्रमा उल्लेख छ ।

क्षेत्रमा बस्ने व्यक्तिले औसत आधा घण्टा हिँडेर सडक सुविधाको सञ्जाल निर्माण गर्ने एमालेको योजना छ । जोखिमयुक्त सडक क्षेत्रमा सीसी क्यामरा जडान र निश्चित दूरीमा ट्रमा सेन्टर निर्माण गर्ने जनाइएको छ ।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै सूचना प्रविधिमा आधारित एकीकृत र विद्युतीय भाडा प्रणाली विकास गर्ने बताइएको छ । लामो दूरीका सवारी साधनहरू निश्चित अन्तरालमा २४सै घन्टा उपलब्ध हुने व्यवस्था मिलाउने उल्लेख छ ।

शहरी क्षेत्रका हकमा भने सार्वजनिक यातायातका रुट व्यवस्थित गरी दश मिनेटको दूरीमा सार्वजनिक यातायातको पहुँच सुनिश्चित गर्ने जनाइएको छ । जबकी देशकै सर्वोच्च निकायहरु भएको राजधानीमा समेत बेलुका हुनेवित्तिकै सार्वजनिक सवारी सडकमा देखिदैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रास्वपाको प्रतिबद्धतापत्रमा पनि अन्य दलले जस्तै रेलमार्ग र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखिएको छ ।

रेलमार्ग विस्तारको लागि रास्वपाले ५० वर्षे गुरुयोजना बनाएर नेपालको यातायात प्रणालीमा दीर्घकालीन परिवर्तन ल्याउने जनाएको छ ।

‘पोखरा, काठमाडौ, दाङ, सुर्खेत र तराईका प्रमुख शहरसम्म शाखा मार्गसहित नेपाललाई चीन र भारतका रेल सञ्जालसँग जोडिनेछ, नेपालका प्रमुख शहरमा मध्य–कालमा विद्युतीय बस र पछि लामो दूरीको रेलमार्ग सञ्जालमा जोडिन ट्याम, हलुका रेल आदि समेटिनेछ,’ प्रतिबद्धतापत्रमा उल्लेख छ ।

मुआब्जा तथा कानुनी जटिलता समाधानसँगै गौरवको आयोजनाको रुपमा निर्माणाधीन पूर्व–पश्चिम विद्युतीय रेलमार्ग चाँडो सञ्चालनमा ल्याइने पत्रमा उल्लेख छ ।

२०७४/०७५ मा ठेक्का लागेको उक्त आयोजनाको करिब एक दशक बितिसक्दा रुट यकिन समेत हुन सकेको छैन । रास्वपाले भनेजस्तै मुआब्जा समाधानका लागि २५ देखि ३० अर्ब रुपैयाँ लाग्ने हुँदा ट्रयाक नै परिवर्तन गर्ने कि भन्नेमा छलफल जारी छ । यसखण्डमा यतिबेला जयनगर–जनकपुर हुँदै बर्दिबाससम्म बेड ट्रयाक बनाउन सरकारले काम गरिरहेको छ ।

यससँगै, विगत १२ वर्षदेखि अलपत्र राष्ट्रिय गौरवका यातायात आयोजनालाई आगामी दुई वर्षभित्र सम्पन्न गर्ने रास्वपाको कार्ययोजना छ ।

‘आयोजना प्रमुखसँग कार्यसम्पादन सम्झौता, जग्गा प्राप्ति र मुआब्जा वितरणमा डिजिटल ट्रयाकिङमार्फत अवरोध हटाइने, १२ वर्षदेखि गतिहीन रहेका राष्ट्रिय गौरवका आयोजनालाई आगामी २ वर्षभित्र अनिवार्य सम्पन्न गर्ने, आयोजना समयमै र गुणस्तरीय बनाउन प्रमुख तथा खटिएका कर्मचारीको सरुवा नगर्ने व्यवस्था गर्नेछ,’ प्रतिबद्धतापत्रमा जनाइएको छ ।

इन्जिनियरिङ मापदण्ड लगायत ठेक्का प्रक्रियामासुधार ल्याई राष्ट्रिय राजमार्ग सञ्जालको उल्लेख्य विस्तार गर्ने जनाइएपनि स्पष्ट खाका दिइएको छैन । सार्वजनिक यातायात हुने सिण्डिकेट तोड्न एउटै प्राधिकरणअन्तर्गत केन्द्रीकृत टिकट तथा शुल्क प्रणाली लगायत व्यवस्था गरिने जनाइएको छ ।

‘केन्द्रीकृत टिकट तथा शुल्क प्रणाली, विद्युतीय बस प्रवर्द्धन, सडक सुरक्षामा एउटै प्राधिकरणअन्तर्गत केन्द्रीकृत टिकट तथा शुल्क प्रणाली, एआईमा आधारित ट्राफिक क्यामेरा र डिजिटल जरिवाना प्रणाली लागू गरिनेछ,’ प्रतिबद्धतापत्रमा लेखिएको छ ।

सार्वजनिक यातायातमा महिला तथा किशोरीको सुरक्षाका लागि चितवनको सफल अनुभव (ब्लूबस) अन्य शहरहरूमा पनि विस्तार गर्ने रास्वपाले जनाएको छ ।

जबकी उक्त बस सञ्चालनको केही दिनमै बन्द भएको भन्दै त्यहीँका स्थानीयले विरोध जनाइरहेका देखिन्छन् । काठमाडौंजस्तै देशैभर स्थानीय परम्परागत वास्तुकलामा आधारित, सुरक्षित र आरामदायी बसबिसौनी बनाइने रास्वपाको उल्लेख छ ।

नेपाली कांग्रेस

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रतिज्ञापत्र सार्वजनिक गर्दै पूर्वाधारको क्षेत्रमा रेल र जलमार्गलाई प्राथमिकता दिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ कार्यक्रममा सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा उक्त विषय उल्लेख गरिएको हो ।

‘रेलमार्गतर्फ, अन्तरदेशीय तथा पूर्व–पश्चिम रेलमार्ग र काठमाडौं–पोखरा–लुम्बिनी विद्युतीय रेलको सम्भाव्यता अध्ययन आर्थिक, पर्यावरणीय र प्राविधिक आधारमा अघि बढाइने, सम्भावित जल यातायात पूर्वाधारमा लगानी र सञ्चालन सहजीकरण गरिने छ,’ प्रतिज्ञापत्रमा उल्लेख छ ।

यस्तै काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायात विद्युतीय र उच्च यात्रु क्षमताको बनाउने कांग्रेसको प्रतिज्ञा छ । योसँगै स्मार्ट ट्रान्जिट प्रणाली एक वर्षभित्र लागू गरिने जनाइएको छ ।

‘सार्वजनिक यातायातलाई विद्युतीय बनाउने, सहरी क्षेत्रमा पैदल यात्री र साइकलजस्ता गैरमोटराइज्ड यातायातलाई प्राथमिकता दिने तथा समग्र व्यवस्थापनका लागि शक्तिशाली यातायात प्राधिकरण स्थापना गर्नेछ,’ प्रतिज्ञापत्रमा भनिएको छ ।

यस्तै, काठमाडौं उपत्यकासहित उच्च जनसङ्ख्या र यातायात चाप भएका क्षेत्रमा ट्राफिक बत्ती र क्यामेरामार्फत सवारी आवागमनको नियमन गर्ने कांग्रेसको लक्ष्य छ । जबकी कांग्रेसले राखेको उक्त लक्ष्य काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गरिरहेको छ । तर त्यसलाई सुदृढीकरण तथा देशका सबै शहरमा विस्तार गर्नेमा भने जोड दिनुपर्ने छ ।

कांग्रेसले यातायातसम्बन्धी कानून संशोधन, तहगत समन्वयकारी संरचना निर्माण र भौगोलिक विविधतानुसार सवारी प्रयोग र रूट अनुमति व्यवस्थापन गर्ने जनाएको छ । ठूला सार्वजनिक यातायात सञ्चालनमा जोड दिँदै चढ्ने ओराल्ने, भाडादरसहितको स्मार्ट ट्रान्जिट प्रणाली १ वर्षभित्र लागू गर्ने कांग्रेसको दाबी छ ।

त्यस्तै, सार्वजनिक यातायात क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनेदेखि तुइन हटाउने नीति लिएको छ । जहाँ ठेक्का प्रणाली सुधार गर्न नीतिगत सुधारदेखि, बजेट व्यवस्थापन र सुरक्षित सडक निर्माणसम्मको खाका तय गरिएको छ ।

‘ठेक्का प्रणाली सुधार गर्न खरिद कानुन परिमार्जन गरी न्यूनतम कबोल अभ्यास अन्त्य गर्ने, प्राविधिक क्षमता, अनुभव, वित्तीय विश्वसनीयता र कार्यसम्पादनका आधारमा लगाइने ठेक्का पूर्ण डिजिटल,पारदर्शी र समयबद्ध बनाइनेछ,’ घोषणापत्रमा उल्लेख छ ।

पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तारसहित निर्माण सम्पन्न गर्दै राष्ट्रिय गौरवका आयोजनासम्पन्न गर्ने कांग्रेसको लक्ष्य छ ।
‘काठमाडौं–तराई द्रूतमार्ग, बीपी राजमार्ग पुनर्निर्माण र कान्तिलोकपथको कालोपत्रे काम एक वर्षभित्र सम्पन्न गरी मदन भण्डारी राजमार्ग, उत्तर–दक्षिण करिडोर र सिद्धबाबा सुरुङ सम्पन्न गरिनेछ,’ कांग्रेसले जनाएको छ ।

यसका साथै, राष्ट्रिय सडक सूचना प्रणाली एपमार्फत् सडकको वास्तविक समयको अवस्था जानकारी उपलब्ध गराइने कांग्रेसले वाचा गरेको छ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ७ : २८ बजे

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९