नेपालमा सरकार फेरिँदै गर्दा लिपुलेक नाकाबाट चीनसँग व्यापार थाल्दै भारत « Khabarhub

नेपालमा सरकार फेरिँदै गर्दा लिपुलेक नाकाबाट चीनसँग व्यापार थाल्दै भारत


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सरकार फेरबदल प्रक्रिया अघि बढिरहँदा भारतले आगामी जुनदेखि नेपाली भूमि लिपुलेक भञ्ज्याङ हुँदै चीनसँग सीमा व्यापार थाल्ने तयारी गरेको छ।

फागुन २१ गते चुनाव भएर नेपालको अन्तरिम सरकार बिदा हुनै लागेका बेला दुई ठूला छिमेकीबीच यो प्रक्रिया अघि बढेको हो। नेपालमा नयाँ सरकार आउन अझै एक साता लाग्ने देखिएको छ। बालेन्द्र साह नेतृत्वको सरकारले भारत र चीनको यो कदमबारे के प्रतिक्रिया दिन्छ प्रतिक्षा गर्नुपर्ने भएको ।

सन् २०२० मा कोभिड-१९ महामारीका कारण बन्द भएको यो व्यापारिक मार्ग ६ वर्षपछि खोल्न लागिएको टाइम्स अफ इन्डियाले प्रकाशित गरेको समाचारमा भनिएको छ।

व्यापारिक अवधि जुनदेखि सेप्टेम्बर महिनासम्म (गर्मीको समय) रहने बताइएको छ। त्यसपछिप मौसमको अवस्था हेरेर विस्तार गर्न सकिने भारतीय पक्षको भनाइ छ।

भारतले नेपाली भूमिसमेत हुँदै बनाएको सडकबाट अब व्यापार हुनेछ । उच्च हिमाली क्षेत्र हुँदै फोलिएको सडकबाट चीनको तिब्बत र भारतको उत्तराखण्ड हुँदै व्यापार हुनेछ ।

लिपुलेक नेपाली भूभाग हो । नेपालले यसलाई नक्सामा उल्लेख गरेको छ । तर महाकालीयताको यो भूमि भारतीय नियन्त्रणमा छ । नेपालले पटक पटक विरोध गरे पनि भारत र चीनले त्यस नेपाली भूभागमार्फत् व्यापारिक नाका बनाउन पटक पटक सहमति गरिसकेका छन् ।

अब व्यापारका लागि दुवै देशको प्रक्रियाअनुसार व्यापार अनुमति जारी हुनेछ । यसबाट व्यापारी र उनका सहयोगीलाई दर्ताका लागि पर्याप्त समय दिइने छ ।

नेपालको दार्चुला पारीतर्फ भारतको पिथौरागढका जिल्ला अधिकारी आशिष कुमारले नाका खोल्नुअघि तयारी सुनिश्चित गर्न प्रमुख विभागहरूसँग समन्वय बैठकहरू भइसकेका बताएका छन् ।

भारतीय विदेश मन्त्रालयले पिथौरागढ जिल्लाका अधिकारीहरूलाई यसबारे जानकारी गराएपछि स्थानीय प्रशासनले व्यापारिक सिजनको तयारी थालेको छ। पछिल्लो समय चीन र भारतबीच सम्बन्ध राम्रो हुँदै गएको छ।

अब घोडाको टाप होइन, सवारीका हर्न बज्ने

भारत र चीनबीच अब घोडाबाट होइन, गाडीबाटै व्यापार हुनेछ । नेपाली भूमि लिपुलेक भञ्ज्याङसम्म भारतले सडक लगेपछि अब धारचुलाबाट सिधै सवारीसाधनमार्फत् तिब्बत सीमासम्म मालसामान ढुवानी गर्न सकिने भएको छ।

दुर्गम हिमाली बाटो हुँदै घोडा र खच्चडको भरमा हुने व्यापार अब सडक सञ्जालसँगै आधुनिक यातायातमा रूपान्तरण हुँदैछ। यसले व्यापारको गति र पहुँच दुवैमा ठूलो परिवर्तन ल्याउने अपेक्षा भारतीय पक्षले लिएको छ।

पहिले धारचुलाबाट सामान बोकेर व्यापारीहरूले पैदल तथा जनावरको सहारामा दिनौँ लाग्ने यात्रा गर्नुपर्थ्यो। अब भने ४–५ घण्टामै गुञ्जी बजार पुग्न सकिने भएको छ। यसले समय बचतसँगै ढुवानी खर्चमा पनि उल्लेख्य कमी ल्याउनेछ।

व्यापारीहरूका अनुसार सवारीसाधनको पहुँच भएपछि एकैपटक ठूलो परिमाणमा सामान लैजान सकिनेछ, जसले सीमावर्ती क्षेत्रको विकाससँगै अन्तर्राष्ट्रिय व्यापार सम्बन्धलाई नयाँ उचाइ दिनेछ। प्रशासनले पनि यस वर्ष व्यापार सहज बनाउन पूर्वाधार विस्तारमा जोड दिएको छ।

१९६२ पछि बन्द, १९९२ मा पुनः सुरु

तिब्बतमाथि चीनको नियन्त्रण र भारत–चीन युद्ध १९६२ पछि यो व्यापार पूर्ण रूपमा बन्द भएको थियो। करिब ३० वर्षपछि सन् १९९२ देखि सीमावर्ती व्यापार पुनः सुरु भएको थियो । सन् २०१९ सम्म निरन्तर चलिरहेको थियो।

तर २०२० मा कोभिड-१९ महामारीका कारण व्यापार पुनः बन्द भयो। त्यही वर्ष सडक निर्माण सम्पन्न भए पनि व्यापार सञ्चालन हुन सकेको थिएन। यस वर्ष भने पुनः व्यापार खुल्ने बलियो सम्भावना देखिएको छ।

तकलाकोटमा नयाँ तयारी

भारततर्फ गुञ्जी र तिब्बततर्फ तकलाकोट मा व्यापारिकस्थल निर्माण गरिएको छ। हालसम्म चिनियाँ व्यापारी भारत नआए पनि भारतीय व्यापारीहरू तकलाकोट पुगेर व्यापार गर्दै आएका छन्।

यसबीच तकलाकोटमा भारतीय व्यापारीका लागि नयाँ व्यापारिक निर्माण गरिएको छ। व्यापार पुनः सुरु भए यसपटक भारतसँगै नेपालका व्यापारीले पनि यही नयाँ मण्डीबाट कारोबार गर्ने अपेक्षा भारतीय पक्षको छ।

सीमावर्ती व्यापारमा करिब ४ सयभन्दा बढी व्यापारी संलग्न छन्। २०१९ मा व्यापार हुँदा व्यापारीहरूले केही सामान तकलाकोटमै भण्डारण गरेर फर्किएका थिए।

तर कोभिडका कारण ६ वर्षसम्म व्यापार बन्द हुँदा ती सामानमध्ये धेरैजसो प्रयोगहीन भइसकेका छन्, जसले व्यापारीहरूलाई ठूलो आर्थिक नोक्सानी पुगेको छ। अब व्यापार पुनः सञ्चालन हुने आशासँगै व्यापारीहरूमा नयाँ उत्साह देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  २ : ५३ बजे

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष

जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन्

राजेश हमालले पोखरामा उद्घाटन गरे ‘१८ डी’ सिनेमा हल

काठमाडौं – पोखरामा १८ डी सिनेमा हलमा सञ्चालनमा आएको छ

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’