दोलखा– दोलखाको मुख्य पर्यटकीय क्षेत्र शैलुङ र कालिञ्चोकमा पछिल्लो दिनहरूमा पर्यटक आगमन उल्लेखनीय रूपमा वृद्धि भएको पाइएको छ ।
अघिल्लो साल २०८२ का अन्तिम ३ महिना माघ,फागुन चैतको तुलनामा वैशाख पहिलो साता वर्तमान सरकारले दिएको शनिबार र आइतबारको सार्वजनिक विदा तथा नयाँ सालको सुरुवातमै यहाँका दुई क्षेत्रमा दैनिक पर्यटकको संख्या वृद्धि हुँदै गएको छ ।
दिनमा मात्र हैन दुई दिनको विदाले रातको बसाइँ सहित शैलुङ र कालिञ्चोक घुम्न पुग्ने पर्यटकको संख्या बढेको छ । नयाँ सालसुरु भएको वैशाख पहिलो साता मात्र यहाँका महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलमा दुई लाख बढिले प्रत्यक्ष शैलुङ तथा कालिञ्चोकको भ्रमण गरेको पाइएको छ ।
विश्व महामारीको रूपमा फैलिएको कोरोना पछि एउटै साता यतिठुलो संख्यामा पर्यटक भित्रिएको यो दोलखाको हकमा पहिलो रेकर्ड हो।दोलखा धार्मिक तथा पर्यटकीय हिसाबले अति सुन्दर जिल्ला मानिन्छ ।

लामोसमय सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किन थालेको यहाँका पर्यटन तथा होटल व्यवसायीहरूले बताउन थालेका छन् ।
कोभिडअघिको तुलनामा यस वर्ष १३अप्रिल देखी हालसम्म कालिञ्चोक र शैलुङ क्षेत्र घुम्ने आन्तरिक तथा बाह्य पर्यटक क्रमशः दैनिक बढ्न थालेको कालापानीस्थित शैलुङ इको भिलेज रिसोर्टका सञ्चालक दिनेश श्रेष्ठले बताए।उनकाअनुसार अघिल्ला महिनाहरूमा एक दिन मात्र सार्वजनिक विदा हुने गथ्र्यो ।
मान्छेहरू दिनभर घुमेर फर्किने गर्थे । तर अहिले सरकारले सातामा दुई दिन शनिबार र आइतबार नै विदा दिएको कारण शैलुङ आउँदा एक दिनरातको बसाइँसहितको प्याकेज नै बनाएर आउने पर्यटकको संख्यामा सुधार आएको उनले बताए ।

चैतमा भन्दा ३५ प्रतिशत बढी पर्यटक शैलुङमा
शैलुङमा हाल लज सहितका २० वटा होटल सञ्चालनमा छन् । एउटा होटलले ६० देखि १०० जना मान्छे राख्दै आएका छन् ।
२०८३ साल सुरु भएदेखी दैनिक १२/१५ सय पर्यटक दैनिक शैलुङडाँडा आउने गरेका छन् । त्यसमा पनि ५/६ सय मानिस भने यहीँ बसेर भोलिपल्ट फर्किने गरेको उनले बताए ।
गत चैतमा भन्दा ३५ प्रतिशत बढी पर्यटक शैलुङको कालापानीमै बस्ने गरी काठमाडौं हुँदै आउने गरेका छन् । त्यसमा फाट्टफुट्ट विदेशी पर्यटक समेत हुने गरेको व्यवसायी श्रेष्ठले बताए ।
नयाँ वर्षको पहिलो दिन पर्यटकले भरिएको थियो शैलुङ क्षेत्र । यहाँ वैशाख १ गते झण्डै ६० हजार मानिसले शैलुङ घुमेका थिए।सो दिन पर्यटकलाई सुताउने ठाउँको अभाव भएको थियो । यो आठदिनको अवधिमा शैलुङमा एक लाख बढी पर्यटक पुगिसकेको उनले सुनाए ।

शनिबार शैलुङ आइतबार कालिञ्चोक
दुई दिनको विदा व्यवस्थाले यात्राको ढाँचा नै फेरिएको छ । पहिले शुक्रबार शैलुङ घुमेर शनिबार कालिञ्चोक घुम्ने पर्यटक अहिले शनिबार शैलुङ घुमेर आइतबार कालिञ्चोक पुग्न थालेका छ ।
काठमाडौंसहित बाहिरी जिल्लाबाट आउने प्रायः सबै पर्यटकले एक दिन शैलुङ र एक दिन कालिन्चोकको प्याकेज नै बनाएर आउने गरेको कालिञ्चोक कुरिका होटल व्यवसायी चन्द्र तामाङले बताए।धेरै पर्यटकहरूले शैलुङ घुमेर कालिञ्चोक घुम्न आएको बताउने गरेकाले पनि काठमाडौंबाट नजिकका यी स्थलमा अहिले आइतबार र शनिबारको प्याकेजनै बनाएर घुम्ने गरेको बताए ।

तीनहजार ३ सय माथिको उचाइमा अवस्थित शैलुङ पर्यटक रमाउनको लागि सयौंथुम्काले घेरिएको डाँडा,बसन्त ऋतुमा फुलेको गुराँस ,चिमाल र मानव निर्वित पर्यटकीय संरचना मिनि ग्रेटवाल छ।जसको कारण धेरै पर्यटक लोभिने गर्छन् ।
त्यसैगरी कालिञ्चोक पनि समुद्री सतह देखि तीनहजार ८ सय ४२ मिटर उचाइमा अवस्थित विश्व चर्चित कालिञ्चोक भगवतीको मन्दिर रहेको स्थल हो ।
यस क्षेत्रमा पनि नयाँ वर्ष सुरुभएसँगै उल्लेखनीय रूपमा पर्यटक बढेका छन् । ५० बढी सुविधा सम्पन्न होटल रहेको यस क्षेत्रमा दैनिक दुई हजार बढी पर्यटक पुग्ने गरेका छन् । नयाँ वर्ष २०८३को पहिलो महिना वैशाख पहिलो साता ४५ हजार बढी पर्यटकले कालिञ्चोक भ्रमण गरेको व्यवसायी तामाङले बताए ।

कालिञ्चोकमा हिजोआज दैनिक ८/९ सय पर्यटक दुई दिनको सार्वजनिक विदामा त्यहीँ बस्नेगरि पुग्ने गरेका छन्।धेरै पर्यटक शुक्रवार – शनिबार मुडेहुँदै शैलुङ पुग्ने र त्यहाँ घुमेर आइतबार कालिञ्चोक बासमा पुग्ने गरेका छन् ।
सरकारको हप्ताको दुईदिन विदाले छुट्टीमा कलेज,स्कुल,सहकारी तथा सरकारी कार्यालयका कर्मचारी, तीर्थयात्रीहरू पछिल्लो समय ट्राभल एजेन्सीहरूले दुईदिन विदाकोबप्याकेज टुर सञ्चालन गर्न थालेपछि पनि पर्यटक आगमनमा वृद्धि भएको व्यवसायीहरूको भनाइ छ ।
विदाले जिल्लाका अन्य क्षेत्र,भीमेश्वर ,जिरी,हनुमन्तेमा समेत आन्तरिक पर्यटक बढेका छन्।कोरोना पछि सुस्ताएको दोलखाको पर्यटन क्षेत्र लयमा फर्किने संकेत देखिएको छ ।



शुवास बस्नेत/दोलखा













प्रतिक्रिया