राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’ « Khabarhub

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेका पूर्वअध्यक्षले संयुक्त वक्तव्य जारी गर्दै पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। गत असार ५ र ६ गते काठमाडौँमा बसेको केन्द्रीय बैठकमा आफ्नो अनुपस्थितिलाई लिएर कार्यकर्तामा उब्जिएका आशङ्का निवारण गर्न भन्दै उनीहरूले ५ बुँदे स्पष्टीकरणसहितको वक्तव्य सार्वजनिक गरेका हुन्। राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर राणा , डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो बताएका हुन् ।

वक्तव्यमा पार्टीभित्र लामो समयदेखि संस्थागत बेथिति, सङ्कुचित सोच, विधि-विधानविपरीतका गतिविधि र जथाभावी पक्षपातपूर्ण कारबाही बढेको आरोप लगाइएको छ। अनुशासन कायम गर्ने नाममा पूर्वाग्रह र प्रतिशोधका आधारमा नेता-कार्यकर्तामाथि कारबाही भइरहेको भन्दै उनीहरूले यसमा सुधार ल्याउन साङ्केतिक विरोधस्वरूप बैठकमा अनुपस्थित भएको स्पष्ट पारेका छन्। त्यस्तै, केन्द्रीय समितिको बैठकमा कार्यसमिति बाहिरका व्यक्तिहरूलाई सहभागी गराउने परिपाटीप्रति पनि उनीहरूले आपत्ति जनाएका छन्।

पार्टीभित्र बढ्दो निराशा र अविश्वासको वातावरण अन्त्यका लागि नेताहरूले पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत रहने गरी एक उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठन गर्न सुझाव दिएका छन्। तर, यस्ता रचनात्मक सुझावहरूलाई आत्मसात् गर्नुको सट्टा पार्टीका लागि जीवन समर्पण गरेका पूर्वअध्यक्षहरूमाथि नै जिम्मेवार व्यक्तिहरूबाट लाञ्छना र आरोप लगाउने प्रवृत्ति देखिनु अत्यन्त दुःखद भएको वक्तव्यमा उल्लेख छ।

बैठक बहिष्कार गरे पनि सोही बैठकले आगामी २०८३ मङ्सिर २६ गतेदेखि केन्द्रीय महाधिवेशन आयोजना गर्ने गरेको निर्णयलाई भने उनीहरूले स्वागत गरेका छन्। महाधिवेशनको मिति घोषणा भइसकेकाले स्थापित परम्पराअनुसार वर्तमान केन्द्रीय समितिलाई स्वतः ‘महाधिवेशन आयोजक समिति’मा रूपान्तरण गर्न उनीहरूले माग गरेका छन्।

“हाम्रो कुनै व्यक्तिगत स्वार्थ, पदलोलुपता वा गुटको राजनीति छैन। हाम्रो एकमात्र चिन्ता आफ्नो जीवनकालमै पार्टी कमजोर वा पतन भएको देख्न नपरोस् भन्ने हो,” वक्तव्यमा भनिएको छ, “विगतका कमजोरीबाट पाठ सिक्दै ‘हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र’ को जगमा राप्रपालाई देशको प्रमुख नेतृत्वदायी शक्ति बनाउन आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्छ।”

नेताहरूले महाधिवेशन निष्पक्ष हुनेमा विश्वास व्यक्त गर्दै निराशाका कारण पार्टी छाडेर गएका सम्पूर्ण साथीहरूलाई पुनः मूल घरमा फर्किन र कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ महाधिवेशनको तयारीमा जुट्न हार्दिक आह्वानसमेत गरेका छन्।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ६ : ५० बजे

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ

कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

चितवन– कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ ।

हिन्दू-मुस्लिम अगुवाको संयुक्त अपिल : धार्मिक सहिष्णुता र सामाजिक सद्‍भाव कायम गरौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज क्षेत्रमा आइतबार राति भएको घटनापछि मधेस प्रदेशका

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट

पुँजीगत खर्चबारे अर्थ समितिमा छलफल गराउन सांसद लिमा अधिकारीको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिकी सदस्य लिमा अधिकारी आचार्यले पुँजीगत खर्चको कमजोर