अमेरिकी कम्पनीमाथि चीनको नयाँ प्रतिबन्ध, व्यापार र रक्षा क्षेत्रमा तनाव « Khabarhub

अमेरिकी कम्पनीमाथि चीनको नयाँ प्रतिबन्ध, व्यापार र रक्षा क्षेत्रमा तनाव


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– अमेरिका र चीनबीच प्रविधि, व्यापार तथा रक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनले १० अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण लगाएको छ। अमेरिकी प्रशासनले चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेपछि बेइजिङले त्यसको प्रतिकारस्वरूप रक्षा र दुर्लभ पृथ्वी खनिज क्षेत्रमा सक्रिय अमेरिकी कम्पनीहरूलाई लक्षित गर्दै प्रतिबन्धात्मक कदम चालेको हो।

चीनको वाणिज्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारले केही चिनियाँ कम्पनीहरूलाई तथाकथित ‘चिनियाँ सैन्य उद्यम सूची’ मा समावेश गरेपछि राष्ट्रिय सुरक्षाको हितमा नयाँ निर्यात नियन्त्रण लागू गरिएको जनाएको छ।

यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हालै भएको भेटवार्तापछि सम्बन्ध सुधारको प्रयास भइरहेका बेला आएको हो। दुवै देशले व्यापार शुल्क घटाउने सहमति गरे पनि प्रविधि, रक्षा र सुरक्षा क्षेत्रका विवाद भने निरन्तर गहिरिँदै गएका छन्।

यस महिनाको सुरुआतमा अमेरिकाले चिनियाँ सेनासँग सम्बन्ध रहेको आरोप लगाउँदै ८० चिनियाँ कम्पनी तथा तिनका सहायक संस्थालाई कालोसूचीमा राखेको थियो। सूचीमा प्रविधि क्षेत्रका अलिबाबा र बाइडुका साथै विद्युतीय सवारी निर्माता बीवाईडी पनि परेका थिए। त्यसपछि चीनले प्रतिकारात्मक कदम चाल्ने संकेत दिएको थियो।

चीनले प्रतिबन्ध लगाएका कम्पनीहरूमध्ये अमेरिकी रक्षा तथा एयरोस्पेस क्षेत्रसँग सम्बन्धित एभिओक्स र ओस्कोश डिफेन्स प्रमुख छन्। ओस्कोश डिफेन्स अमेरिकी सैन्य सवारीसाधन उत्पादनमा संलग्न छ भने एभिओक्सले अमेरिकी सेनासँग विभिन्न रक्षा सम्झौता गर्दै आएको छ।

यस्तै, दुर्लभ पृथ्वी खनिज उत्पादन गर्ने एमपी मटेरियल्स र युएसए रेयर अर्थ पनि नयाँ प्रतिबन्ध सूचीमा समावेश भएका छन्। चीनले सूचीबद्ध कम्पनीहरूलाई दोहोरो प्रयोगमा आउने सामग्री तथा प्रविधि निर्यात गर्न रोक लगाएको छ।

वाणिज्य मन्त्रालयले सम्बन्धित सबै निर्यात गतिविधि तत्काल प्रभावबाट स्थगित गर्न निर्देशन दिएको छ। चीनमा उत्पादित दोहोरो प्रयोगका सामग्री कुनै पनि देश वा क्षेत्रमार्फत ती कम्पनीहरूलाई उपलब्ध गराउन नपाइने मन्त्रालयले स्पष्ट गरेको छ।

यसैबीच चीनको वित्त मन्त्रालयले सार्वजनिक खरिद प्रक्रियामा संलग्न सरकारी निकायलाई ४६ अमेरिकी कम्पनीका उत्पादन खरिद गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ। प्रतिबन्धित सूचीमा लकहिड मार्टिन, रेथियोन र बोइङको रक्षा विभागका उत्पादनहरू पनि समावेश छन्।

जनरल डायनामिक्स, एन्डुरिल इन्डस्ट्रिजका केही विभाग तथा अन्य एयरोस्पेस कम्पनीहरू पनि प्रतिबन्धको दायरामा परेका छन्। यद्यपि चीनमा सञ्चालन भइरहेका अमेरिकी लगानी भएका कम्पनीहरूलाई भने यी उपायबाट बाहिर राखिएको वित्त मन्त्रालयले जनाएको छ। नयाँ नियम सोमबारदेखि लागू भएको छ।

चीनले यसअघि पनि ताइवानलाई अमेरिकी हतियार बिक्री गरिएको आरोप लगाउँदै सन् २०२४ र २०२५ मा यिनैमध्ये केही अमेरिकी कम्पनी तथा तिनका सहायक संस्थामाथि प्रतिबन्ध लगाइसकेको थियो।

ताइवानले बेइजिङको बढ्दो सैन्य र राजनीतिक दबाबको सामना गर्न अमेरिकाको सहयोगमा ठूलो निर्भरता राख्दै आएको छ। चीनले ताइवानलाई आफ्नो अभिन्न भूभागको हिस्सा दाबी गर्दै आवश्यक परे बल प्रयोग गर्न सक्ने चेतावनी दिँदै आएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस महिनामात्र ताइवानका लागि प्रस्तावित १४ अर्ब अमेरिकी डलर बराबरको हतियार प्याकेज समीक्षा प्रक्रियामा रहेको जानकारी दिएका थिए।

मे महिनामा सी जिनपिङसँगको भेटपछि राष्ट्रपति ट्रम्पले अमेरिका–चीन सम्बन्ध सुधारको सन्देश दिन खोज्नुभएको थियो। गत साता फ्रान्समा सम्पन्न जी–७ सम्मेलनका क्रममा उनले इरानसँगको अमेरिकी विवादमा तटस्थ भूमिका खेलेको भन्दै चिनियाँ नेतृत्वको प्रशंसा पनि गरेका थिए।

तर पछिल्ला प्रतिबन्धात्मक कदमहरूले विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार, प्रविधि र सुरक्षा क्षेत्रमा प्रतिस्पर्धा अझ तीव्र बन्दै गएको संकेत गरेका छन्।


 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ४ : ३६ बजे

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई