भारतीय अनलाइन लेख्छ : भारतले नेपाललाई तीन वर्षसम्म चिनी निर्यात नगर्न सक्छ « Khabarhub

भारतीय अनलाइन लेख्छ : भारतले नेपाललाई तीन वर्षसम्म चिनी निर्यात नगर्न सक्छ


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध लम्बिन सक्ने संकेतसँगै नेपालमा चिनीको आपूर्ति र मूल्यवृद्धिबारे चिन्ता बढ्न थालेको छ।

मौसम प्रतिकूल हुनु, कम वर्षा हुनु तथा एल निनोको प्रभावका कारण भारतमा उखु उत्पादन घट्ने अनुमान गरिएको छ। यसले आगामी केही वर्षसम्म भारतबाट चिनी निर्यात प्रभावित हुन सक्ने विश्लेषण गरिएको समाचार नवभारत टाइम्सले अनलाइन संस्करणमा छापेको छ।

भारत सरकारले यसअघि नै चिनी उत्पादन घट्ने जोखिमलाई ध्यानमा राख्दै चिनी निर्यातमा रोक लगाएको थियो। पछिल्ला केही अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले भारतले आगामी तीन वर्षसम्म उल्लेख्य मात्रामा चिनी निर्यात गर्न नसक्ने सम्भावना औँल्याएका छन्।

मौसमको असरले घट्यो उखु उत्पादन

विराटनगरका उद्योगी सगुन बोहोराका अनुसार असमयको वर्षा र प्रतिकूल मौसमका कारण भारतमा उखु उत्पादनमा उल्लेख्य गिरावट आएको छ।

उनले भने, ‘यस वर्ष भारतमा उखु उत्पादन कम भएको छ। पहिलेको तुलनामा उखुको आकार पनि सानो भएको छ। धेरै स्थानमा असमयको वर्षाले किसानको बालीमा क्षति पुर्‍याएको छ। यसको प्रभाव तत्काल नदेखिए पनि भविष्यमा अवश्य देखिनेछ।’

उनका अनुसार चिनी निर्यात प्रतिबन्धको प्रभाव केही महिनापछि नेपालमा पनि महसुस हुन थाल्नेछ। विशेषगरी चिनीलाई मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गर्ने जुस, बिस्कुट, कन्फेक्सनरी तथा चकलेट उद्योगहरू प्रभावित हुन सक्नेछन्।

माग धान्न स्वदेशी उत्पादन अपर्याप्त

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका अनुसार नेपालमा वार्षिक करिब २ लाख ५० हजार टन चिनीको माग छ। तर स्वदेशी उत्पादन करिब १ लाख ५० हजार टन मात्र हुने भएकाले बाँकी १ लाख टन आयात गर्नुपर्ने अवस्था छ।

उनले भारतबाट चिनी आयात सम्भव नभए नेपालले ब्राजिल, पाकिस्तान लगायत तेस्रो मुलुकबाट आयात गर्नुपर्ने अवस्था आउन सक्ने बताए।

तर उद्योगीहरूका अनुसार तेस्रो मुलुकबाट आयात गर्दा भन्सार शुल्क र ढुवानी लागत बढी पर्ने भएकाले चिनीको मूल्य उल्लेख्य रूपमा बढ्न सक्छ।

इथेनोल नीतिले घटायो चिनीको अतिरिक्त उत्पादन

भारतका चिनी उद्योगसँग सम्बद्ध व्यवसायी अतुल चतुर्वेदीका अनुसार भारतमा इथेनोल उत्पादनलाई प्राथमिकता दिइएकाले चिनीको अतिरिक्त उत्पादन घटेको छ।

उनले भने, ‘पहिले मौज्दात बढी भएकाले भारतले ठूलो परिमाणमा चिनी निर्यात गरेको थियो। तर अहिले इथेनोल उत्पादनमा जोड दिइएकाले अतिरिक्त चिनीको उपलब्धता कम भएको छ। एल निनोको जोखिमलाई हेर्दा आगामी केही वर्ष चिनी निर्यात बढ्ने सम्भावना कम छ।’

एल निनोको असरबारे चिन्ता

रोयटर्सको एक प्रतिवेदनअनुसार एल निनो मौसमीय प्रभावका कारण भारतको उखु उत्पादन प्रभावित हुन सक्छ। यसको असर एशिया, अफ्रिका र मध्यपूर्वका ती देशहरूमा पर्नेछ, जो भारतबाट चिनी आयातमा निर्भर छन्। नेपाल पनि तीमध्ये एक प्रमुख देश हो।

चिनी बजार विश्लेषक तथा कोभरिग एनालिटिक्सका संस्थापक क्लाउडियो कोभरिगले भारतबाट निर्यात नहुँदा अन्तर्राष्ट्रिय चिनी व्यापार प्रभावित हुने बताए। यद्यपि उनले भारतले लगातार तीन वर्षसम्म चिनी निर्यात नगर्ने अवस्था आउने विषयमा भने शंका व्यक्त गरेका छन्।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ६ : ४८ बजे

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले