पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू « Khabarhub

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा माथिल्लो तालुक निकायबाट प्राप्त भएको पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनलाई पक्राउ गरेको हो ।

नेकपा एमालेले अहिले फागुन २१ को निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रम गरी रहेको छ । सोही कार्यक्रममा सहभागी हुन पौडेल पनि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा थिए ।

सुर्खेतस्थित शुभ होटलमा कार्यक्रममा सहभागी भइरहेकै बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ गर्न प्रहरी भित्र छिरिरहँदा पौडेल निर्वाचन समीक्षाबारे पार्टीका तल्लो तहको रिपोर्टिङ सुनिरहेका थिए ।

कार्यक्रममा पौडेलसँगै रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, नेता छविलाल विश्वकर्मालगायतका शीर्ष नेताहरूको सहभागी थिए ।

पूर्वमन्त्रीसमेत रहेका पौडेललाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेल नेतृत्वको टोली होटलमा पुगेका थियो ।

उनलाई शुभ होटलबाट प्रहरीले आफ्नो गाडीमा हालेर जिल्ला प्रहरी कार्यालय लग्यो । त्यहाँबाट भने उनलाई केहीबेरपछि नेपालगञ्ज पठाइयो । प्रहरीले उनलाई नेपालगञ्ज हुँदै काठमाडौँ ल्याउँदैछ ।

पौडेल पक्राउबारे एक प्रहरी अधिकारी भन्छन्, ‘उहाँलाई एक्कासि पक्राउ गरिएको होइन । पूर्वजानकारी थियो ।’

प्रहरीले पक्राउ गरेपछि पौडेलले महासचिव शंकर पोखरेलसँग भेट दिन प्रहरीलाई अनुरोध गरेका थिए । प्रहरीले उनले भनेअनुसार पोखरेललाई भेट्न दियो ।

‘पक्राउ परेपछि हामीले काठमाडौँ जाने भन्ने जानकारी गराएपछि उहाँको पार्टी महासचिव शंकर पोखरेलसँग केही कुरा गर्न चाहेको भन्नुभयो,’ स्रोतले भन्यो, ‘हामीले उहाँले भनेअनुसार नै पोखरेललाई बोलाइदियौँ । उहाँले म काठमाडौँ जानुपर्ने अवस्था आयो । कार्यक्रम सकेर आउनुहोला भन्नुभयो । त्यसपछि हामीले उहाँलाई गाडी हाल्यौँ ।’

अहिले एमालेका नेताहरूूले उनलाई पक्राउ गरेको भन्दै सरकारको आलोचना गरिरहेका छन् । अध्यक्ष केपी ओलीले राजनीतिक श्रृंखलावद्ध षडयन्त्रको निरन्तरता भएको बताएका छन् ।

‘उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ, त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ’ ओलीले वक्तव्यमा भनेका छन्, ‘नेकपा ्एमाले सदैव कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ। वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो।’

उनले यसलाई ‘दमनकारी कदम’ भन्दै आफू र आफ्नो पार्टी माथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यान्त्रको निरन्तरता हो भनेका छन्।

‘उपाध्यक्ष पौडेल आजै सुर्खेतको कार्यक्रम सकेर भोलि नै काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका थियो। विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको छ’ ओलीको विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो स्टन्ट र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ। सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ।’

उनले वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ भन्दै विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गर्न चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ९ : ४९ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट