गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह « Khabarhub

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह



नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको छ। पुराना राजनीतिक दल र पुरानो राजनीतिक शैलीप्रति असन्तुष्टि बढ्दै गएपछि नयाँ पुस्ताले परिवर्तनको आवाज उठायो।

जेनजी आन्दोलनले पनि यही परिवर्तनको चाहनालाई अगाडि ल्यायो। त्यसै आन्दोलनको वरिपरिबाट राष्ट्रिय राजनीतिमा अगाडि आएका केही व्यक्ति अहिले राज्यका महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन्। त्यसमध्ये सुदन गुरुङ अहिले नेपालको गृहमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ।

सुदन गुरुङको राजनीतिक यात्रा हेर्दा निकै छोटो समयमा ठूलो परिवर्तन भएको देखिन्छ। आन्दोलनको समयमा जनतासँग जोडिनुभएको, त्यसपछि जेनजी आन्दोलनको नेतृत्वदायी भूमिकामा देखिनुभएको, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेर गोरखाबाट निर्वाचित हुनुभएको र अन्ततः गृहमन्त्री बन्नुभएको यात्रा सामान्य राजनीतिक यात्रा होइन। यो जनताले नयाँ अनुहारप्रति देखाएको विश्वासको परिणाम हो।

जति छिटो उहाँ राजनीतिमा माथि पुग्नुभयो, त्यति नै ठूलो जिम्मेवारी पनि उहाँको काँधमा आएको छ। जनताले उहाँबाट धेरै कुरा अपेक्षा गरेका छन्। विशेषगरी नयाँ पुस्ताबाट आएका नेताले पुराना नेताभन्दा फरक व्यवहार, फरक सोच र फरक काम देखाउनुपर्छ भन्ने जनताको अपेक्षा छ। यही कारणले गर्दा अहिले गोरखाका जनताले उठाएका प्रश्नलाई पनि गम्भीर रूपमा लिन आवश्यक छ।

जनताले चार महिनामा कायापलट मागेका होइनन, गृहमन्त्रीज्यू । चार महिनामा देशलाई स्वीटजरल्यान्ड बनाइदिनुस् भनेर पनि कसैले भनेको छैन। जनता यति बुझ्ने छन् कि चार महिनामा सबै कुरा परिवर्तन हुँदैन। सरकारमा आउनेबित्तिकै वर्षौंदेखि थुप्रिएका समस्या एकैचोटि समाधान गर्न सकिँदैन। तर जनता सामान्य काम सुरु भएको देख्न चाहन्छन्।

कुनै ठाउँमा सडकको समस्या छ भने त्यसको समाधानका लागि पहल भएको देखियोस्। अस्पतालको समस्या छ भने त्यसको समाधानका लागि प्रक्रिया सुरु होस्। सरकारी कार्यालयमा जनताले दुःख पाइरहेका छन् भने त्यसलाई सुधार गर्ने काम सुरु होस्। युवाले रोजगारीको कुरा उठाएका छन् भने त्यसको समाधान खोज्ने प्रयास देखियोस्।

जनताको अपेक्षा ठूलो चमत्कार होइन। जनताले खोजेको कुरा हो- काम सुरु भएको अनुभूति। चार महिनामा सबै कुरा हुँदैन, तर चार महिनामा सरकारको सोच र काम गर्ने तरिका भने देखिन सक्छ। जनताको प्रश्नलाई अपमानको रूपमा नलिनुहोस् । गृहमन्त्रीज्यूलाई विशेष आग्रह गोरखामा जनतासँग भेट्ने क्रममा विकास र आफूले पाएका आश्वासनबारे प्रश्न उठ्नु स्वाभाविक हो। जनताले आफूले चुनेको प्रतिनिधिलाई प्रश्न गर्न पाउँछन्। यो लोकतन्त्र हो।

जनताको भोट कुनै नेताको व्यक्तिगत सम्पत्ति होइन। त्यो जनताको अधिकार हो। जनताले आफ्नो अधिकार प्रयोग गरेर तपाईंलाई निर्वाचित गरेका हुन्।

जनताले प्रश्न गरेपछि नेताले पनि जवाफ दिनुपर्छ। तर ‘धेरै कुरा गर्छौ भने भोट फिर्ता लैजाऊ’ भन्ने किसिमको अभिव्यक्ति आउनु भने गम्भीर विषय हो। जनताको भोट कुनै नेताको व्यक्तिगत सम्पत्ति होइन। त्यो जनताको अधिकार हो। जनताले आफ्नो अधिकार प्रयोग गरेर तपाईंलाई निर्वाचित गरेका हुन्।

भोलि जनताले तपाईंको काम मन परेन भने आलोचना गर्न पाउँछन्। आज तपाईंलाई प्रश्न गर्न पनि पाउँछन्। त्यसैले जनताको प्रश्नको जवाफ ‘भोट फिर्ता लैजाऊ’ भनेर दिनुभन्दा ‘तपाईंहरूले दिएको मतको सम्मान गर्छु, समय दिनुस्, काम गरेर देखाउँछु’ भनेर दिनु राम्रो हुन्छ।

नेता ठूलो पदमा पुगेपछि जनताको आवाज सानो हुँदैन। बरु नेता जति ठूलो जिम्मेवारीमा पुग्छ, जनताप्रतिको जवाफदेहिता पनि त्यति नै ठूलो हुन्छ। नयाँ राजनीतिले पुरानो शैली दोहोर्‍याउनु हुँदैन । आज राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ राजनीतिक शक्तिलाई जनताले किन मत दिए ? पुराना राजनीतिक दलले राम्रो काम गरेनन् भनेर मात्र होइन। नयाँ राजनीतिक संस्कार आउँछ भन्ने विश्वासले पनि हो।

जनताले सोचेका थिए- अब नयाँ मानिस आउँछन्, नयाँ सोच आउँछ, भ्रष्टाचारविरुद्ध कडा काम हुन्छ, सरकारी कार्यालयमा जनताले दुःख पाउँदैनन्, नेताहरू जनताका कुरा सुन्छन् र राजनीतिक जवाफदेहिता बढ्छ। तर नयाँ पार्टीमा गएर पुरानै शैली देखियो भने जनताले फेरि प्रश्न गर्न थाल्छन्।

पुराना राजनीतिक दलले के गरेनन् भन्ने कुरा भन्न सजिलो छ। तर अब जनताले नयाँ नेतृत्वलाई सोध्ने प्रश्न हो– तपाईंहरूले के गर्नुभयो ? त्यसैले पुराना सरकारको कमजोरी देखाएर मात्र अहिलेको सरकार सफल हुन सक्दैन। विगतको आलोचना गर्न पाइन्छ, तर वर्तमानको काम पनि देखाउनुपर्छ।

गृहमन्त्रीको जिम्मेवारी विकासभन्दा पनि अझ गम्भीर छ । गृहमन्त्री देशको शान्ति सुरक्षा हेर्ने मुख्य जिम्मेवारीमा हुनुहुन्छ। त्यसैले उहाँको मुख्य काम सडक बनाउनु वा पुल बनाउनु मात्र होइन। देशमा शान्ति सुरक्षा कायम गर्नु, नागरिकलाई सुरक्षित वातावरण दिनु, प्रहरी प्रशासनलाई प्रभावकारी बनाउनु, जिल्ला प्रशासन कार्यालयहरूलाई जनमैत्री बनाउनु र कानुनको शासन स्थापित गर्नु हो।

गृहमन्त्रीले चाहनुभयो भने देशभरका जिल्ला प्रशासन कार्यालयलाई जनताको समस्या समाधान गर्ने प्रभावकारी केन्द्र बनाउन सक्नुहुन्छ। सीडीओ कार्यालयमा एउटा नागरिक आफ्नो समस्या लिएर जाँदा उसलाई ‘भोलि आउनुस्’, ‘पर्सि आउनुस्’ भनेर दुःख दिने अवस्था अन्त्य गर्न सकिन्छ।

गृहमन्त्रीले चाहनुभयो भने देशभरका जिल्ला प्रशासन कार्यालयलाई जनताको समस्या समाधान गर्ने प्रभावकारी केन्द्र बनाउन सक्नुहुन्छ। सीडीओ कार्यालयमा एउटा नागरिक आफ्नो समस्या लिएर जाँदा उसलाई ‘भोलि आउनुस्’, ‘पर्सि आउनुस्’ भनेर दुःख दिने अवस्था अन्त्य गर्न सकिन्छ। जनताको गुनासो सुन्ने व्यवस्था गर्न सकिन्छ।

कुन कार्यालयमा कति गुनासो आए ? कति समाधान भए ? कति समय लाग्यो ? भन्ने कुराको नियमित अनुगमन गर्न सकिन्छ। यस्ता काम गर्न वर्षौं लाग्दैन।
चाहिने कुरा इच्छाशक्ति र काम गर्ने प्रतिबद्धता हो। भ्रष्टाचार नियन्त्रणमा देखिने काम चाहिन्छ । नेपालका जनताले भ्रष्टाचारका कुरा धेरै सुनेका छन्। लगभग हरेक सरकारले भ्रष्टाचार नियन्त्रण गर्छौं भनेको छ। तर जनताले अब भाषण होइन, परिणाम खोजिरहेका छन्।

भ्रष्टाचारमा संलग्न भएको प्रमाण भेटिन्छ भने चाहे त्यो जुनसुकै पार्टीको व्यक्ति होस्, कानुनअनुसार कारबाही हुनुपर्छ। फाइल खोल्दा राजनीतिक प्रतिशोधका रूपमा होइन, प्रमाणका आधारमा खोलिनुपर्छ। अनुसन्धान गर्दा पनि निष्पक्ष हुनुपर्छ। यदि कोही दोषी छ भने कारबाही हुनुपर्छ। निर्दोष छ भने उसलाई पनि स्पष्ट रूपमा निर्दोष भन्न सक्नुपर्छ। यही नै सुशासन हो।

गृहमन्त्रीज्यूले यदि वास्तवमै नयाँ राजनीतिक संस्कार देखाउन चाहनुभएको हो भने भ्रष्टाचारविरुद्धको काममा उदाहरण देखाउनुपर्ने समय यही हो। सम्पत्ति छानबिनको विषय पनि स्पष्ट हुनुपर्छ । सुदन गुरुङको विषयमा सम्पत्तिसम्बन्धी छानबिनको कुरा पनि सार्वजनिक रूपमा उठेको थियो। यस विषयमा छानबिन भएको र त्यसपछि उहाँ पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्किएको कुरा पनि आएको छ।

प्रतिवेदन सार्वजनिक रूपमा स्पष्ट रूपमा जनतामाझ नआउँदा प्रश्नहरू अझै बाँकी छन्। यहाँ कसैलाई दोषी भन्न खोजिएको होइन। दोषी वा निर्दोष भन्ने निर्णय कानुन र प्रमाणले गर्नुपर्छ। यदि उहाँ निर्दोष हुनुहुन्छ भने छानबिनको प्रतिवेदन सार्वजनिक गरेर जनतालाई जानकारी गराउँदा उहाँप्रतिको विश्वास अझ बढ्न सक्छ।

राजनीतिमा पारदर्शिता देखाउन डराउनु हुँदैन।जनताले प्रश्न गरे भने त्यसको जवाफ दिनुपर्छ। प्रश्न उठेपछि मौन बस्दा शंका अझ बढ्न सक्छ। गृहमन्त्रीज्यू, अब कामले जवाफ दिनुस् । तपाईंले जेनजी आन्दोलनबाट धेरै कुरा सिक्नुभएको होला। त्यो आन्दोलनले पनि यही भन्यो कि अब पुरानो शैलीको राजनीति स्वीकार्य छैन।

राजनीतिमा पारदर्शिता देखाउन डराउनु हुँदैन।जनताले प्रश्न गरे भने त्यसको जवाफ दिनुपर्छ। प्रश्न उठेपछि मौन बस्दा शंका अझ बढ्न सक्छ।

त्यसैले आज तपाईंले पनि आफ्नो कामबाट देखाउनुपर्ने बेला हो कि नयाँ पुस्ताले सरकार चलाउँदा कस्तो हुन्छ। जनताको आलोचनामा रिसाउनु हुँदैन। जनताको गुनासो सुन्नुपर्छ। जनताको कुरा सुन्ने बानी बसाल्नुपर्छ। तपाईं गोरखा जाँदा जनताले प्रश्न गरे भने त्यो तपाईंको अपमान होइन। त्यो तपाईंलाई जनताले दिएको सुझाव हो। तपाईंले त्यसलाई अवसरका रूपमा लिनुपर्छ।

‘तिमीहरूले भोट दिएका हौ, अब भोट फिर्ता लैजाऊ’ भन्नुभन्दा ‘तपाईंहरूले विश्वास गरेर भोट दिनुभएको छ, म तपाईंहरूको विश्वासलाई कामबाट प्रमाणित गर्छु’ भन्नु राम्रो हुन्छ। यही भाषा नयाँ राजनीतिक संस्कारको भाषा हुन्छ। जनताको मतलाई मजाक नबनाऔँ । निर्वाचनमा जनताले दिएको मत पाँच वर्षका लागि एउटा ठूलो जिम्मेवारी हो।

त्यो मतले कसैलाई सांसद बनाउँछ, मन्त्री बनाउँछ। तर त्यही मतले उसलाई जनताप्रति उत्तरदायी पनि बनाउँछ। त्यसैले जनताको मतलाई कहिल्यै मजाक बनाउनु हुँदैन। आज गोरखाका जनताले प्रश्न गरेका छन्। भोलि देशभरका जनताले प्रश्न गर्न सक्छन्। त्यसलाई रोक्न सकिँदैन। लोकतन्त्रमा प्रश्न रोक्ने होइन, प्रश्नको जवाफ दिने हो।

अब जनताले के हेर्न चाहन्छन् ? अब जनताले गृहमन्त्रीबाट केही स्पष्ट काम हेर्न चाहन्छन्। देशमा शान्ति सुरक्षा मजबुत होस्। प्रहरी प्रशासन निष्पक्ष र जनमैत्री बनोस्। भ्रष्टाचारमा प्रमाण भेटिए कारबाही होस्। जिल्ला प्रशासन कार्यालयबाट नागरिकले सहज सेवा पाऊन्। जनताको गुनासो तत्काल सुन्ने र समाधान गर्ने प्रणाली बनोस्।

सरकारी कार्यालयमा हुने ढिलासुस्ती र अनावश्यक दुःख घटोस्। महिला, बालबालिका, ज्येष्ठ नागरिक र सामान्य नागरिकले राज्यको सुरक्षा महसुस गर्न पाऊन्। र सबैभन्दा ठूलो कुरा- गृहमन्त्रीले जनताको बीचमा जाँदा जनतासँग डराउने होइन, जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्छ।

अन्त्यमा

सुदन गुरुङ अहिले जुन ठाउँमा हुनुहुन्छ, त्यो ठाउँ उहाँले मात्र रोजेर पाएको होइन। हजारौं–लाखौं नागरिकले आफ्नो मत दिएर उहाँलाई त्यहाँ पुर्‍याएका हुन्।
त्यसैले उहाँको सफलता भनेको उहाँको मात्र सफलता होइन। नयाँ पुस्ताको राजनीतिप्रतिको विश्वासको सफलता पनि हो।

त्यसैगरी उहाँको असफलता पनि व्यक्तिगत असफलता मात्र हुनेछैन। त्यसले नयाँ राजनीतिक शक्तिप्रतिको जनताको विश्वासमा असर पार्न सक्छ। जनतासँग रिसाएर होइन, जनताको कुरा सुनेर अघि बढ्नुहोस्। चार महिनामा कायापलट गर्न सकिँदैन- यो सत्य हो। तर चार महिनामा काम गर्ने शैली परिवर्तन गर्न सकिन्छ।

चार महिनामा प्रशासनलाई चलायमान बनाउन सकिन्छ। जनताको गुनासो सुन्ने व्यवस्था बनाउन सकिन्छ। भ्रष्टाचारविरुद्ध स्पष्ट कदम चाल्न सकिन्छ।

देशलाई नयाँ भाषण होइन, नयाँ काम चाहिएको छ। जनतालाई आश्वासन होइन, अनुभूति हुने परिवर्तन चाहिएको छ। र गृहमन्त्रीज्यू, अब तपाईंको वास्तविक मूल्यांकन तपाईंले के भन्नुभयो भनेर होइन, तपाईंले के गर्नुभयो भनेर हुनेछ।

सरकार सही दिशामा गएको संकेत दिन सकिन्छ। त्यसैले जनताले चमत्कार मागेका छैनन्। जनताले कामको सुरुवात खोजेका हुन्। जनताको भोट फिर्ता लैजाऊ भन्ने होइन- जनताले दिएको भोटको सम्मान गरेर काम गरेर देखाउनुहोस्।

आज जनताले प्रश्न गरिरहेका छन्। त्यस प्रश्नलाई अपमान नठान्नुहोस्। किनकि जनताको प्रश्न नै लोकतन्त्रको शक्ति हो। नेपालका जनताले यस्तो गृहमन्त्री देख्न चाहन्छन्, जसलाई देखेर उनीहरूले भन्न सकून्- ‘हामीले दिएको मत खेर गएनछ।’ त्यसैले अब धेरै बहस होइन, धेरै आरोप होइन, धेरै आश्वासन होइन-शान्त भएर, स्थिर भएर, तर तीव्र गतिमा काम गर्नुपर्ने समय हो।

देशलाई नयाँ भाषण होइन, नयाँ काम चाहिएको छ। जनतालाई आश्वासन होइन, अनुभूति हुने परिवर्तन चाहिएको छ। र गृहमन्त्रीज्यू, अब तपाईंको वास्तविक मूल्यांकन तपाईंले के भन्नुभयो भनेर होइन, तपाईंले के गर्नुभयो भनेर हुनेछ।

(लेखक भण्डारी राजनीतिक विज्ञानका पीएचडी शोधार्थी हुनुहुन्छ।)

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ९ : ०३ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका