कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव « Khabarhub

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह महरले पूर्वसभापति शेरबहादुर देउवासमक्ष तीनवटा प्रस्ताव अघि सारेका छन्। 

आइतबार बिहान देउवासँग भएको भेटमा महरले पार्टीभित्रको विवाद तत्काल संवाद र सहमतिबाट समाधान गर्नुपर्नेमा जोड दिएका हुन्।

लामो समय उपचारपछि नेपाल फर्किएका देउवालाई भेट्न पुगेका महरले पार्टीलाई यसरी विवादमा राखेर अघि बढ्न नसकिने भन्दै नेतृत्व तहबाटै पहल गर्नुपर्ने प्रस्ताव गरेको बताए।

‘अब यसरी हुँदैन । पार्टीलाई मिलाएर लानुपर्छ भन्ने प्रस्ताव गरेको छु,’ महरले भने, ‘पार्टी मिलाउन तीनवटा प्रस्ताव गरेको छु । उहाँले पनि ठीक हो, ठीक हो भन्नुभएको छ।’

महरले अघि सारेको पहिलो विकल्प सभापति गगन थापा र पूर्वसभापति देउवाबीच तत्काल प्रत्यक्ष संवाद गराएर पार्टीभित्रको विवाद समाधान गर्ने रहेको छ। नेतृत्व तहबीच संवाद सुरु भएपछि अन्य विषय पनि सहमतिमा टुंग्याउन सकिने उनको धारणा छ।

दोस्रो विकल्पका रूपमा महरले गगन थापा र शेरबहादुर देउवा दुवैले नेतृत्वबाट पछि हटेर तेस्रो व्यक्तिलाई नेतृत्व स्वीकार गर्ने र त्यसपछि १५औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। यसबाट अहिले देखिएको नेतृत्व विवादलाई नयाँ सहमतिमार्फत निकास दिन सकिने उनको भनाइ छ।

महरको तेस्रो प्रस्ताव भने अदालतमा विचाराधीन कांग्रेसको विवादसँग सम्बन्धित छ। अदालतको अन्तिम फैसला जे आए पनि स्वीकार गर्ने, तर फैसला आउनुअघि नै पार्टीभित्रका विवादित विषयमा संवाद र सहमति कायम गरेर अघि बढ्नुपर्ने उनको प्रस्ताव छ।

‘अदालतबाट अन्तिम फैसला आउनुअघि नै सबै विषयमा छलफल र सहमतिबाट टुंगो लगाऔँ । अदालतको अन्तिम निर्णय जुन पक्षमा आए पनि मानेर जाऔँ भन्ने मेरो प्रस्ताव हो,’ महरले भने।

पूर्वसभापति देउवा साउन २८ गते स्वदेश फर्किएपछि पार्टीका नेता तथा कार्यकर्तासँग निरन्तर भेटघाटमा छन्। देउवाले पनि आफ्नो चाहना पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने रहेको बताउने गरेको महरको भनाइ छ।

महरका अनुसार उनले देउवासँगको भेटमा सभापति गगन थापाले पनि भेट्न खोजिरहेको जानकारी गराएका थिए। त्यसमा देउवाले पार्टी मिलाउन आफू तयार रहेको संकेत दिएका छन्।

‘मैले सभापति गगन थापाले तपाईंलाई भेट्न खोज्नुभएको छ, अब मिलाउनुपर्छ भनेको छु। उहाँले त्यस्तो केही छैन, मिलाउने हो भन्नुभएको छ,’ महरले भने।

यद्यपि कांग्रेसको विवाद अदालतमा पुगेकाले त्यसको फैसला पनि पर्खिनुपर्ने देउवाको धारणा रहेको महरले बताए। उनका अनुसार देउवा संवादमार्फत समाधान खोज्ने र अदालतको निर्णय पनि कुर्ने पक्षमा देखिएका छन्।

‘अर्कोतिर अदालतमा पार्टीको विवाद पुगेको कुरा उहाँको छ। संवाद पनि गरौँ, फैसला पनि कुरौँ जस्तो आशय उहाँको छ,’ महरले भने।

कांग्रेसभित्र नेतृत्व, महाधिवेशन र पार्टीको वैधानिकतासँग जोडिएका विषयमा विवाद बढिरहेका बेला महरले दुवै पक्षसँग संवाद गर्दै सहमतिको बाटो खोजिरहेका छन्। उनको प्रस्तावले नेतृत्वबीच प्रत्यक्ष संवाद, वैकल्पिक नेतृत्व र अदालतको निर्णय स्वीकार गर्ने तीनवटै बाटोलाई समेटेको छ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ३ : १४ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल