प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन « Khabarhub

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सहकार्य, एकता र पुनर्गठनको विकल्प नभएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिमा कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक भएको बताएका हुन्।

उनले देशमा भएका विभिन्न उतारचढाव र संकटको सामना गर्ने पात्रका रूपमा आफू अहिले पनि उभिएको बताए।

‘शान्ति सम्झौतामा हस्ताक्षर गरेर संविधान बनाउँदासम्म हामी विजयी हुँदै आएका थियौँ। संविधान बनाएबापत देशमा ठूला नाकाबन्दी भए। हामीले त्यसको पनि सामना गर्‍यौँ,’ उनले भने।

नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि आफूहरूले चुच्चे नक्सा जारी गरेको उल्लेख गर्दै प्रचण्डले यी सबै घटनालाई कम्युनिस्ट आन्दोलनका विजय र सफलताका रूपमा व्याख्या गरे।

‘नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि हामीले एउटा चुच्चे नक्सा पनि जारी गर्‍यौँ। यी सबै कुरा हाम्रो विजयका सफलता हुन्,’ उनले भने।

राजतन्त्रको तुलनामा गणतन्त्र आएपछि नेपालले उल्लेखनीय प्रगति गरेको दाबी गर्दै उनले नागरिकको औसत आयु ५५/५६ वर्षबाट ७७ वर्ष पुगेको र शिक्षालगायत क्षेत्रमा पनि प्रगति भएको बताए।

तर, कम्युनिस्ट आन्दोलन र आफूहरूले नेतृत्व गरेको राजनीतिक यात्रामा समस्या कसरी उत्पन्न भयो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ।

‘जनयुद्ध र जनआन्दोलनमा हुँदा हाम्रो ध्यान नागरिकको हितमै थियो। तर हामीले रणनीतिलाई कार्यनीति बनाउँदा र कार्यनीतिलाई रणनीति बनाउँदा फस्यौँ,’ प्रचण्डले भने।

दैनिक रूपमा जनताका विषयमा चिन्तन गरे पनि कम्युनिस्ट शक्तिहरूको जनतासँगको सम्बन्ध टुट्दै गएको उनले स्वीकार गरे।

उनले आफूहरू मन्त्री, सांसद बन्ने र चुनाव जित्ने गोलचक्करमा फसेको आरोपसमेत लगाए।

‘हामी मन्त्री बन्ने, सांसद बन्ने, चुनाव जित्ने गोलचक्करमा मात्रै लाग्यौँ। तर विरोधीहरू नेपालबाट कम्युनिस्ट सक्न लागेका थिए,’ उनले भने।

प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमलाई पनि यही योजनाको अभिव्यक्तिका रूपमा व्याख्या गरे। उनले भदौ २४ गतेको घटनापछि राष्ट्रिय स्वाधीनतामा गम्भीर संकट उत्पन्न भएको दाबी गरे।

‘त्यही योजनाको अभिव्यक्ति भदौ २४ गते प्रकट भएको हो। अहिले राष्ट्रिय स्वाधीनतामा गम्भीर संकट आएको छ। सुगौली सन्धिपछिकै भयानक संकट देशमा आएको छ,’ उनले भने।

उनले २००७ सालदेखि नै कम्युनिस्ट आन्दोलनले देश र जनताको पक्षमा संघर्ष गर्दै आएको उल्लेख गर्दै अब आन्दोलनको रक्षाका लागि कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताए।

‘कम्युनिस्ट आन्दोलनको रक्षाका लागि अब एकताको कुनै विकल्प छैन,’ प्रचण्डले भने।

कम्युनिस्ट शक्तिहरू श्रमजीवी र वर्गबाट टाढिएको स्वीकार गर्दै उनले अब सहकार्य, एकता र पुनर्गठनको बाटोमा अघि बढ्नुपर्ने बताए।

‘हामी वर्गबाट किन टाढा भयौँ, श्रमजीवीबाट कसरी टाढियौँ। अब हामीले सहकार्य, एकता र पुनर्गठनको बाटोमा जानुपर्छ। यति गर्न सकियो भने हामी फेरि देशको नेतृत्व लिने दिशामा पुग्छौँ,’ उनले भने।

यसै क्रममा उनले नेकपा एमाले र नेकपाबीच तीनबुँदे सहमति तथा पाँचबुँदे निर्देशिका बनाएर प्रदेश तहमा सहकार्य सुरु गरिएको बताए। उक्त सहकार्यमा नेकपा मसाललाई समेत जोडिएको उनको भनाइ छ।

दुईबुँदे सहमतिमार्फत अन्य कम्युनिस्ट शक्तिलाई पनि सहकार्यमा जोड्दै जाने सन्देश दिइएको उनले बताए। यो सहकार्य तत्कालीन राजनीतिक अभ्यास मात्रै नभई राष्ट्रका समस्या समाधान गर्ने उद्देश्यसँग समेत जोडिएको प्रचण्डको भनाइ छ।

उनले आफूहरू सरकारमा जानका लागि मात्रै नयाँ सहमतिमा नपुगेको स्पष्ट पारे। बरु नयाँ आन्दोलन निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ।

‘हामी छिट्टै एउटा नयाँ आन्दोलनको सृष्टि गर्छौँ। हामी सरकारमा जान मात्रै नयाँ सहमतिमा पुगेका हौँ। हामीले आन्दोलनमै र संघर्षमै जोड दिनुपर्छ,’ उनले भने।

श्रमजीवी जनतालाई आन्दोलनमा जोड्न सके मात्रै देशमा रूपान्तरण सम्भव हुने प्रचण्डले बताए।

‘श्रमजीवी जनतालाई आन्दोलनमा जोड्न सक्नुपर्छ। अनि मात्रै रूपान्तरण गर्न सक्छौँ। वर्ग संघर्षमा सहकार्यलाई हामीले उच्च प्राथमिकता दिनुपर्छ,’ उनले भने।

प्रचण्डले विगतका कमी–कमजोरी सच्याएर अघि बढ्न आफूहरू तयार रहेको समेत बताए। कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्दै जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  २ : ५० बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी