काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीका विभिन्न पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्यलाई जिम्मेवारी बाँडफाँड गरेको छ।
बैठकले जनवर्गीय संगठनका प्रमुखको जिम्मेवारीसमेत केही नेताहरूलाई दिएको छ।
सभापति रवि लामिछानेले असार ७ देखि १२ गतेसम्म चितवनमा भएको पार्टीको पहिलो महाधिवेशनमा उम्मेदवारी फिर्ता लिएका तथा पराजित भएका नेताहरूलाई समेत सचिवालयमा समेटेका छन्।
तर चर्चित नेतृ तोसिमा कार्की भने सचिवालयमा अटिनन्। उनीसँगै महामन्त्रीमा पराजित गणेश कार्की र सागर ढकाल पनि सचिवालय सदस्य बनेनन्। यसअघि सागर ढकाल सचिवालय सदस्य थिए।
महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएर अन्तिम समयमा फिर्ता लिएका गणेश पराजुली, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी र जगदीश खरेल सचिवालय सदस्यमा मनोनीत भएका छन्। त्यस्तै महामन्त्री पदमा पराजित मनिष झा पनि सचिवालयमा अटाएका छन्।
उपसभापति पदमा उम्मेदवारी दिएर फिर्ता लिएकी इन्दिरा राणा पनि सचिवालय सदस्य बनेकी छन्।
पार्टीको पूर्वकोषाध्यक्ष लिमा अधिकारी, जेन-जी अभियन्ता पुरुषोत्तम यादव तथा विवेकशील साझाकी नेतृ समीक्षा बास्कोटा पनि सचिवालयमा समेटिएका छन्।
तर विवेकशील साझाबाट महामन्त्री पदमा उम्मेदवारी दिएर फिर्ता भएकी रञ्जु दर्शना भने सचिवालयमा अटाइनन्। उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेका विराजभक्त श्रेष्ठ भने सचिवालय सदस्य बनेका छन्।
महामन्त्री पदको उम्मेदवारीबाट अन्तिम समयमा पछि हटेका जगदीश खरेललाई लामिछानेले प्रवक्ताको जिम्मेवारीसमेत दिएका छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित तोशीमा कार्कीलाई भने सचिवालयमा समेटिएको छैन। उनलाई जनस्वास्थ्य संगठन प्रमुखको जिम्मेवारी दिइएको छ।
लामिछानेका विश्वासपात्र मानिने प्रमोद न्यौपानेलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। त्यस्तै लामिछानेका अर्का विश्वासपात्र दीपक बोहरा सचिवालय सदस्य बनेका छन्।
लामिछानेले यो पहिलो चरणको मनोनयन प्रक्रिया भएकाले धेरै नेताहरूलाई आगामी दिनमा अवसर दिइने बताएका छन्। शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले क्षमतावान् र योग्य सबै नेताहरूलाई क्रमशः जिम्मेवारी दिँदै जाने बताएका थिए।
तर लामो समयदेखि पार्टीमा सक्रिय रहँदै आएकी तोशीमा कार्की सचिवालयमा नपरेपछि पार्टीभित्र असन्तुष्टि रहेको चर्चा छ। उनी हाल विदेश भ्रमणमा रहेकाले यस विषयमा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएकी छैनन्।
त्यस्तै पार्टीभित्र प्रभावशाली नेतृका रूपमा रहेकी रन्जु दर्शना पनि सचिवालयमा नअटाएपछि त्यसलाई लिएर प्रश्न उठ्न थालेको छ। दर्शना यसअघि विवेकशील साझाकी महासचिव थिइन्। उनी काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्।
फरक विचार राख्ने पाखा?
रास्वपाभित्र गणेश कार्की, तोसिमा कार्की, सागर ढकाल र रञ्जु दर्शना लगायतका नेताहरू तुलनात्मक रूपमा फरक धारणा राख्ने नेताका रूपमा चिनिन्छन्।
पार्टीभित्रका विषय र समस्यालाई खुलेर उठाउने तथा कुनै पनि विषयलाई बहुआयामिक दृष्टिले हेर्ने उनीहरूको शैलीका कारण उनीहरू पछिल्लो जिम्मेवारी बाँडफाँडमा प्राथमिकतामा नपरेको चर्चा पार्टीभित्र हुन थालेको छ।
यद्यपि, लामिछानेले शुक्रबारको बैठकमा यो पहिलो चरणको मनोनयन मात्रै भएको भन्दै अहिले जिम्मेवारी नपाएका नेताहरूलाई नआत्तिन आग्रह गरेका छन्। उनले क्षमता र योग्यता भएका सबै नेताहरूलाई क्रमशः अवसर दिँदै जाने बताएका छन्।
त्यसैले अहिले सचिवालयमा नसमेटिएका तोशीमा कार्की, रन्जु दर्शना, सागर ढकाल र गणेश कार्कीलगायतका नेताहरू आगामी चरणमा जिम्मेवारी पाउँछन् वा पार्टीको मूल संरचनाबाट पाखा लाग्छन् विस्तारै थाहा हुनेछ ।















प्रतिक्रिया