जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध « Khabarhub

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जना प्रयोगशालामा पुष्टि भएका जापनिज इन्सेफलाइटिसका बिरामी देखिएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामीमध्ये ८६ प्रतिशतले जापनिज इन्सेफलाइटिस रोगविरुद्धको ‘जेइ खोप’ नलगाएका जनाएको छ । 

यसैगरी, हालसम्म सङ्क्रमितमध्ये २१ जनाको मृत्यु भइसकेको छ । मृतक सबैले जेइ खोप नलगाएका पाइएको छ ।

जेइका ‘केस’ (बिरामीको अवस्था) हालसम्म सबैभन्दा बढी झापामा १०, कैलाली र मोरङमा सात/सात, सप्तरी र कञ्चनपुरमा छ/छ तथा चितवन, सुनसरी र नवलपरासीपूर्वमा पाँच/पाँच रहेका छन् । 

मुख्यतः तराई तथा भित्री मधेसका जिल्लामा केन्द्रित भए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौँ, सिन्धुली, सुर्खेतलगायत पहाडी जिल्लामा जेइ पुष्टि भएको प्रतिवेदनले जनाएको छ ।

जापनिज इन्सेफलाइटिस मुख्यतः सङ्क्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्दछ । 

धेरै बिरामी धानखेत तथा सुँगुरपालन गरिने क्षेत्रमा बसोबास गर्नेमा यसको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

सङ्क्रमित जनावर जस्तै सुँगुर, बङ्गुर, हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा मानिसमा भाइरस सर्न सक्छ । 

जेइको सङ्क्रमण भएका प्रत्येक तीन जनामध्ये एक जनाको मृत्यु हुने र एक जना दीर्घकालीन अपाङ्गता वा स्नायुसम्बन्धी समस्यासहित बाँच्नुपर्ने तथ्याङ्क छ ।

साथै उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तनजस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्था लैजानसमेत महाशाखाले अनुरोध गरेको छ । 

पछिल्लो तथ्याङ्कअनुसार ८० जनामा पुष्टि भएकामध्ये ५१ अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन् । जेइका कारण भएका मृत्युमा ५० वर्षभन्दा माथिका व्यक्तिको हिस्सा ८१ प्रतिशत रहेको छ । 

यस वर्ष हालसम्म पुष्टि भएका ८० बिरामीमा पुरुष ४३ र महिला ३७ जना छन् ।

जापनिज इन्सेफलाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै रोगबाट सुरक्षित हुने यो प्रभावकारी उपचार भएको विभागको भनाइ छ । 

यो रोगबाट सुरक्षित हुन जेइ खोप लगाउनुका साथै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने विभागले जनाएको छ । 

सरकारले जेइ खोप १२ महिनाको उमेरका बालबालिकालाई लगाउने गर्दछ । यदि छुटेको भएमा पाँच वर्षको उमेरसम्मका बालबालिकालाई जेइ खोप लगाइन्छ । 

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले यो रोगबाट बच्न खोप अनिवार्य रहेको बताउँदै छुटेकालाई थीघ्र खोप लगाउन आग्रह गरे । 

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ५ : ४५ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन