काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्कालाई ८९ रनले पराजित गरेको छ । जितसँगै आयोजक इङ्ल्यान्डले तीन खेलको शृङ्खलामा १-० को अग्रता लिएको छ।
चेस्टर-ले-स्ट्रिटमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले सुस्त र कम बाउन्स भएको पिचमा ४८.१ ओभरमा सबै विकेट गुमाउँदै २६५ रनको सम्मानजनक योगफल तयार पारेको थियो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ६७ रनको योगदान दिए भने जो रुटले ४४ रन बनाए। तल्लो क्रममा विल ज्याक्सले अविजित ४६ रन जोड्दै टोलीलाई प्रतिस्पर्धात्मक स्थितिमा पुर्याए। श्रीलङ्काका लागि रंधिका कोलोम्बागेले ३ विकेट लिए ।
२६६ रनको विजय लक्ष्य पछ्याएको श्रीलङ्काको ब्याटिङ भने निकै कमजोर रह्यो। अनुशासित बलिङ र चुस्त फिल्डिङसामु श्रीलङ्का ३७ ओभरमा १७६ रनमै अलआउट भयो । श्रीलङ्काका लागि दुनिथ वेल्लालागेले सर्वाधिक ४५ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।
इङ्ल्यान्डका स्पिनर विल ज्याक्सले घातक बलिङ गर्दै २२ रन खर्चेर ५ विकेट लिए, जुन उनको ओडीआई करियरकै उत्कृष्ट प्रदर्शन हो । उनले कुसल मेन्डिस र कप्तान चरिथ असलंका जस्ता महत्त्वपूर्ण ब्याटरको विकेट लिएका थिए ।
यो जितसँगै इङ्ल्यान्डले यस वर्ष श्रीलङ्काविरुद्ध ह्वाइट बल क्रिकेटमा लगातार १०औँ जित दर्ता गरेको छ । शृङ्खलाको दोस्रो खेल बिहीबार हेडिङ्ग्लेमा हुनेछ ।
















प्रतिक्रिया