वासिङ्टन- चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबारदेखि अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु गरेका छन् । उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन बाहिरस्थित ज्वाइन्ट बेस एन्ड्र्युजमा पुगेर स्वागत गर्ने कार्यक्रम छ ।
एक दशकभन्दा बढी समयपछि हुन लागेको सीको पहिलो राजकीय अमेरिका भ्रमणका क्रममा उनलाई विशेष सम्मानसहित स्वागत गर्ने तयारी गरिएको छ ।
भ्रमणका क्रममा दुई नेताबीच व्यापार, कृत्रिम बौद्धिकता, दुर्लभ खनिज, इरान र ताइवानलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ । व्यापार तथा अन्य विषयमा अमेरिका र चीनबीच मतभेद कायमै रहे पनि भ्रमणलाई दुई देशबीच संवाद र रणनीतिक स्थिरता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ ।
बिहीबार ह्वाइट हाउसमा सीको औपचारिक स्वागत समारोह तथा सैन्य सम्मान आयोजना हुनेछ । सोही दिन राजकीय रात्रिभोजसमेत आयोजना गरिनेछ, जसमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व सहभागी हुनेछन् ।
शुक्रबार सी र उहाँकी श्रीमती पेङ लियुआनले ट्रम्प तथा प्रथम महिला मेलानिया ट्रम्पसँग चिया भेट गर्नुका साथै राष्ट्रिय अभिलेखालयको भ्रमण गर्ने कार्यक्रम छ ।
यसअघि मेमा ट्रम्पले चीन भ्रमण गर्दा सी स्वयं उनको स्वागतका लागि विमानस्थल पुगेका थिएनन् । चिनियाँ उपराष्ट्रपति हान झेङले ट्रम्पलाई स्वागत गरेका थिए । त्यस क्रममा बेइजिङमा अमेरिकी राष्ट्रपतिको विमानलाई रातो गलैँचा, सैन्य सम्मान गार्ड, सैन्य ब्यान्ड तथा झन्डा बोकेका सयौँ बालबालिकाले स्वागत गरेका थिए ।
अमेरिकी सिनेटको सशस्त्र सेवा समितिका रिपब्लिकन अध्यक्ष रोजर विकरले भने सीलाई दिइएको भव्य स्वागतप्रति असहमति जनाएका छन् । उनले चीनको सैन्य विस्तार र इरानप्रति चीनको समर्थनलगायत विषयमा वार्ताका क्रममा ध्यान दिनुपर्ने बताए।
















प्रतिक्रिया