हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास « Khabarhub

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि वर्षौंदेखि बरफभित्र दबिएर रहेका ऐतिहासिक वस्तु र वातावरणीय परिवर्तनका प्रमाण बाहिर आउन थालेका छन् ।

यस्ता सामग्रीको संरक्षण र अध्ययन गर्ने उद्देश्यले स्विट्जरल्यान्डको लुसर्नस्थित ग्लेसियर गार्डेनले ‘ट्रेजरी अफ आइस’ अर्थात् ‘बरफको खजाना’ नामक प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा प्राचीन सिकारीले प्रयोग गर्ने धनुषदेखि रोमनकालीन मूर्ति, पर्वतारोहीको फुटेको हेल्मेट र गाईको खप्परसम्मका सामग्री राखिएका छन् । त्यस्तै, मेयोनेजको खाली ट्युब, फ्याँकिएको वाइनको बोतल, जुत्ता, स्विस सेनाले प्रयोग गर्ने पुरानो प्रकारको चक्कु र स्कीका सामग्री पनि प्रदर्शनीमा समावेश छन् ।

स्विस हिमनदीविद्हरूका अनुसार यस वर्ष देशका हिमनदीको कुल क्षेत्रफल ५.५ प्रतिशतले घटेको छ । अभिलेख राख्न थालिएयताका वर्षमध्ये यो दोस्रो ठूलो गिरावट हो ।

हिमनदी तीव्र गतिमा पग्लँदै जाँदा त्यहाँ सुरक्षित रहेका ऐतिहासिक सामग्री र वातावरणीय परिवर्तनका प्रमाण हराउनुअघि सार्वजनिक गर्न प्रदर्शनी आयोजना गरिएको ग्लेसियर गार्डेनका निर्देशक आन्द्रेयास बुरीले बताउनुभयो ।

“हिमनदी अहिले निकै तीव्र गतिमा हराइरहेका छन् । ती पूर्ण रूपमा हराउनुअघि हामीले गुमाउन लागेका महत्त्वपूर्ण र रोचक अभिलेख मानिसलाई देखाउन चाहेका छौँ”, उहाँले भन्नुभयो ।

प्रदर्शनीमा पुराना वस्तुका अतिरिक्त स्विस हिमनदीका भिडियो, वर्षौंदेखिको हिमनदी पग्लने दरसम्बन्धी तथ्याङ्क र हिमनदी कसरी बग्छ भन्ने बुझाउने नमुना पनि राखिएका छन् । 

बरफबाट बाहिर आएका केही वस्तु मानिसले हराएका वा फ्याँकेका फोहोरसमेत हुन सक्ने बुरीले बताए। ती सामग्री त्यहाँ कसरी पुगे भन्ने यकिन नभए पनि हिमनदी पग्लँदा बाहिर आउने वस्तु र तिनको ऐतिहासिक महत्त्व बुझ्न प्रदर्शनी उपयोगी हुने उनको भनाइ छ ।

प्रदर्शनीमा पहाडबाट सामग्री सङ्कलन गरी प्रयोगशालासम्म पुर्‍याउन प्रयोग गरिने सेता बाकसहरूमाथि वस्तुहरू सजाइएको छ । यसले गोदाममा सामग्री सुरक्षित राखिएको जस्तो दृश्य प्रस्तुत गर्छ । त्यहाँ हिमनदीबाट निकालिएको बरफको एउटा सिलिन्डरसमेत राखिएको छ, जुन बिस्तारै पग्लिरहेको देखिन्छ । यसले प्रकृतिमा भइरहेको तीव्र परिवर्तनलाई झल्काउँछ ।

हिमनदीले भौतिक वस्तु मात्र नभई वातावरणीय इतिहासका सूक्ष्म प्रमाणसमेत सुरक्षित राखेका छन् । प्रदर्शनीमा परागकण, हरितगृह ग्यास र २०औँ शताब्दीको मध्यतिर गरिएका आणविक परीक्षणबाट उत्पन्न रेडियोधर्मी पदार्थका सूक्ष्म कण बरफमा जमेर रहेको तथ्य पनि प्रस्तुत गरिएको छ ।

त्यस्तै, करिब ५०० वर्षअघि १६औँ शताब्दीको मध्यतिर खडेरी र असाधारण गर्मीका कारण वनमा लागेको डढेलोबाट उत्पन्न कालो धुवाँका कण र कोइलाका अवशेषसमेत बरफमा सुरक्षित रहेको देखाइएको छ । यस्ता प्रमाणले विगतका तापक्रम, डढेलो र चरम मौसमी अवस्थाबारे जानकारी दिन्छन् ।

प्रदर्शनीमा मानव अवशेष भने राखिएका छैनन् । यद्यपि, हिमनदी पग्लँदा दशकौँअघि बेपत्ता भएका पर्वतारोहीका शवसमेत फेला पर्ने गरेका छन् । गत अगस्टमा लुसर्नको दक्षिणमा रहेको ट्रिफ्ट हिमनदी नजिकै दशकौँअघि बेपत्ता भएका दुई बेल्जियम पर्वतारोहीका शव भेटिएका थिए । यसअघि सन् २०१५ मा प्रसिद्ध म्याटरहर्न हिमाल नजिकै सन् १९७० मा हराएका दुई जापानी पर्वतारोहीका अवशेष फेला परेका थिए ।

हिमनदीमा सुरक्षित रहेका वस्तु र वातावरणीय प्रमाणले विगतको मानव गतिविधि, प्राकृतिक अवस्था तथा जलवायु परिवर्तनको इतिहास बुझ्न महत्त्वपूर्ण सहयोग पुर्‍याउँछन् । तर, हिमनदी तीव्र गतिमा पग्लँदै जाँदा यस्ता प्रमाण नष्ट हुने जोखिमसमेत बढेको छ ।

यही सन्देशसहित आयोजना गरिएको ‘बरफको खजाना’ प्रदर्शनी आगामी अगस्ट २२ सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  १२ : २८ बजे

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो