काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले शुक्रबार विज्ञप्ति जारी गर्दै दिवङ्गत नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन् ।
विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवीय मूल्य–मान्यताविपरीत रहेको उल्लेख गरिएको छ । एमालेले विश्व शान्तिको पक्षमा आफू सधैँ प्रतिबद्ध रहेको जनाउँदै यस्ता अमानवीय घटनाको निन्दा गरेको छ ।
नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्तै दुःखद र चिन्ताजनक रहेको एमालेको भनाइ छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र हित सुनिश्चित गर्न पनि एमालेले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।














प्रतिक्रिया