काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई जलवायु–उत्थानशील बनाउने ‘मोडेल’ स्थापना भएको छ । जलवायुजन्य विपद्का समयमा पनि अग्रपङ्क्तिमा क्रियाशील स्वास्थ्य संस्थाहरूले जीवन रक्षाका क्षेत्रमा निरन्तर सेवा सञ्चालन गर्न सक्छन् भन्ने प्रमाणित गर्न रौतहट ‘मोडेल’ सफल भएको छ । रौतहट, ईशनाथ नगरपालिकास्थित औरैया प्रसूति केन्द्रमा आयोजित नीतिगत संवाद कार्यक्रमा सो मोडेलको मूल्याङ्कनसहित नेपालका अन्य जोखिमयुक्त क्षेत्रमा जलवायु–उत्थानशील स्वास्थ्य पूर्वाधारको विस्तारका पक्षमा स्पष्ट लक्ष्य तथा कार्यदिशा तय गर्नुपर्नेमा जोड दिइएको थियो ।
सो अवसरमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक लीला पिटर्स याहियाले भनिन्, “औरैया प्रसूति केन्द्रको यस भ्रमणबाट लक्षित क्षेत्रमा गरिने साना लगानीले पनि मातृ स्वास्थ्य सेवामा पहुँच बढाई वास्तविक परिवर्तन ल्याउन सकिन्छ भन्ने पुष्टि भएको छ । स्वास्थ्य चौकीमा योग्य नर्सको उपस्थितिले समुदायमा विश्वास निर्माण गरेको छ, यसबाट परम्परागत सोच बढी रहेका समुदायसहित ग्रामीण महिलालाई गर्भावस्था तथा सुत्केरीपछि स्वास्थ्य सेवा लिन आत्मविश्वास प्रदान गरेको छ ।”
उनले भनिन्, “ग्रामीण स्वास्थ्य चौकी, योग्य स्वास्थ्यकर्मी र आवश्यक पूर्वाधारमा गरिने लगानीले जीवन बचाउँछ । त्यसैले मातृ तथा प्राथमिक स्वास्थ्य सेवाका लागि आन्तरिक स्रोत परिचालन गर्नु अत्यन्त महत्त्वपूर्ण छ । यो नेपालभरका महिला, परिवार र समुदायमाथिको लगानी हो ।” जापान सरकारको आर्थिक सहयोगमा सञ्चालित ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमताको सुधार’ परियोजनाअन्तर्गत सञ्चालित जलवायु–उत्थानशील स्वास्थ्य सेवासहित नमूनाका रुपमा प्रस्तुत हुन औरैया प्रसूति केन्द्र सफल भएको छ ।
युएनएफपिएले स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयसँगको सहकार्यमा कार्यान्वयन गरेको यस परियोजनाअन्तर्गत उक्त स्वास्थ्य संस्थामा विद्युत् ‘ब्याकअप’ प्रणाली, चिकित्सकीय फोहोरमैला व्यवस्थापन स्थल, ‘भेन्टिलेसन’, पानी शुद्धीकरण एकाइलगायतका सुधारको व्यवस्था गरिएको छ । पूर्वाधारका साथै नगरपालिकास्तरीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका लागि मार्गदर्शन तयारी तथा जलवायु–अनुकूलित स्वास्थ्य कार्ययोजना विकास गरेर सरकारी स्वामित्व सुदृढ गर्दै दीर्घकालीन रुपमा सञ्चालन सुनिश्चित गर्ने पहल परियोजनाले गरेको छ ।
नेपालस्थित युएनएफपिएका उपप्रतिनिधि डा वशिर नजिबले भने, “गत भदौमा नेपालमा गएको बाढीले गर्भवती तथा नवजात शिशुको स्वास्थ्य सेवामा कति समस्या ल्याउन सक्छ भन्ने देखायो । स्थानीय योजना तथा सुदृढ पूर्वाधारले सुसज्जित, विपद्का लागि तयार र जलवायु–उत्थानशील स्वास्थ्य केन्द्र निर्माण गर्नु जीवन रक्षाको अनिवार्य आवश्यकता हो । जापान सरकारको सहयोगमा सञ्चालित यस परियोजनामार्फत युएनएफपिए प्रत्येक आमा र नवजात शिशुको सुरक्षाका लागि प्रमाणित अनुकूलन मोडेलहरू दिगो रूपमा सञ्चालन गर्न तथा देशव्यापी रूपमा पुर्याउन सबै तहका सरकारसँग साझेदारी गर्न प्रतिबद्ध छ ।”
यसैगरी, ईशनाथ नगरपालिकाकी उपप्रमुख कौशल्या देवीले भनिन्, “प्रतिकूल अवस्थामा पनि गर्भवती तथा नवजात शिशुलाई निर्बाध रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन तीनै तहका सरकारबीच सहयोग, सहकार्य र समन्वय हुन आवश्यक छ । विपद् पूर्वतयारी, स्वास्थ्य सेवाको निरन्तरता दिन र स्थानीय समुदायलाई बढी आवश्यक परेका बेला स्वास्थ्य संस्थाहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।”
सो अवसरमा युएनएफपिएले विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता सुदृढ गर्न मधेस प्रदेश सरकारलाई करिब एक लाख अमेरिकी डलर मूल्यको जीवनरक्षक औषधि तथा अत्यावश्यक उपकरण हस्तान्तरण गरेको थियो । जापान सरकारको वित्तीय सहयोगमा खरिद गरिएका ती उपकरणहरू रौतहट जिल्लाका पाँचवटा स्वास्थ्य संस्थामा आकस्मिक प्रसूति तथा नवजात शिशु स्याहार सेवा सुदृढ गर्न पनि वितरण गरिने बताइएको छ ।
जापान सरकारको सहयोगमा सन् २०२५ देखि सञ्चालित मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमताको सुधार परियोजनाले जलवायु जोखिममा रहेका जाजरकोट र रौतहट जिल्लामा जलवायु जोखिम तथा अनुकूलनसँग सम्बन्धित काम गरिरहेको युएनएफपिएले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी निकायका रुपमा युएनएफपिएले नेपाललाई आर्थिक तथा प्राविधक सहयोगसहित विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।














प्रतिक्रिया