वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क सार्वजनिक गरेको एक संस्थाले स्वीकार गरेपछि चुनावी सर्वेक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको छ । राजनीतिक अभियानदेखि प्रमुख सञ्चारमाध्यमसम्मले प्रयोग गरेका सर्वेक्षणहरू मनगढन्ते रहेको खुलासा भएपछि अमेरिकामा नयाँ विवाद उत्पन्न भएको हो ।
‘वेजवुड पोल्स’ नामक संस्थाले आफ्ना अधिकांश सर्वेक्षणका तथ्याङ्क आफैंले बनाएको स्वीकार गरेको छ । संस्थाले पूर्ण रूपमा नक्कली सर्वेक्षण कम्पनीले कति सजिलै सार्वजनिक चर्चा पाउन र मानिसहरूलाई आफ्नो नतिजामा विश्वास दिलाउन सक्छन् भन्ने परीक्षण गर्न यस्तो गरेको दाबी गरेको थियो । अहिले उक्त संस्थाको ‘एक्स’ खाता हटाइएको छ ।
यो घटना सर्वेक्षणसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने संस्था ‘फिफ्टीप्लसवन’ ले वेजवुडका सर्वेक्षणमाथि अनुसन्धान गर्ने क्रममा बाहिर आएको हो । वेजवुडले सार्वजनिक गरेका नक्कली नतिजाहरूलाई ‘द न्युयोर्क टाइम्स’ लगायतका प्रमुख सञ्चारमाध्यमले समेत स्थान दिएका थिए ।
‘द न्युयोर्क टाइम्स’ का अनुसार, वेजवुडले जुनदेखि अक्टोबरसम्म सार्वजनिक गरेका १५ वटा सर्वेक्षण आफ्नो सर्वेक्षणसम्बन्धी डाटाबेसमा समावेश गरेको थियो । ती सबै सर्वेक्षण अहिले हटाइएको छ ।
नक्कली सर्वेक्षणले चुनावी प्रतिस्पर्धामा प्रत्यक्ष असर पारेको आरोप पनि लागेको छ । मिसिगन राज्यकी सिनेट उम्मेदवार म्यालोरी म्याकमोरोले वेजवुडले जुन महिनाको अन्त्यतिर सार्वजनिक गरेको सर्वेक्षणमा आफ्नो समर्थन एकल अङ्कमा देखाइएपछि अभियान प्रभावित भएको बताएका छन् ।
उनका अनुसार त्यसपछि चन्दा आउन रोकिएको थियो, स्वयंसेवक निराश भएका थिए र सञ्चारमाध्यमले समेत आफूलाई चुनावी प्रतिस्पर्धाबाट बाहिरिन दबाब दिएका थिए । उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै उक्त सर्वेक्षणले आफ्नो अभियान नै ध्वस्त पारेको बताएका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत नक्कली सर्वेक्षण प्रयोग गरेको भन्दै ‘द न्युयोर्क टाइम्स’ को आलोचना गरेका छन् । उनले संस्थाले मनगढन्ते तथ्याङ्कलाई स्थान दिएको आरोप लगाएका छन् ।
सङ्घीय सञ्चार आयोगका अध्यक्ष ब्रेन्डन कारले चुनावी प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले बनाइएका नक्कली सर्वेक्षणको सङ्ख्या बढिरहेको बताएको छ । उनले सञ्चारमाध्यमलाई यस्ता गतिविधिलाई बढावा नदिन आग्रह गरेका छन् ।
यसअघि अगस्टमा ‘मेडियन स्ट्र्याटेजीज’ नामक अर्को संस्थाले पनि सर्वेक्षणका नतिजा बनावटी भएको स्वीकार गरेको थियो । त्यस्तै, फिफ्टीप्लसवनले अनुसन्धानपछि ‘सोकेल स्ट्र्याटेजीज’ नामक अर्को संस्थासँग तथ्याङ्क सङ्कलनको काम बन्द गर्ने जनाएको छ ।
विशेषज्ञहरूले कृत्रिम बुद्धिमत्ता ९एआई० प्रविधिका कारण नक्कली सर्वेक्षण तयार पार्न र तिनलाई वास्तविकजस्तै देखाउन सजिलो भएको बताएका छन् । अमेरिकन एसोसिएसन फर पब्लिक ओपिनियन रिसर्चले पनि बनावटी तथ्याङ्क र संस्थागत विवरण पहिचान गर्न कठिन हुँदै गएको जनाएको छ ।
संस्थाकी अध्यक्ष मेरी लोशले यस्ता जालसाजीले जनमत र चुनावी सर्वेक्षणप्रतिको विश्वास कमजोर पार्ने चेतावनी दिनुभएको छ । यद्यपि, उहाँले नक्कली सर्वेक्षणका घटनालाई वैध चुनावी सर्वेक्षणसँग एउटै रूपमा हेर्न नहुनेमा जोड दिएका छन् ,।














प्रतिक्रिया