काठमाडौं- भारतको द्रुत रूपमा फस्टाउँदै गएको रक्षा उद्योगले अब मध्य एसियाली मुलुकहरूलाई आफ्नो नयाँ ग्राहकका रूपमा विस्तार गर्न थालेको छ। अक्टोबरको सुरुआतमा भारतीय रक्षा सचिव राजेश कुमार सिंहले ‘एशियन न्यूज इन्टरनेसनल’ (एएनआई) सँग कुराकानी गर्दै स्वदेशी प्रविधिमा आधारित ‘आकाश’ मध्यम दूरीको मोबाइल सतहबाट हवाइमा प्रहार गर्ने मिसाइल प्रणालीलाई एउटा ठूलो सफलताका रूपमा प्रस्तुत गरेका थिए ।
उनका अनुसार अर्मेनियापछि अब ताजिकिस्तान र तुर्कमेनिस्तानले पनि यो मिसाइल प्रणाली खरिद गरेका छन् । भारतमा यसको उत्पादन स्थिर भइसकेको र आफ्ना सैन्य बलका साथै विश्वका अन्य मुलुकहरूबाट पनि थप अर्डर आउने अपेक्षा गरिएको भारत सरकारको भनाइ छ ।
यसअघि गत जुलाईमा भारतीय व्यावसायिक पत्रिका ‘बीडब्ल्यू बिजनेसवर्ल्ड’ ले आधिकारिक तथ्याङ्कलाई उद्धृत गर्दै ताजिकिस्तान र तुर्कमेनिस्तानलाई आकाश मिसाइलका नयाँ निर्यात गन्तव्यका रूपमा उल्लेख गरेको थियो । पछि, भारतीय रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) र रक्षा मन्त्रालयले पनि यी दुवै मध्य एसियाली देश ग्राहकको सूचीमा थपिएको पुष्टि गरेका थिए। यद्यपि, ताजिकिस्तान र तुर्कमेनिस्तान सरकारका तर्फबाट भने यस विषयमा अहिलेसम्म कुनै सार्वजनिक टिप्पणी आएको छैन ।
मध्य एसियाली देशहरूका सेनाले हालका वर्षहरूमा आफ्ना हतियार आपूर्तिकर्ताहरूमा विविधीकरण ल्याउने प्रयास गरिरहेका छन्। तैपनि ती देशहरूमा अझै पनि अधिकांश सैन्य उपकरण सोभियत वा रुसी निर्मित नै रहेका छन् । पछिल्लो समय उनीहरूले चीन, टर्की, भारत र पश्चिमी देशहरूबाट पनि नयाँ सैन्य उपकरण भित्र्याउन थालेका छन् । भारतले ताजिकिस्तान र तुर्कमेनिस्तानलाई कति संख्यामा मिसाइल बिक्री गर्यो, ती कहिलेसम्म हस्तान्तरण हुनेछन् र त्यसको मूल्य कति छ भन्नेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।
तर अर्मेनियासँग भएको सम्झौताले यस विषयमा केही स्पष्ट चित्र प्रस्तुत गर्दछ । अर्मेनियाले सन् २०२२ मा ‘भारत डाइनामिक्स लिमिटेड’ सँग ७२ करोड अमेरिकी डलर बराबरको सम्झौता गर्दै आकाश मिसाइल र १५ वटा अश्विन ब्यालिस्टिक मिसाइल इन्टरसेप्टर खरिद गरेको थियो । केही ढिलाइपछि सन् २०२४ को नोभेम्बरमा अर्मेनियाले आकाश मिसाइलको पहिलो ब्याट्री प्राप्त गरेको थियो भने दोस्रो खेप सन् २०२५ को जुलाईमा पुगेको बताइएको छ ।
ताजिकिस्तानसँग भारतको सैन्य सम्बन्ध नयाँ भने होइन । ‘अक्सस सोसाइटी’ को एक प्रतिवेदन अनुसार भारत र ताजिकिस्तानबीचको सैन्य सहकार्य १९९० को दशक र २००० को दशकको सुरुआतमा ‘ऐनी एयरबेस’ को मर्मतसम्भारबाट सुरु भएको थियो । यद्यपि उक्त एयरबेस मर्मत पछि ताजिकिस्तान पुनः रुसतिरै ढल्केको थियो । भारतीय सेनालाई त्यहाँ राख्ने योजना रद्द गर्दै रुसी फौजलाई प्रयोग गर्न दिने सम्झौता गरेको थियो । त्यसयता भारतको अफगानिस्तान सीमा नजिकै रहेको ‘फरखोर एयरबेस’ मा मात्र सीमित पहुँच रहँदै आएको छ ।
आकाश मिसाइल खरिद सम्झौताअघि भारतले ताजिकिस्तान वा तुर्कमेनिस्तानलाई कुनै पनि सैन्य उपकरण बिक्री गरेको थिएन। यो एउटा मिसाइल प्रणालीको निर्यातले मात्र मध्य एसियाको सैन्य सन्तुलनमा रातारात ठूलो परिवर्तन ल्याउनेछैन । तर यसले के स्पष्ट पार्छ भने मध्य एसियाली देशहरू रक्षा सामग्रीका लागि रुसमाथिको पूर्ण निर्भरता घटाउन नयाँ साझेदारको खोजीमा छन् । तथापि, फरक-फरक देशका प्रविधि र हतियार प्रणालीहरूलाई एकसाथ प्रभावकारी रूपमा सञ्चालन गर्न भने ती देशहरूलाई प्राविधिक चुनौती थपिन सक्छ ।














प्रतिक्रिया