जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तानजिकै रहेको एक क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि बेपत्ता भएका ३४ श्रमिकको खोजीका लागि ५०० भन्दा बढी उद्धारकर्मी परिचालन गरिएको छ।
बान्टेन प्रान्तस्थित पिटी फोनुसा अगुङ मुलिया कारखानामा शनिबार आगलागी भएको थियो। तीनतले भवनमा फैलिएको आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकलाई करिब १४ घण्टा लागेको अधिकारीहरूले बताएका छन्।
आगलागीमा परी २४ जनाको शव वा मानव अवशेष सङ्कलन गरिएको छ भने २९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये पाँच जनालाई अस्पताल भर्ना गरिएको छ।
अधिकारीहरूका अनुसार कारखानामा आगलागी हुँदा करिब ३०० श्रमिक कार्यरत थिए। तीमध्ये ६३ जना आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा रहेको अनुमान गरिएको छ।
चिस्याउने उपकरणबाट सुरु भएको आगो मुख्यतः भवनको दोस्रो तलामा फैलिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगलागीमा ज्यान गुमाउनेको यकिन सङ्ख्या भने सार्वजनिक गरिएको छैन।
राष्ट्रिय खोज तथा उद्धार निकाय बसरनासका अनुसार सङ्कलित मानव अवशेषको पहिचानका लागि फरेन्सिक परीक्षण गरिनेछ। सैनिक, प्रहरी, रेडक्रसका कर्मचारी तथा स्वयंसेवकसहितको उद्धार टोलीले करिब दुई हजार वर्गमिटर क्षेत्रफलमा खोजी जारी राखेको छ। बेपत्ता श्रमिकका आफन्त घटनास्थलमा उद्धारसम्बन्धी खबरको प्रतीक्षामा छन्।
उक्त कारखानामा इन्डोनेसियाको लोकप्रिय दूधमा आधारित क्यान्डी तथा खाजा उत्पादन गर्ने मिल्किटा ब्रान्डका सामग्री उत्पादन हुँदै आएका थिए। ती सामग्री ४० भन्दा बढी देशमा निर्यात हुने गरेका छन्।
इन्डोनेसियामा पछिल्ला वर्षमा भएका औद्योगिक आगलागीका घटनाले उद्योगहरूमा कार्यस्थल सुरक्षा मापदण्ड र आपतकालीन उद्धार तयारीको अवस्थामाथि प्रश्न उठाउँदै आएको छ।














प्रतिक्रिया