काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले बागडोगरा विमानस्थल सञ्चालनका लागि भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले यस्तो बताएका हुन् ।
मन्त्री खनालका अनुसार भारतले बागडोगरा विमानस्थल सञ्चालनका लागि नेपालको आकाश प्रयोग गर्न चाहे पनि त्यो सैनिक प्रयोजनका लागि नभई नागरिक उड्डयनका लागि मात्रै हो ।
उनले भारतले पनि सैनिक प्रयोजनका लागि नेपालको हवाई मार्ग नमागेको स्पष्ट पारेको बताए ।
लामो समयदेखि नेपाल भित्रिन सिमरामाथिको एउटा मात्रै हवाई मार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेकाले थप हवाई मार्गको माग गर्दै आएको उनले बताए । नेपालको पुरानो मागअनुसार भैरहवामाथिको हवाई मार्ग दुवैतर्फ प्रयोग गर्न पाउने गरी भारतसँग समझदारी भएको उनको भनाइ छ ।
हाल नेपालबाट बाहिरिने प्रयोजनका लागि मात्रै प्रयोग हुँदै आएको भैरहवामाथिको प्राविधिक रूपमा ‘ब्राभो–३४५’ भनिने हवाई मार्ग अब नेपाल भित्रिन पनि प्रयोग गर्न सकिनेछ । खनालले बागडोगरा विमानस्थलको विषयमा भ्रमणका क्रममा कुनै टुङ्गो नलागेको र सहमति पनि नभएको दोहोर्याए ।
‘आज भएको सहमति भनेको भैरहवामाथिको प्राविधिक रूपमा ब्राभो–३४५ भनिने हवाई मार्ग नेपालले दुवैतर्फ प्रयोग गर्न पाउने विषयमा मात्रै हो,’ उनले भने, ‘भैरहवाबाहेक अन्य कुनै पनि हवाई मार्गसँग सम्बन्धित सहमति भएको छैन ।’













प्रतिक्रिया