कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार « Khabarhub

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार



काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का आधारमा राजनीतिमा स्थापित हुँदै आएका थिए। क्षमतावानलाई पछि पार्दै वाउपुस्ताले गरेको संघर्षलाई आधार बनाएरै उनीहरु राजनीतिमा टिकिरहेका थिए। केही शीर्ष नेताका परिवारका सदस्यसमेत शक्तिको फाइदा उठाएर विपन्न वर्गको कोटा खाएर पनि राजनीति गरिरहेका थिए। तर जेन-जी आन्दोलनपश्चात् हुन लागेको निर्वाचनमा ती उम्मेदवार बाइकट भएका छन्।

शक्ति संघर्षको लागि कांग्रेसमा महाधिवेशनलाई लिएर निकै ठूलो लडाइँ चल्यो। अन्ततः विशेष महाधिवेशनमार्फत निर्वाचित भएका सभापति गगनकुमार थापाकै नेतृत्वमा टिकट वितरण भयो। गगनले पारिवारिक विरासत भएका अधिकांश नेताहरुलाई यसपटक पाखा लगाएका छन्। केहीको हामीले चर्चा गरेका छौं।

गणेशमान पुत्र प्रकाशमान
प्रकाशमान सिंह लौह पुरुष गणेशमान सिंहका छोरा हुन्। २०३० सालदेखि नेविसंघबाट राजनीति थालेका उनी ०३६ मा नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष भए। ०३८ मा काठमाडौं जिल्ला सदस्य र ०४३ मा जिल्ला सचिव भए। उनले ०४५ मा माठमाडौं जिल्ला सभापति भएपछि लगातार दुई कार्यकाल नेतृत्व सम्हाले। त्यसपछि उनी केन्द्रीय राजनीतिमा प्रवेश गरे।

त्यसैगरी, ०५६ सालमा पोखरामा भएको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भए। ०५८ मा पार्टी फुट्दा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा उपसभापति भए। पुनः ०६४ मा पार्टी एकीकरण हुँदा उनी उपसभापति नै भए। ०६७ को १२ औं महाधिवेशनबाट महामन्त्री जिते। १३ औं महाधिवेशनमा सिंह केन्द्रीय सदस्य भए।

०४८ र ०५१ को चुनाव हारेका उनी ०५३ मा राष्ट्रियसभा सदस्य भए। देउवा र कृष्णप्रसाद भट्टराई सरकारको पालामा उनी मन्त्री भए।

सुशील कोइराला प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्री भए। ०७० मा सिंह संसदीय दलको उपनेता भए। केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्रीको हैसियतमा कांग्रेसतर्फबाट नेतृत्व गरेका थिए।

०७९ को स्थानीय चुनावमा उनकी पत्नी सिर्जना सिंहले काठमाडौंको महानगरको प्रमुखमा उम्मेदवारी दिएकी थिइन्। नेपाल महिला संघ हुँदै राजनीतिमा लागेपनि श्रीमान्को करिअरलाई अगाडि बढाउन उनले सहयोग गर्दै आएकी थिइन्। तर स्वतन्त्र उठेका बालेन शाहले पराजित गरे।

काठमाडौंका उम्मेदवारलाई टिकटको सबै खटनपटन गर्दै आएका सिंह यसपटक आफैं टिकटबाट पूर्णत वञ्चित भए।

बिपी पुत्र शशांक कोइराला
विश्वेश्वरप्रसाद कोइरालाको कान्छो पुत्रको रुपमा जन्म लिन पाउने भाग्यमानी व्यक्ति हुन् डा.शशांक कोइराला। २०१५ सालमा पटना विहारमा उनको जन्म भएको हो। उनी ओप्थ्याल्मोलोजिष्ट (आँखाको डाक्टर) हुन्। नवलपरासी (बर्दघाट सुस्ता पुर्व) क्षेत्र नम्बर-१ बाट चारपटक चुनाव जितेका उनले उक्त क्षेत्रमा आफूले केही नगरे पनि कांग्रेसलाई जनताले भोट हालेको बताउँदै आएका छन्। तर जनताले बुवाप्रतिको आस्था त्याग्न नसक्दा भोट दिइरहेका छन्।

निर्वाचनको समयमासमेत जनताको बीचमा नपुग्नु उनको स्वभाव र शैली हो। अझ चुनावपछि जनताको सुखदुखमा उपस्थिति हुनुपर्ने कुराको उनलाई अत्तोपत्तो हुँदैन। ६७ वर्षीय शशांक आफूलाई सभापतिको दाबेदार बताउँदै आएका थिए। उनी १४औं महाधिवेशनमा पनि सभापतिको दाबेदारका रुपमा आफूलाई चिनाउँथे।

उनी १३ औं महाधिवेशनमा वर्तमान सभापति गगन थापा र उनका ससुरा अर्जुननरसिंह केसीलाई पराजित गर्दै रामचन्द्र पौडेलको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका थिए।

उनी हालको संविधानको विरोध पनि गर्छन्। गणतान्त्रिक संविधान उल्ट्याउन वकालत गर्दै आएका छन्। १४ औं महाधिवेशनमा उनले आफ्नै दाजु शेखरलाई साथ दिएनन्। उनको धोकाले शेखरलाई पनि नराम्रो झट्का लाग्यो। शेखरमाथि परिवार मिलाउन नसकेको आरोप लाग्यो।

गिरिजा पुत्री सुजाता
कोइराला खानदानको उत्तराधिकारीको रुपमा हेरिएकी सुजाता कोइराला बुवा गिरिजाप्रसाद कोइरालाको मृत्युपश्चात् राजनीतिमा सक्रिय हुन सकिनन्। गिरिजाको निधनसँगै उनको क्षमता क्षमतासमेत समाप्त भयो। उनी गिरिजाप्रसाद र सुष्मा कोइरालाकी एकमात्र सन्तान हुन्। कांग्रेसको स्थापनाकालदेखि नै कोइराला परिवारले नेतृत्वदायी भूमिका रहँदै आएको भए पनि गिरिजापछि त्यो लिगेसी तोडिएको छ।

गिरिजाप्रसाद कोइरालाले आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा छोरीलाई एकैपटक परराष्ट्रमन्त्रीको जिम्मेवारी दिए पनि त्यो प्रभावकारी बन्न सकेन। तर पिताको निधनसँगै ओरालो लागेकी उनले २०७९ मा मोरङ २ मा टिकट पाउँदा पनि जित्न सकिनन्। पछिल्लो समय स्वास्थ्यको प्रतिकूलता देखाउँदै उनी राजनीतिक दौड भन्दा समाजसेवामै रमाएकी छिन्। बुवाको नाममा देशैभर विस्तारित जीपी कोइराला फाउण्डेसनलाई सक्रिय बनाउन उनी सक्रिय छिन्। कांग्रेस भित्र सुजाता, शेखर र शशांक आपसमा नमिल्दा कोइराला परिवारको राजनीतिक विरासत यो पुस्ताबाट समाप्त भएको देखिन्छ।

महेन्द्रनारायणको विरासत बिर्सिएका विमलेन्द्र
नेपाली कांग्रेसका संस्थापकमध्ये एक महेन्द्रनारायण निधिका छोरा हुन् – विमलेन्द्र निधि। बुवा काँग्रेसको झापा महाधिवेशनबाट महामन्त्री भएको बेला विमलेन्द्र नेविसंघको अध्यक्ष बनेका थिए। २०१२ सालमा जन्मेका विमलेन्द्र निधि ०२७ सालमै नेविसंघका सदस्य भएका थिए। जतिबेला उनी २१ वर्षका थिए।

०२९ सालमा राराब क्याम्पस जनकपुरको स्ववियु सचिव र धनुषा जिल्ला नेविसंघका सचिव भएका उनी ०३३ सालमा नेविसंघका केन्द्रीय सदस्य भए। विमलेन्द्र आफ्ना बुवालाई नै राजनीतिक गुरु मान्छन्। पटक–पटक गरी उनले कुल सात वर्ष जेल जीवन बिताएका छन्। उनलाई राजनीतिमा स्थापित गर्न बुवाको ठूलो हात छ।

आलोचना गर्नेहरु महेन्द्रनारायणलाई ‘धृतराष्ट्र’ पनि भन्ने गर्थे। उनलाई प्रधानमन्त्री बन्ने अवसर आएको थियो तर पार्टीको आन्तरिक द्वन्द्वका कारण उनी प्रधानमन्त्री हुनबाट वञ्चित भएका थिए। २०५९ मा पार्टी विभाजन हुँदा विमलेन्द्र निधिले देउवालाई साथ दिएका थिए र नेपाली कांग्रेस (प्रजातान्त्रिक) को महामन्त्री भए। २०६३ मा दुई पार्टीबीच एकीकरण हुँदा एकता महाधिवेशनबाट पनि निधि महामन्त्री नै भएका थिए।

उनी दुई पटक सामान्य प्रशासन मन्त्री, एक पटक शिक्षा तथा खेलकुद मन्त्री र एक महिना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भइसकेका छन्। उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत बने। उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोस्रो मन्त्रिपरिषद्मा गृहमन्त्रीको हैसियतमा उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनले नेपालको कार्यवाहक प्रधानमन्त्रीको रूपमा पनि काम गरिसकेका छन्।

देउवाको छत्रछायामा रहेर मधेशमा बाँडिने टिकटको खटनपटन गर्दै आएका निधि यसपटक भने बल्लबल्ल आफ्नो टिकट मात्र सुरक्षित गर्न सफल भएका छन्। बिपीको भारीले शशांक थिचिए । गणेशमानको महानतामा प्रकाशमान हराए । महेन्द्रनारायणको गुण बिमलेन्द्रमा सरेन । गिरिजाले बोके पनि सुजाताले आफ्नो हैसियत उठाउन सकिनन् । अनि लाग्यो कांग्रेसको विरासतमा पूर्णविराम ।

बिपीको भारीले शशांक थिचिए । गणेशमानको महानतामा प्रकाशमान हराए । महेन्द्रनारायणको गुण बिमलेन्द्रमा सरेन । गिरिजाले बोके पनि सुजाताले आफ्नो हैसियत उठाउन सकिनन् । अनि लाग्यो कांग्रेसको विरासतमा पूर्णविराम ।

आरजु र मञ्जुले पाएको धक्का
वि.सं २०१८ सालमा काठमाडौंमा जन्मिएकी आरजु राणाको बाल्यकाल सुखसयलमै बित्यो। उनले भारतको चन्डीगढस्थित पञ्जाव विश्वविद्यालयबाट मनोविज्ञान विषयमा विद्यावारिधि हासिल गरेकी छन्। उनले स्नातकोत्तरको अध्ययन पनि सोही विश्वविद्यालयबाट नै सम्पन्न गरेकी हुन्।

उनले सन् १९९६ मा सेफ मदरहुड नेटवर्क (सुरक्षित मातृत्व) संस्थाको स्थापना गरी महिलाको प्रजनन तथा समग्र स्वास्थ्य तथा महिला अधिकारका विषयमा काम गर्दै आएकी छन्।

त्यसैगरी, उनी संस्थापक रही ‘साथी’ नामको अर्को गैरसरकारी संस्थामार्फत महिला हिंसाविरोधी अभियानमा सक्रिय छन्। काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित राणाले प्रतिनिधिसभामा तीनपटकसम्म प्रतिनिधित्व गरिन्। साथै उनी परराष्ट्रमन्त्रीसमेत बनिन्। क्षमताको हिसाबले अब्बल रहे पनि उनले पिछडिएको वर्गको कोटामार्फत सांसद् मन्त्री बनेकाले आलोचित बनिन्।

नेपाली समाजको भुर्ई तह नबुझेकी उनले संसद्मा बोलेका कुराहरु अपरिपक्क भएको भन्दै पटकपटक आलोचना खेपेकी छन्। उनी जत्तिको व्यक्तित्वले प्रत्यक्ष चुनाव लडेर संसद्मा उपस्थिति जनाउनुपर्ने थियो भन्ने कुरामा कसैको दुईमत थिएन। तर उनले कसैको कुरा सुनिनन्। लामो समय एकछत्र कांग्रेसको सभापति रहेका उनका श्रीमान् शेरबहादुर देउवाको शक्तिका आधारमा उनले पटकपटक समानुपातिक सांसद् बनिरहिन्। त्यतिमात्र हैन पतिको राजनीतिक आडमा अकुत सम्पति आर्जन गरेको आरोप उनीमाथि लाग्ने गरेको छ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणकी श्रीमती हुन मञ्जु खाण। धेरै राजनीतिक परिचय नभए पनि मञ्जुले २०७९ मा खसआर्य समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भएपछि चर्चा पाइन्।। उनका श्रीमान् नक्कली शरणार्थी प्रकरणमा जेल चलान भएर छुटेका व्यक्ति हुन्। मञ्जु पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकी छन्। शरणार्थी प्रकरणको रकम ढिल उनले गरेको आरोप छ। आरजु र मञ्जुको राजनीतिक विरासत श्रीमान्हरुको शक्तिकेन्द्र केन्द्रित रहेको देखिन्छ। दुवैका श्रीमानको राजनीतिक सकिएसँगै उनीहरु गुमनाम बन्नेछन्।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ९ : ०६ बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह