काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले आफूसहितका नेताबारेमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति रोष प्रकट गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् शुक्रबा आफ्नो धारणा सार्वजनिक गरेका उनले बिहीबारको कान्तिपुर अध्यक्ष ओलीले दिएको अन्तर्वार्तामा व्यक्त भनाइप्रति असन्तुष्टि जनाएका हुन्।
उक्त अन्तर्वार्तामा अध्यक्ष ओलीले ‘सुरेन्द्र पाण्डे र योगेशकुमार भट्टराईले यस पटक जित्ने स्थिति नरहेको’ र ‘बिन्दा पाण्डेको कुनै आधार नभएको’ बताएका थिए। अर्कातिर ओलीले काभ्रेली नेता ‘गोकुल बाँस्कोटाले कार्यकर्ता पंक्तिमा विभाजन ल्याउँदा अप्ठ्यारो स्थिति सिर्जना भएको’ टिप्पणी पनि गरेका थिए ।
भट्टराईले अहिलेको मिसन एमालेलाई जिताउने भएकाले यसबारेमा धेरै प्रतिक्रिया नदिने बताउँदै फागुन २१ को चुनावपछि कुरा उठाउने उल्लेख गरेका छन् ।
’फागुन २१ गतेसम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्नु उचित हुँदैन’, उनले भनेका छन्, ‘मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो। नो ईफ, नो बट, म विचलित वा निरास छैन ।’
अध्यक्ष ओलीको अभिव्यक्तिबाट आफू चिन्तित र दुःखी भएको भट्टराईले बताएका छन् । ‘कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लिएको होला भन्ने मलाई विश्वास छैन,’ उनले ओलीलाई जवाफ दिँदै उल्लेख गरेका छन्।













प्रतिक्रिया