टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ? « Khabarhub

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?



काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले त्यतिबेला आन्दोलनको आह्वान गर्नुको केही कारणमध्ये सरकारले गरेको सामाजिक सञ्जाल बन्द पनि थियो ।

सरकारले सामाजिक सञ्जाल बन्द गरेपनि ‘भर्चुअल प्राइभेट नेटवर्क’ र ‘डीएनएस’ लगायतका विभिन्न नयाँ विधि प्रयोग गरेर नयाँ पुस्ताले सामाजिक सञ्जाललाई निरन्तर सञ्चालन पनि गरेको थियो ।

अहिले सामान्यतया सबै आम मान्छेहरूको जीवन सामाजिक सञ्जालबाहिर राखेर कल्पना गर्न नसकिने बन्दै गएको छ । अझ यसमा धेरै सानादेखि ठूला व्यवसायी तथा उद्यमीहरूको उत्पादनदेखि उपभोगसम्मको प्रणाली समेत सामाजिक सञ्जालसँग जोडिएको छ ।

त्यस्तै, विद्यार्थीले अध्ययन गर्नेदेखि उपचारसम्मको काममा पनि सामाजिक सञ्जालको उच्च प्रयोग भएको पाइन्छ । धेरै कुराहरू जसले गर्दा पनि अब मान्छे सामाजिक सञ्जालबाट यथार्थतामा फर्कने होइन, बरु यसमै थप अभ्यस्त हुँदै जाने देखिन्छ ।

तर, नेपाल जस्तो कमजोर राज्यसत्ता भएको ठाउँमा भने सामाजिक सञ्जालमा सेट गरिएको ‘अल्गोरिदम’ले धेरै गम्भीर प्रश्न गर्ने ठाउँ बनाएको छ । आम मानिसहरू अल्गोरिदमको प्रभावमा पर्दा व्यक्तिको जीवन, पारिवारिक र सामाजिक सभ्यतादेखि राज्यको गति र दिशालाई नै गम्भीर संकटमा पुर्‍याउन सक्ने देखिएको छ ।

के हो अल्गोरिदम ?

गुगलको एआई जेमिनीका अनुसार सामाजिक सञ्जालमा अल्गोरिदमको मुख्य काम भनेको मान्छेलाई मोबाइलको स्क्रिनमा सकेसम्म धेरै समयसम्म भुलाइराख्नु हो । यसका लागि अल्गोरिदमले हजारौँ पोस्टहरूबाट छानेर प्रयोगकर्ताले चाहेको कुरा मात्रै देखाउँछ ।

प्रयोगकर्ताले मोबाइलमा रहेको सामाजिक सञ्जाल एप खोलेदेखि बन्द नगर्दासम्म अल्गोरिदमले हरेक गतिविधिलाई रेकर्ड गरिरहेको हुन्छ । यसले मुख्य चार कुरा हेर्ने गरेको जेमिनी बताउँछ ।

जसमा प्रयोगकर्ता एप खोलेपछि के मा रोकियो ? प्रयोगकर्ताले कुनै भिडियो तीन सेकेन्ड मात्रै हेर्‍यो कि पूरा नै हेर्‍यो ? यदि लामो समयसम्म हेर्‍यो भने अल्गोरिदमले बुझ्छ कि यो प्रयोगकर्तालाई यो विषय मनपर्छ ।

साथै, सो पोस्टलाई प्रयोगकर्ताले लाइक, कमेन्ट वा सेयर गर्यो कि गरेन भन्ने कुरालाई पनि अल्गोरिदमले राम्रोसँग रेकर्ड गर्छ ।

त्यस्तै, अल्गोरिदमले व्यक्तिको सम्बन्धलाई पनि ख्याल गरिरहेको हुन्छ । प्रयोगकर्ताले को–को सँग कुराकानी धेरै कुराकानी गर्छ ? कसको प्रोफाइल पहिला हेर्छ त्यो कुरालाई पनि महत्व दिएर उसकै पोस्ट पहिला देखाउने गर्छ ।

त्यतिमात्र नभएर प्रयोगकर्ताले सञ्जालमा प्रवेश गरेपछि के–के कुरा खोज्छ भन्ने कुरालाई पनि उसले राम्रोसँग रेकर्ड गरेर राख्ने गरेको जेमिनी बताउँछ ।

अल्गोरिदमले नै कन्टेन्टलाई पनि भाइरल बनाउँछ

अल्गोरिदमले प्रयोगकर्ताको रूचीलाई रेकर्ड गरेर उसलाई थाहा नै नदिई उसकै अनुकूल सामाजिक सञ्जाल एप प्रयोग गर्नमा प्रेरित त गरिरहेको हुन्छ । साथै, पोस्ट गरिएका सामग्रीलाई भाइरल बनाउने काम पनि अल्गोरिदमले नै गर्छ ।

जेमिनीका अनुसार सामजिक सञ्जाल प्रयोगकर्ताले पोस्ट गरिसकेपछि अल्गोरिदमले सुरुमा केही मान्छेलाई देखाउँछ, त्यसपछि त्यसलाई केही सय मान्छेले हेरे, अनि लाइक कमेन्ट गरे भने त्यसलाई निरन्तर गुणात्मक बनाउँदै प्रयोगकर्ताबीचमा पुर्‍याउने काम गर्छ । जसले गर्दा पोस्टहरू भाइरल हुन पुग्छन् ।

अहिले हामीले सामाजिक सञ्जालमा सस्तो ढङ्गले लेखिएका वा भिडियो बनाइएका वा क्रिया प्रतिक्रिया गरिएका पोस्टहरू पनि बढी हेरिएको, सेयर गरिएको, प्रतिक्रिया वा कमेन्ट गरिएको पाउँछौँ । संगठित रूपमा रहेका व्यक्ति र सामाजिक सञ्जाललाई विशेष हिसाबले प्रयोग गर्ने व्यक्तिहरूको पोस्ट भाइरल बन्नुमा उनीहरूको फलोअर्सको मात्रै नभएर अल्गोरिदम प्रविधिको कारणले पनि हो ।

आम मान्छेहरूले सामाजिक सञ्जालमा आफ्नो स्क्रिनमा आइरहेका के कस्ता सामग्रीलाई अल्गोरिदमले जोड दिएर पठाइरहेको छ भन्ने कुरा भने थाहा भने पाउँदैनन् वा त्यता कम ख्याल गर्छन् ।

तर, ती सामग्रीहरूले भने विस्तारै उनीहरूको भावना र विचारको पक्षलाई प्रभावित गरिरहेको हुन्छ । जसले व्यक्तिगत, सामाजिक र राष्ट्रिय अवस्थामा नियोजित परिवर्तन ल्याउन भूमिका खेल्छ ।

चुनाव र अल्गोरिदम

नेपाली समाज फागुन २१ लक्षित चुनावमय बनेको छ । सोहीअनुसार सामाजिक सञ्जाल पनि चुनावमय बनेका छन् । चुनावको समयमा आम मानिसहरूमा त्यसको प्रभाव पर्नु सकारात्मक कुरा हो । किनकी चुनावसँग मुलुकको भविष्य जोडिएको हुन्छ ।

तर, बिडम्बना अहिले सामाजिक सञ्जालमा चुनावी पक्षधरता कुनै विचार, कार्यक्रम वा घोषणापत्रको आधारमा नभएर ‘नो वा राइट’ अभियान चलिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले कुनै कारण बिना कुनै एक उम्मेदवारको विरोध गरिरहेको छ भने कुनै व्यक्तिले कुनै अर्को उम्मेदवारको बिनातर्क समर्थन गरिरहेको छ ।

जो मान्छेहरू समर्थन वा विरोध मन पराइरहेका छन्, उनीहरूले प्रयोग गर्ने सबै सामाजिक सञ्जाल नै उनीहरू अनुकूल हुँदै गइरहेको छ । जसले गर्दा उनीहरू समर्थन वा विरोधको थप गहिराइमा पुगेका छन् । अर्थात्, अल्गोरिदमले चुनावी सन्दर्भमा नेपाली समाजलाई नयाँ र पुरानो भन्ने भाष्यमा फराकिलो खाडलमा पुर्‍याउँदै लगेको छ ।

अहिलेसम्म मूल प्रवाहमा रहेका राजनीतिक दलसँग उनीहरूले अहिलेसम्म विकास गरेका घोषणापत्र छन्, राजनीतिक वैचारिक दस्तावेजहरू छन् । साथै ती दलहरूसँग मुलुक र समाजलाई हेर्ने विषयमा स्पष्ट राजनैतिक वैचारिक दर्शन, विचार र दृष्टिकोण छ । सोहीका आधारमा मुलुकको वर्तमान व्यवस्था उनीहरूले निर्माण गरेका हुन् । यद्यपी यही व्यवस्थामा पनि उनीहरूको कतिपय असहमति पनि छ ।

तर, अघिल्लो चुनावदेखि चुनावी मैदानमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने विशेषगरी नेपाली कांग्रेसको उदारवादी अर्थराजनीतिक दृष्टिकोणभन्दा भिन्न दृष्टिकोण पेस गरेको छैन ।

एउटा उदाहरणको रूपमा हेर्दा, अझै पछिल्लो अवस्थालाई हेर्दा सो पार्टीमा सहभागी भएका बालेन्द्र साहले केही समयअघि मात्रै संघीय व्यवस्थाको विरुद्धमा स्पष्ट रूपमा आफूलाई उभ्याएका थिए । त्यतिमात्रै होइन, काठमाडौं महानगरको अव्यवस्थित बसोबासी, कबाडी व्यवस्थापन र फूटपाथ व्यापारको व्यवस्थापनको विषयमा धेरै विकल्पहरूमा जान नचाहेर उनले आफ्नै दृष्टिकोणलाई मात्रै निर्ममतापूर्वक लागू गर्ने प्रयत्न गरेका थिए ।

तर, तिनै बालेनले रास्वपाको तर्फबाट चुनावी मैदानमा उत्रिने वित्तिकै एकाएक आफूलाई संघीयताको खरो पक्षधर र मधेसी समुदायको पक्षमा देखाए । तर, बिडम्बना आफैँलाई अल्गोरिदमको लतमा फसाइसकेको ठूलो वर्ग समेतले कुनैपनि राजनीतिक दृष्टिकोण वा व्यवहारहरूप्रति स्वतन्त्र ढङ्गले आलोचनात्मक तर्क पेस गर्न चाहेको देखिँदैन ।

मुलुक चुनावमय बनिरहँदा पुरानो भनिएका कसरी पुराना हुन् ? पुराना भनिएका किन बिग्रिए ? कति बिग्रिए ? र नयाँ के हो ? नयाँको मापदण्ड के हो ? भन्ने जस्ता कुराका बहस हुनुपर्ने हो । तर, बिडम्बना मान्छेले केही घटना र केही पात्रको आधारमा मात्रै नयाँ पुरानोको भास्य बनाइरहेको छ ।

जसले गर्दा विगतमा पटक–पटक अपेक्षा प्राप्त नभएजस्तै, बिग्रेजस्तै यसपटक पनि बिग्रिसकेपछि मात्रै होस् आउने त होइन भन्ने गम्भीर आशंका पैदा भएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ४ : ४० बजे

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च गुहारे रेशम चौधरीले

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक