काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन अवार्ड्समा ‘ग्लोबल स्टाइल आइकन’को सम्मान पाउने भएका छन् । फेसन, कला र ग्लोबल प्रभावको प्रतीक रहेको यो अवार्डले शाहरुखलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष पहिचान दिलाउनेछ ।
भारतीय मिडिया अनुसार दुबई मल फेसन फेस्टिभल २९ जनवरी देखि ३० जनवरीसम्म आयोजना हुँदैछ । दुई दिनसम्म चल्ने यस उत्सवमा फेसन, संस्कृति र ग्लोबल स्टाइलको झलक प्रस्तुत गरिने छ । पहिलो दिनमा मास्टरक्लास मार्फत दर्शकहरूले फेसन र ब्यूटीका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउनेछन् ।
दोस्रो दिनको मुख्य आकर्षण हेडलाइन रनवे शो र अवार्ड समारोह हुनेछ, जहाँ फेसन, ब्यूटी र सांस्कृतिक योगदानमा उत्कृष्टता देखाउने व्यक्तिहरूलाई सम्मान गरिने छ । तीन दशकभन्दा बढीको करियर र १०० भन्दा बढी फिल्मसहित, अभिनेता शाहरुख खानले विश्वव्यापी स्तरमा एक अर्ब डलर भन्दा बढीको बक्स अफिस सफलता हासिल गरेका छन् ।
उनी केवल अभिनेता मात्र होइन, खेलकुद, शिक्षा र उद्यमशीलतामा पनि सक्रिय छन् । उनका प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेन्मेन्टले भारतीय सिनेमामा आधुनिक र नवप्रवर्तनकारी योगदान पुर्याएको छ ।
यसले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा पाएको छ । बलिउडका सुपरस्टार शाहरुखलाई अन्तिमपटक रियादको जोय अवार्ड्समा देखिएको थियो, र अब फेरि उनी आफ्नो ग्लोबल स्टाइलको दमदार उपस्थितिका साथ दुबईमा फेशन र ग्ल्यामरको उत्सवमा उपस्थित हुनेछन् ।













प्रतिक्रिया