कालीगण्डकी लोकमार्ग : लमाए खोला पुल निर्माण आठ वर्षमा पूरा « Khabarhub

कालीगण्डकी लोकमार्ग : लमाए खोला पुल निर्माण आठ वर्षमा पूरा


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पर्वत– उत्तर–दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने लमाएखोला मोटरेबल पुल आठ वर्षपछि सम्पन्न भएको छ ।

फलेवास नगरपालिका– ६ देवीस्थान र फलेवास नगरपालिका– १० कुर्घाबिचमा रहेको लमाए खोलाको पुल निर्माण व्यवसायीको ढिलासुस्ति र गलत डिजाइनका कारण आठ वर्षमा सम्पन्न भएको हो । यो पुल दुई वर्षमा सम्पन्न हुनेगरी २०७४ साल असार २८ गते सम्झौता भई २०७४ साल पुस १९ गतेदेखि निर्माण सुरु भएको थियो ।

२०७६ साल असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाइन र निर्माण व्यवसायीको ढिलासुस्तिका कारण आठवर्षपछि सम्पन्न भएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ ।

पाँच करोड ८९ लाख ८९ हजार २७७ को लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । २५ मिटर लामो र ११ मिटर चौडाइको पुल सम्पन्न भएपछि कालीगण्डकी लोकमार्गमा सिधा यातायात सञ्चालन हुन थालेका छन् ।

पुल सम्पन्न भएसँगै दक्षिण पर्वतका बासिन्दालाई सदरमुकाम कुश्माबजार आउजाउ गर्न मात्र सहज नभएर लोकमार्ग हुँदै बुटबल, भैरहवा, पाल्पा, गुल्मी तथा यस क्षेत्रबाट मुस्ताङ, पर्वत, बागलुङ, म्याग्दीतर्फ आउने यात्रु तथा सवारीसाधनलाई सहज भएको छ । पुल बनेपछि झण्डै एक घण्टा घुमाउरो बाटो हिँड्नुपर्नेमा पाँच मिनेटमै पुग्न सकिने भएको छ ।

करिडोर अन्तर्गत स्याङ्जाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडकको ट्र्याक खुलिसकेको छ, भने पर्वतको सेतीवेणीदेखि लमाएखोला सम्मको सडक कालोपत्रसमेत भइसकेको छ । लमाए खोलामा पुल निर्माण सम्पन्न नहुँदा करिडोरमा सिधा यातायात सञ्चालन हुन सकेका थिएनन् । गत साता पुल निर्माणको सबै काम सम्पन्न भएसँगै सिधा यातायात सञ्चालन हुन थालेको कालीगण्डकी लोकमार्ग आयोजनाका साइड इञ्जिनियर पिपुल गौतमले जानकारी दिए ।

कालीगण्डकी करिडोर आयोजनाका इञ्जिनियरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरेपछि इञ्जिनियरले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । २०७४ सालको अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले दुई वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।

कालीगण्डकी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर गौतमले पुलको नयाँ डिजाइन गरेर पुनर्निर्माण सुरु गरिएकाले ढिलाइ भएको बताए । पुरानै ठाउँलाई संरक्षणको काम गरेर पुल निर्माण गरिएको गौतमले बताए । गौतमका अनुसार गत वर्षको बाढीले स्लाब ढलान गर्न थालेको अवस्थामा बगाइदिएपछि झनै ढिला भएको हो ।

पुल निर्माण सम्पन्न गर्नका लागि छैटौँ पटकसम्म सम्झौताको म्याद थपिएको थियो । २०७४ साल पुसमा काम सुरु गरेका व्यवसायीले २०७६ साल जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको पुल २०८० साल मङ्सिरदेखि काम सुरु भएको थियो ।

यो पुलसँगै सुरु भएको मोदीखोलाको पुल दुई वर्ष अघिनै सम्पन्न भएको थियो । कालीगण्डकी करिडोरको फलेवास–अर्मादी खण्डको १४ किलोमिटर सडक कालोपत्रको काम पनि सुरु भएको छ । यो सम्पन्न भएपछि पर्वतको ५५ किलोमिटर सडक पूरा हुने आयोजनाले जनाएको छ । (रासस)

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ९ : २६ बजे

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर