कास्की– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कास्कीमा चुनावको तयारीका कामलाईसमेत प्राथमिकताका साथ अघि बढाइएको छ । प्रदेश निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन लगायतका निकायहरुले चुनावलाई प्राथमिकतामा राखेर तयारीका कामलाई तीव्रता दिएका हुन् ।
प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि दुई हजार १९० जना कर्मचारी खटाइने भएको छ । यसैगरी जिल्लामा मतपत्रसहित ५२ प्रकारका निर्वाचन सामग्री प्राप्त भएको र ती सामग्री छुट्टाएर राखिसकिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
त्यसैगरी कर्मचारी खटनपटन अन्तिम चरणमा पुगेको र तीन वटै क्षेत्रमा खटिने कर्मचारीको नामावली सार्वजनिक गरिएको न्यौपानेले जानकारी दिए । ‘हामीले निर्वाचनको तयारीका कामलाई अन्तिम रुप दिदैँछौँ । मतपत्र लगायतका सबै सामग्री प्राप्त भएका छन्, मतदानस्थलमा खटिने कर्मचारीको नामावली प्रकाशित गरिएको छ । सोमबारदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि तालिम सुरु हुन्छ ।’
सूचना अधिकारी न्यौपानेले भने, ‘निर्वाचन कार्यालयले तीन समूहमा गरेर सो तालिम सञ्चालन हुने जनाएको छ ।’ निर्वाचनका लागि कर्मचारी खटनपटन निर्देशिका अनुसार ५०० भन्दा कम मतदाता भएको मतदान केन्द्रमा पाँचजना कर्मचारी रहनेछन् । जसमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी रहनेछन् ।
कास्कीमा १५३ मतदानस्थल र ३६३ मतदान केन्द्र रहेका छन् । यसैगरी दुई वटा अस्थायी मतदान केन्द्र गरी कूल ३६५ मतदान केन्द्रमा दुई हजार १९० कर्मचारी खटिनेछन् । यसैगरी मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिनका लागि तीन जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ । निर्वाचन कार्यालयका अनुसार कारागारका कैदीबन्दीका लागि कारागारमा मतदान केन्द्र तोकिएको छ ।
यसैगरी मतदानमा नखटिने कर्मचारीका लागि जिल्ला समन्वय समितिमा रहने मतदान केन्द्रमा कर्मचारीले समानुपातिकतर्फ मत दिनेछन् । जिल्लाका ७२ वटै वडामा फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको सूचना अधिकारी न्यौपानेले बताए ।
‘मत बदर हुन नदिनका लागि जिल्लामा प्रभावकारी रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । यो कार्य फागुन १७ गतेसम्म जारी रहन्छ । विगतका निर्वाचनलाई हेरेर यस पटक मत बदर हुन नदिनका लागि मतदाता शिक्षामा जोड दिएका छौँ ।’ न्यौपानेले भने ।
जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन् । यसैगरी, मतदाता सङ्ख्या तीन लाख आठ हजार ५७२ जना रहेको छ ।













प्रतिक्रिया