‘रुखमा बाँधेर बाटो बनाउने’ बालेनको अभिव्यक्ति आपत्तिजनक, माफी माग्नुपर्ने निर्माण व्यवसायीको अडान « Khabarhub

‘रुखमा बाँधेर बाटो बनाउने’ बालेनको अभिव्यक्ति आपत्तिजनक, माफी माग्नुपर्ने निर्माण व्यवसायीको अडान


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको विरोधमा उत्रिएको छ।

बालेनले धनगढीमा गत फागुन ६ गते आयोजित चुनावी सभामा ‘रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि महासंघ विरोधमा उत्रिएको हो ।

महासंघले उक्त अभिव्यक्ति अमर्यादित, उत्तेजक र निर्माण व्यवसायीहरूको मनोबल गिराउने खालको रहेको भन्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ।

चुनावी सभालाई सम्बोधन गर्दै साहले ‘दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने हाम्रो एजेन्डा हो, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि—बाटो बन्नु पर्छ’ भन्ने विवादित अभिव्यक्ति दिएका थिए।

महासंघले उनको उक्त धारणा निर्वाचन आचारसंहिताविपरीत र सस्तो लोकप्रियताका लागि आएको जनाएको छ ।

महासंघले सोमबार पत्रकार सम्मेलन गरेर देशभरका करिब ३० हजारभन्दा बढी निर्माण व्यवसायीको प्रतिनिधित्व गर्ने संगठनमाथि यस प्रकारको सार्वजनिक अभिव्यक्ति आउनु दुःखद रहेको जनाएको छ ।

महासंघले भौतिक पूर्वाधार विकासमा निर्माण व्यवसायीहरूको महत्वपूर्ण योगदान रहँदै आए पनि समय–समयमा विभिन्न व्यक्तिबाट गरिने आपत्तिजनक टिप्पणीले व्यवसायीहरूको तेजोबध हुने गरेको जनाएको छ।

महासंघले निर्माण कार्यमा ढिलाइ हुनुका वास्तविक कारण ऐन–कानुन, स्रोत सुनिश्चितताको अभाव, न्यून बजेट विनियोजन, त्रुटिपूर्ण डिजाइन तथा नीतिगत जटिलता भएको दाबी गरेको छ।

वि.सं. २०७३/७४ पछि करिब १९ खर्ब रुपैयाँ बराबरका एक लाख हाराहारी आयोजना स्वीकृत भए पनि सरकारको अव्यवहारिक नीति तथा स्रोत अभावका कारण ३० हजारभन्दा बढी आयोजना अलपत्र अवस्थामा रहेको महासंघको भनाइ छ।

महासंघले विदेशी निर्माण कम्पनी संलग्न राष्ट्रिय गौरवका मेलम्ची खानेपानी आयोजना, नागढुंगा सुरुङ मार्ग र काठमाडौं–तराई द्रुतमार्गसमेत समयमै सम्पन्न हुन नसकेको उदाहरण दिँदै समस्या केवल स्वदेशी निर्माण व्यवसायीमा सीमित नभएको स्पष्ट पारेको छ।

महासंघले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ अन्तर्गतको कारबाही प्रावधान संशोधन, लो बिडिङ (अत्यधिक घटी कबुल) प्रथा नियन्त्रण, मासिक भुक्तानी सुनिश्चितता, निर्माण उद्योगसम्बन्धी एकीकृत छाता ऐन तर्जुमा, उपभोक्ता समितिमार्फत हुने निर्माण कार्यको सीमा घटाउने, नियमनकारी निकायको प्रभावकारी भूमिका तथा परियोजनास्थलमा शान्ति–सुरक्षाको प्रत्याभूति दिनुपर्ने लगायत नौ बुँदे माग अघि सारेको छ।

निर्वाचन आयोगलाई समेत ध्यानाकर्षण गराउँदै महासंघले अमर्यादित र उत्तेजक अभिव्यक्तिलाई गम्भीर रूपमा लिन आग्रह गरेको छ।

यसका साथै, निर्वाचनपछि गठन हुने संसद् तथा मन्त्रिपरिषद्को पहिलो बैठकमै पूर्वाधार क्षेत्रको द्रूत विकासका लागि आवश्यक कानुनी सुधार र निर्माण उद्योगमैत्री नीतिगत व्यवस्था गर्न प्रस्ताव गर्न पनि महासंघले भनेको छ ।

निर्माण उद्योग कृषिपछि मुलुकमा सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएको दाबी गर्दै महासंघले करिब २५ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउँदै आएको जनाएको छ।

यस्तो अवस्थामा जिम्मेवार राजनीतिक नेतृत्वबाट आउने अभिव्यक्तिले समग्र उद्योग क्षेत्र र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै महासंघले सार्वजनिक आत्मालोचना र माफीको माग दोहोर्‍याएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ४ : १६ बजे

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको

मंगलबारदेखि नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौं– नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित

काठमाडौं– नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टकोआधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्नुभयो : जेलेन्स्की

एजेन्सी– रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै

सीजी इलेक्ट्रोनिक्सद्वारा राष्ट्रिय स्तरको प्रमोटर मिट काठमाडौंमा सम्पन्न

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गत रहेका एलजी, सीजी, माइडिया, टीसीएल, गोदरेज, क्रम्प्टन, बेको,