काठमाडौं– इनड्राइभले ‘काठमाडौं क्लिन एयर डायलोग आयोजना गर्दै उपत्यकामा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि समन्वित, दिगो र कार्यान्वयनयोग्य उपाय खोज्न सरोकारवालालाई एउटै मंचमा ल्याएको छ ।
कार्यक्रममा सरकारी नेतृत्व, विषय विज्ञहरू, अनुसन्धान संस्था, नागरिक समाजका प्रतिनिधि तथा निजी क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कम्पनीका अुनसार यस संवादको मुख्य उद्देश्य वायु प्रदूषणलाई साझा जिम्मेवारीको विषयका रूपमा स्वीकार गर्दै नीति–समन्वय, तथ्यमा आधारित निर्णय प्रक्रिया र ठोस कार्ययोजनातर्फ अगाडि बढ्नु हो ।
सहभागीहरूले हालको वायु गुणस्तर अवस्था, प्रदूषणका प्रमुख स्रोतहरू, विद्यमान नीति तथा कार्यक्रमहरूको प्रभावकारिता, र कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे गहन तथा परिणाममुखी छलफल गरेका थिए ।
काठमाडौं क्लिन एयर डायलोग चार प्रमुख उद्देश्यहरूमा केन्द्रित थियो:
१. उच्च–स्तरीय सरोकारवाला समन्वय
सरकारी निकाय, विकास साझेदार, अनुसन्धान संस्था तथा निजी क्षेत्रबीच स्पष्ट भूमिका र जिम्मेवारीसहितको प्रभावकारी समन्वय संयन्त्र स्थापना गर्ने ।
२. वर्तमान अवस्थाको समग्र नक्साङ्कन
काठमाडौँ उपत्यकामा वायु गुणस्तरको वर्तमान अवस्था, प्रमुख प्रदूषण स्रोतहरू (जस्तैः यातायात, उद्योग, निर्माण गतिविधि, र घरेलु इन्धन प्रयोग) तथा लागू भएका नीतिहरूको समीक्षा गर्ने ।
३. अवरोधहरूको पहिचान र रणनीतिक समाधान
नीतिगत, संरचनागत र व्यवहारगत अवरोधहरू पहिचान गरी व्यावहारिक, चरणबद्ध र दिगो समाधानहरू प्रस्ताव गर्ने ।
४. निजी क्षेत्रको सक्रिय सहभागिता प्रवद्र्धन
नवप्रवर्तन, प्रविधिको प्रयोग, विद्युतीय तथा दिगो यातायात प्रणालीको विस्तारमार्फत निजी क्षेत्रलाई वायु प्रदूषण न्यूनीकरणका पहलहरूमा सक्रिय रूपमा संलग्न गराउने वातावरण सिर्जना गर्ने ।
प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री माधव चौँलागाईले सरकारले हालसम्म गरेका प्रगतिहरूलाई उल्लेख गर्दै आगामी दिनमा अझ तीव्र, समन्वित र परिणाममुखी कार्यको आवश्यकता औँल्याए । उनले साझा लक्ष्यका लागि विभिन्न सरोकारवालाहरूलाई एउटै मंचमा ल्याउन पहल गरेकोमा इनड्राइभ तथा एएआईको प्रशंसा गरे ।













प्रतिक्रिया