क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता « Khabarhub

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

रास्वपा नेतालाई प्रश्नकै एलर्जी



काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो जान थालेको छ। भर्खरै संसदीय अभ्यास बुझ्दै गरेका नेता सुरु–सुरुमा मिडियासँग मैत्रीपूर्ण रहे पनि आफ्ना अभिव्यक्ति ट्रोल बनेपछि उनीहरू क्यामेराबाट भागिरहेका छन्। निवर्तमान गृहमन्त्री सुधन गुरुङको सम्पत्तिमाथि प्रश्न उठेपछि झनै नेता पत्रकारको प्रश्नबाट भागिरहेका छन्।

सम्पत्ति विवरण सार्वजनिक गरेलगत्तै निवर्तमान गृहमन्त्री गुरुङ विवादमा परेका थिए। हदबन्दीभन्दा धेरै जग्गा, सुन र पैसाले उनलाई सार्वजनिक कठघरामा उभ्याइदिएको थियो। ‘जेन-जी’ आन्दोलनमा पानी बाँड्दै नेता बन्न पुगेका उनीसँग ‘यत्रो सम्पत्तिको स्रोत के हो?’ भनेर प्रश्न तेर्सिएको थियो। भ्रष्टाचार, ठग र अपराधी विरुद्ध निर्मम कारबाही चलाइरहेका पूर्वमन्त्री गुरुङ आफैँ प्रश्नको कठघरामा उभिनुपर्‍यो।

पोखराको फेवातालको जग्गा, सुन र सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको सेयर लगानीका विषयमा उनी मुछिए। आरोप लागेपछि नैतिकताका आधारमा राजीनामा गर्दै मन्त्रीले अनुसन्धानका लागि बाटो प्रशस्त गरिदिनुपर्ने रास्वपाको नीति भए पनि उनले चार दिनसम्म आफूलाई पदमै ‘होल्ड’ गरे।

‘राइट टु रिकल’ जस्तो प्रजातान्त्रिक अवधारणा अपनाएको यस पार्टीले केही दिनअगाडि श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्ति गरिएको भन्दै पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बर्खास्त गर्‍यो। उनी १४ दिनमै मन्त्रालयबाट बाहिरिए। श्रीमती जुनु श्रेष्ठ बीमा बोर्डका लागि शैक्षिक र अनुभवका हिसाबले योग्य भए पनि साहलाई नातावादको आरोप लाग्यो। फलस्वरूप उनी मन्त्रिपरिषद्बाट अलग्गिनुपर्‍यो।

श्रममन्त्रीको बर्खास्ती गरेर रास्वपाले पुराना दलजस्तो होइन भनेर पुष्टि गर्‍यो। साथै, सरकारमा रहेर गलत अभ्यास गरेमा ‘राइट टु रिकल’ का आधारमा जोकसैलाई फिर्ता बोलाउन सकिने चेतावनी दियो। तर पूर्वमन्त्री गुरुङ दीपक भट्ट स्वामित्वको लघु बीमा कम्पनीमा सेयरधनी रहेको तथ्य बाहिरिए पनि प्रधानमन्त्री वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले फिर्ता बोलाउने आँट देखाएनन्।

त्यसैगरी रास्वपाका अन्य नेता पनि गृहमन्त्रीको आरोपलगायत अरू विषयवस्तुमा पनि चुपचाप छन्। मिडियाको प्रश्नबाट भागिरहेका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले अघिल्लो कार्यकालमा प्रतिनिधिसभा सदस्यका हैसियतले तत्कालीन गृहमन्त्रीमाथि भिजिट भिसा प्रकरणमा सचिवालय संलग्न रहेको समाचार आएपछि नैतिकताको नाममा राजीनामा दिनुपर्ने बताएका थिए।

परराष्ट्रमन्त्री शिशिर खनालले अघिल्लो कार्यकालमा प्रतिनिधिसभा सदस्यका हैसियतले तत्कालीन गृहमन्त्रीमाथि भिजिट भिसा प्रकरणमा सचिवालय संलग्न रहेको समाचार आएपछि नैतिकताको नाममा राजीनामा दिनुपर्ने बताएका थिए।

पूर्वगृहमन्त्री रमेश लेखकको सचिवालय सदस्य नै उक्त कार्यमा संलग्न रहेको कुरा बाहिरिएको थियो। खनालले संसद्मा भनेका थिए, ‘कुनै मन्त्रीमाथि नैतिक प्रश्न उठ्यो र राज्यको कुनै सक्षम निकायले अनुसन्धान गर्नुपर्‍यो भने त्यस्ता मन्त्री पदमा रहन पाइँदैन।’

तर उनले आफ्नो पार्टीबाट गृहमन्त्री बनेका गुरुङलाई नैतिकताको आधार सिकाउन बिर्सिए। आरोप लागेपछि पदबाट बाहिरिनुपर्छ भनेर उनले कतै बोलेनन्। त्यस्तै, उनले मन्त्रीको शपथ खाएको भोलिपल्टै पत्रकारलाई प्रश्न गर्नुभन्दा अगाडि आफ्नो अनुमति लिनसमेत आग्रह गरेका थिए। अनुमतिबिना बाइट नदिने भन्दै खनालले विदेशी मिडियालाई भने अनुमतिबिना नै बाइट दिएका थिए।

अर्कोतर्फ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम ‘व्यापारीले नेतालाई कुन स्वार्थमा पैसा दिन्छ?’ भन्दै प्रश्न गर्दै उदाएकी नेता हुन्। उनले पनि गृहमन्त्रीमाथिको आरोपबारे मिडियामा एक शब्द प्रतिक्रिया दिइनन्।

पत्रकार हुँदै कलाकारितामा लागेकी रिमा विश्वकर्मा एक उत्कृष्ट एङ्कर पनि हुन्। मीठो बोली र दमदार प्रस्तुतिका कारण उनी नेपाली जनमनमा बस्न सफल भइन्। आफ्नो क्षेत्रमा अब्बल रिमा नेताका रूपमा भने उनका अभिव्यक्ति कमजोर देखिए। कलाकारिताबाट राजनीतिमा प्रवेश गर्दै गर्दा उनी सुरुमा कुलमान घिसिङको पार्टीमा आबद्ध भइन्।

उज्यालो नेपाल पार्टी रास्वपासँगको गठबन्धनबाट छुट्टिएपछि उनले रास्वपामै रहने निर्णय गरिन्। कुन राजनीतिक दलमा बस्ने भन्ने व्यक्तिको रोजाइ र अधिकार हो। तर रास्वपाको चुनावका क्रममा उनले स्याङ्जालीलाई रास्वपालाई भोट दिएर जिताएमा पार्टी सभापति र बालेन्द्र शाहलाई जिल्ला ल्याउँछु भनेर प्रतिबद्धता जनाइन्। त्यसपछि रिमालाई युट्युबरले छाडेका छैनन्। संसद्बाट निस्कनेबित्तिकै उनलाई ‘प्रधानमन्त्री तथा सभापतिलाई जिल्ला कहिले लैजानुहुन्छ?’ भन्ने प्रश्नले घेरा हाल्ने गरेको छ। पत्रकारका क्यामेराले घेर्दा उनी बोलीमा शालीनता देखाउँदै पन्छिने गरेकी छिन्।

त्यसैगरी समाजसेवाबाट राजनीतिज्ञका रूपमा उदाएकी सांसद आशिका तामाङ पनि प्रश्नबाट भाग्न थालेकी छिन्। राज्यको संरचना नबुझी स्थानीय तहको करसम्बन्धी विषयमा फेसबुकबाटै निर्देशन दिएपछि उनी आलोचनामा परिन्। उनको निर्देशनलाई स्थानीय तहले विज्ञप्ति निकालेरै संघीय सांसदले कार्यक्षेत्र नबुझी हस्तक्षेप गरेको आरोप लगाएका थिए।

आफूले भर्खर राजनीति बुझ्दै गरेको भन्दै आगामी दिनमा सो गल्ती नदोहोर्‍याउने उनले बताइन्। तर त्यसलगत्तै फेरि उनले संविधानको किताब लिएर हिन्दी गीतमा टिकटक बनाइन्। त्यसपछि पुनः ट्रोलको सिकार भइन्।

आफूले भर्खर राजनीति बुझ्दै गरेको भन्दै आगामी दिनमा सो गल्ती नदोहोर्‍याउने उनले बताइन्। तर त्यसलगत्तै फेरि उनले संविधानको किताब लिएर हिन्दी गीतमा टिकटक बनाइन्। त्यसपछि पुनः ट्रोलको सिकार भइन्। त्यसमाथि उनले उक्त भिडियो एआईले बनाएको अभिव्यक्ति दिएपछि युट्युबर मसला खोज्न उनकै पछि धाएका छन्। पत्रकारका प्रश्नले वाक्क बनेकी उनले पत्रकारलाई काम गरेर खानसमेत अनुरोध गरिन्। पत्रकारिता पनि काम हो भन्ने भेउ उनले राख्न सकिनन्।

सरकार बनेको छोटो समयमै मन्त्रीमाथि विभिन्न आरोप लागेपछि झन्डै बहुमतनजिक मत पाएको रास्वपाका नेताको मिडियासँग बोल्ती बन्द भएको छ। सामाजिक सञ्जाल तथा नागरिक समाजले समेत नेताहरू प्रश्नबाट किन भागिरहेका छन् भनेर शंका गरिरहेका छन्।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ९ : ३४ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड

मधेसमा आज ‘राखी’ पर्व

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव