सुकुम्बासी र हुकुमबासी सरकारले पहिचान गरोस् : हरि रोका « Khabarhub

सुकुम्बासी र हुकुमबासी सरकारले पहिचान गरोस् : हरि रोका



काठमाडौं- सरकारले सहरका सुकुम्बासी व्यवस्थापन गर्न लागेको चर्चा छ । आधिकारिक रुपमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सुकुम्बासी व्यवस्थापनको विषयमा सरकारले निर्णय नगरेको जानकारी गराए पनि विभिन्न तथ्यहरु केलाउँदा सरकारले सुकुम्बासी व्यवस्थापन गर्न लागेको देखिन्छ । अर्थराजनीतिक विश्लेषक हरि रोका पनि यो सरकारले चाहेको खण्डमा सुकुम्बासी व्यवस्थापन गर्न सक्ने तर सुरुमा सुकुम्बासी हो कि हुकुमबासी हो त्यसको वर्गीकरण र पहिचान गर्नुपर्ने बताउँछन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै रोकाले शिक्षा, स्वास्थ्य,पूर्वाधार विकास र भूमिसुधारमा लगायत एकीकृत ग्रामिण विकासमा ध्यान दिन आग्रह गरेका छन् । उनी सुकुम्बासीको व्यवस्थापन गर्दा कहाँ व्यवस्थापन गर्ने हो स्थानको पनि पहिचान गरी शिक्षा, स्वास्थ्य रोजगारी लगायतको व्यवस्था हुनुपर्ने माग गर्छन् । रोकाको अनुसार सुकुम्बासीको वर्गीकरण नगरी व्यवस्थापन गर्न नसकिने बताउँदै सरकारले वर्गीकरणमा पहिला ध्यान दिनुपर्ने माग गर्छन् ।

‘सहरमा सुकुम्वासी बस्न निषेध गर्नु भन्दा, गाँउमा बाँदर निषेध गर्ने कानुन ल्याउनुस सरकार । शसस्त्रपुलिस र आर्मी वा अरु को को हुन्छ लगाउनुस र बाँदरलाई गाँउमा आउन निषेध गर्नुस । सुकुम्वासी समस्या आधाले निरुपण हुन्छ।बाँकी शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र भूमिसुधारमा लगाएत एकीकृत ग्रामिण विकासमा ध्यान दिनुहोस् । त्यत्तिकै सहर कब्जा गर्दिने महामहिम?’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

रोकासँग खबरहबले सुकुम्बासी बस्ती हटाउने सन्दर्भलाई लिएर छोटो कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

सरकारले सुकुम्बासी हटाउन लागेको हो कि व्यवस्थापन गर्न लागेको हो, केही जानकारी छ ?

खासमा सरकारले सुकुम्बासी व्यवस्थापन गर्नुपर्छ । सुकुम्बासीलाई हटाउन लागेको हो भन्ने भाष्य जुन प्रकारले पैदा भएको छ, त्यो ठिक छैन ।

यहाँले एउटा सामाजिक सञ्जालमा स्टाटस पनि राख्नुभएको रहेछ । के साँच्चिकै सरकारले सहरका  सुकुम्बासीलाई हटाउन लागेको हो ?

उहाँले अव्यवस्थित बसोबास गर्ने र अकुपाइ गर्ने सार्वजनिक जग्गा खोजेको हो । तर त्यसको समाधान सुकुम्बासी व्यवस्थापन हो । सम्बन्धित मान्छेहरूसँग छलफल र कुराकानी गरेर उनीहरूको वर्गीकरण गर्दै कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर जानुपर्छ ।  उनीहरूको मान्छे हुन् अन्त जग्गा जमिन भएका मान्छे हुन् कि होइनन् ? पहिचान गर्नुपर्छ । दोस्रो- गाउँहरू खाली हुँदैछन्, जो मान्छे वैदेशिक रोजगारीमा जान सक्दैन, जो मान्छे मधेश झर्न सक्दैनन् ती मान्छे गाउँमा बस्न सक्ने अवस्था छैन ।

त्यसले पनि ठूलो समस्या आइपरेको छ । मैले त स्टाटसमा बाँदरको समस्या मात्रै लेखेको छु । आर्थिक सामाजिक सांस्कृतिक अरु धेरै समस्याहरू छन् । आफ्नो कम्युनिटीको मान्छे दाजुभाइ हिँडिसकेपछि त्यहाँ समस्या हुने नै भयो । समाज नै हिँडिसकेपछि उनीहरू त्यहाँ बस्दैनन्। त्यस हिसाबकिताबले पनि समस्या छ । त्यसलाई एकीकृत ग्रामीण विकासको कुरा नगरिकन गाउँबाट मान्छे निस्किने क्रमलाई रोक्न सकिँदैन । सरकारले पनि हचुवा कुरा गर्नु हुँदैन।

के साँच्चिकै सरकारले सुकुम्बासी हटाउन यहाँलाई पहल थालिसकेको सूचना छ यहाँहरुलाई ?

सरकारले सार्वजनिक रुपमा प्रधानमन्त्रीको कार्यालयबाट यसो भने भनेर किटान गरेको देखिन्छ । सरकारले ७० वर्ष पुगेकालाई वृद्धा भत्ता दिने प्रचलन थियो त्यसलाई वर्तमान सरकारले ७५ वर्ष पुर्‍याएको छ । त्यसकारण सरकारले गर्न सक्दैन भन्ने अवस्था छैन । पहिला मेयर हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाभित्रका सुकुम्बासीलाई हटाउन खोजेकै हो । तर हटाउने होइन व्यवस्थापन गर्नतर्फ ध्यान दिऊँ ।

सरकारले सुकुम्बासी व्यवस्थापन कसरी गर्दा ठिक हुन्छ ?

सबैभन्दा पहिले वर्गीकरण गर्नुपर्छ । को सुकुम्बासी हो, को हुकुमबासी हो भनेर छुट्याउनुपर्छ । सुकुम्बासी हो भने उसलाई लगेर कहाँ स्थापित गर्ने हो भन्ने कुरा पनि पहिल्याउनुपर्छ । संविधानप्रदत्त जमिन नभएका मान्छेले जमिन पाउने अधिकार रहनेछ भनेर संविधानमा घोषणा गरेको छ । कम्तिमा सुकुम्बासी नै हो भने घर घडेरीसम्म दिनुपर्छ। सरकारले पहिला वर्गीकरण गरेर सुकुम्बासी हो होइन पहिचान गरेर छानबिन गर्नुपर्छ ।

पहिचानपछि सहरका सुकुम्बासी व्यवस्थापन गर्ने निर्णय ठिक छ हैन ?

सरकारले कानुनसम्मत रूपबाट मानिसहरूलाई घर बसोबास गर्न सक्ने व्यवस्थापन गर्न सक्छ । सुकुम्बासीहरूलाई व्यवस्थापन गरेर कहाँ बस्छन् भनेर निश्चित बिन्दु दिन सक्छ । सरकारले निश्चित क्राइटेरिया तोकेर वर्गीकरण गर्न सक्छ । दोस्रो कुरा सरकारले व्यवस्थापन गर्ने व्यक्तिहरूले लाइभ पेशा रोजाउनुपर्छ उनीहरुले के पेशा गर्न सक्छन् ? उनीहरूले कस्तो पेशा गरेर खाइरहेका छन्, के गरी बसिरहेका छन्, त्यो हेर्नुपर्छ । त्यो पेशाको विकल्प हुन्छ कि हुँदैन भनेर फाइन्डिङ पनि गर्नुपर्छ । गएर खेतीपाती गरेर भात खाउ भनेर भात खाने मात्रै कुरा हुँदैन । त्यसका लागि कसरी प्रबन्ध मिलाउने भन्ने खालको कुरा पनि गर्नुपर्छ। यो सबै कुरा प्लानिङमा गर्ने कुरा हो ।

कहिले नेपालमा कस्ता कस्ता किसिमका सुकुम्बासी छन् ?

यसको इतिहास त निकै लामो छ । यो सामान्य रूपले भन्न सकिने अवस्था छैन । वास्तविक सुकुम्बासी कम छन् भन्ने विभिन्न तथ्याङ्कले देखाउँछ । यही कारणले नै पहिला सुकुम्बासीको पहिचान गरेर सरकारले व्यवस्थापन गरोस् भनेको हो । व्यवस्थापन गर्दा वास्तविक सुकुम्बासी मारमा पर्ने अवस्था छ भने हुकुमबासीले अवसर पाउन सक्ने सम्भावना पनि देखिन्छ । त्यसकारण नै विज्ञ लगायतको टिम बनाएर यसको वर्गीकरण र पहिचान गर्नुपर्छ त्यसपछि मात्रै व्यवस्थापन र स्थान्तरणमा ध्यान दिनुपर्छ ।

सुकुम्बासी व्यवस्थापन गर्न सक्छ तर जुन किसिमले सुकुम्बासी हटाउने भनेर आतंक मच्चाइएको छ । त्यो बिल्कुल हटाउने कुरा होइन व्यवस्थापन गर्ने कुरा हो । साँच्चिकै सुकुम्बासीलाई घरजग्गा जमिन र काहीँ न कहीँ आवासको व्यवस्थापन गर्न सक्छ। अहिले सुकुम्बासीका नाउँमा धेरै किसिमका व्यक्तिहरू देखिएका छन् । ती मैले अघि नै भने सुकुम्बासी हुन् कि हुकुमबासी भएर सुकुम्बासी भनिएको हो। त्यसलाई ख्याल गर्नुपर्छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ४ : ४७ बजे

होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

काठमाडौं- विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ

कलाकार डेविड महर्जनले पाए शिवा–रागिनी पुरस्कार

काठमाडौं– कलाकार डेविड महर्जनलाई शिवा–रागिनी पुरस्कार प्रदान गरिएको छ। शिवाता

२६ दिनमै मन्त्री खुस्किएपछि कलाकारको व्यङ्ग्य : जोगीलाई मन्त्री बनाउने कि ?

काठमाडौं – सम्पत्ति शुद्धिकरणका अनुसन्धनामा तानिएका दीपक भट्टसँग जोडिएकाले नागरिकस्तरको

युक्रेनी हमलापछि रुसी तेल प्रशोधन केन्द्रमा आगलागी

किएभ– युक्रेनको आक्रमणपछि रूसको दक्षिणी तटीय शहर तुआप्सेस्थित तेल प्रशोधन केन्द्रमा

संसद् अधिवेशन बोलाएको भोलिपल्टै स्थगित

काठमाडौं– संसद् अधिवेशन बोलाएको भोलिपल्टै राष्ट्रपति रामचन्द्र पौडेलले फेरि स्थगित