सरकारको आश्वासनमा विश्वस्त छैनन् निर्माण व्यवसायी « Khabarhub

सरकारको आश्वासनमा विश्वस्त छैनन् निर्माण व्यवसायी



काठमाडौँ– मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा निर्माण सामग्रीको मूल्य तीव्र रूपमा बढेको छ । नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रमा यसको असर अझ गहिरो छ ।

सोही कारण निर्माण क्षेत्रको मूल्य समायोजनका लागि निर्माण व्यवसायीले यतिबेला देशैभर शान्तिपूर्ण विरोधका कार्यक्रम जारी राखेका छन् । यसैक्रममा शुक्रबार पूर्वाधार विकास समितिको आयोजनामा भएको कार्यक्रममा व्यवसायीको काममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उनीहरुको माग पूरा गर्ने विश्वास दिलाएका छन् ।

यसकै सेरोफेरोमा रहेर नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश-

पछिल्लो समय सरकारसँग निर्माण व्यवसायीको मुख्य माग के हो ?

मध्यपूर्वको द्वन्द्वका कारण निर्माण सामग्रीको मूल्य अत्यधिक बढेपछि निर्माण व्यवसायी महासंघले विगत दुई महिनादेखि सरकारसँग मूल्य समायोजनको माग गर्दै आएको छ । मन्त्री सकारात्मक भए पनि कर्मचारी तहबाट प्रक्रिया अघि नबढेकाले औपचारिक निर्णय भएको छैन भन्ने हामीले बुझेका छौँ । अहिलेको अवस्थामा एक करोडको काम गर्दा अर्को एक करोडसम्म घाटा हुने अवस्था छ, किनभने डिजेल, बिटुमिन, छड, सिमेन्ट, यातायात खर्च र श्रमिक पारिश्रमिक सबै बढेका छन् ।

व्यवसायीहरूले मन्त्रालयदेखि संघीय अर्थ समिति, पूर्वाधार विकास समिति हुँदै प्रदेश, जिल्ला र पालिकासम्म ज्ञापनपत्र बुझाइसकेका छौँ । साथै शान्तिपूर्ण विरोध, डिजिटल माध्यम र सञ्चार माध्यममार्फत आवाज उठाइरहेका छौँ । यदि समस्या समाधान नभए निर्माण कार्य स्वतः ठप्प हुने र बीसौँ हजार मजदुर प्रभावित हुने अवस्था बन्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँगको छलफल क्रममा हामीले तत्काल मूल्य समायोजन गर्न सम्भव नभए सहज अवस्था नआएसम्म आयोजना रोक्ने निर्णय गर्न सुझाव दिएका छौँ । त्यस अवस्थामा म्याद थप, बीमा र बैंक जमानतजस्ता दायित्व सरकारले व्यहोर्नुपर्ने हाम्रो माग हो । सरकारले इन्धन र यातायात क्षेत्रमा मूल्य समायोजन गरिसकेको छ । तर, निर्माण क्षेत्रको माग हालसम्म सुनुवाइ भएको छैन ।

सरकारले हाम्रो माग अनुसार टेन्डरमा मूल्य समायोजन गरे निर्माण क्षेत्रसँग सम्बन्धित ५० भन्दा बढी उद्योग चलायमान हुन्छन् र अर्थतन्त्रको करिब ३०–३५ प्रतिशत योगदान दिने यस क्षेत्र पनि प्रभावित हुनबाट जोगिन्छ ।

नयाँ आर्थिक वर्ष २०८३–०८४ का लागि सरकार बजेट निर्माणको प्रकृयामा छ, निर्माण क्षेत्रले कस्तो बजेटको अपेच्छा राखेको छ ?

सर्वप्रथम, सरकारले पुँजीगत खर्च बढाउनुपर्‍याे । अहिले सरकारले २० प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ । त्यसलाई कम्तिमा ४० पुर्‍याउनु पर्छ । राज्यले हरेक महिना व्यवसायीलाई भुक्तनी दिनुपर्ने प्रणाली विकास गर्नुपर्छ । यसले व्यवसायी लगायत निर्माणमा जोडिने सबै क्षेत्रलाई चलायमान बनाउँछ ।

विदेशमा १५–१५ दिनमा व्यवसायीले र मजदुरको हकमा त हरेक हप्ता घण्टाको हिसाबले भुक्तानी पाउने र हप्तामा ४० घण्टा मात्रै काम गर्न पाउने नियम छ । यस्तै, निर्माणमा २ सिफ्टमा काम हुने खालको वातावरण बनाउँदै राति काम गर्दा खर्च बढी हुने हुँदा त्यसलाई सरकारले सम्बोधन गरिदियो भने पूर्वाधार विकासका लागि त्यति धेरै समय कुर्नुपर्दैन ।

सरकारको नीति तथा कार्यक्रम त पक्कै हेर्नुभयो होला त्यसमै आधारित रहेर बजेट निर्माण हुन्छ, निर्माण क्षेत्र सरकारबाट कति आशावादी छ ?

सरकाको नीति तथा कार्यक्रम हामीले हेर्दा उस्तै–उस्तै पाएका छौँ । निर्माण क्षेत्रका लागि अहिले आएको सरकारले सबै काम सरल ढंगबाट गर्न खोजिरहेको देखिन्छ । जग्गा, वन, खानेपानी, ढल लगायत पूर्वाधार विकासमा जोडिने सबै क्षेत्रलाई एकद्वार प्राणालीमार्फत लैजान धेरै पहिलेदेखि हामीले पूर्वाधारमैत्री सार्वजनिक खरिद ऐनको माग गर्दै आएका थियौँ । नीति तथा कार्यक्रममा त्यसलाई समेट्न खोजेको देखिन्छ । यो स्वागतयोग्य निर्णय हो ।

सरकारको सय वटा सार्वजनिक ऐन संसोधन गर्ने लिस्टमा सार्वजनिक खरिद ऐन पनि संशोेधन भएको छ । तर, त्यसमा हामी पूर्ण सन्तुष्ट भने छैनौँ । हामीले लो बिडको व्यवस्था सुधारको माग गर्दै आएकोमा सरकराले ३० प्रतिशतमा झारेको छ । त्यसले व्यवसायीको समस्या समाधान हुँदैन । त्यसले गुणस्तरको काम हुन सक्दैन । त्यसका लागि १५ प्रतिशतसम्म झार्न सरकारसँग हाम्रो माग छ । यसका लागि सरकारसँग हामीले कुरा राखेका छौँ । उहाँहरुले सार्वजनिक हुने तयारीमा रहेको प्रतिस्थापन विधययकमा उक्त विषय समेट्ने बताउनुभएको छ ।

सरकारसँग यहाँहरूका थप माग के–के हुन् ?

सरकारको भुक्तानी ढिलाइ, साइट खाली नगराइदिने, मूल्य वृद्धि लगायत समस्याका कारण आयोजना रुग्ण बन्ने तथा निर्माणमा ढिलासुस्ती हुने गरेको छ । अहिले सरकारले एकतिर मूल्य समायोजन नगर्ने अर्कोतर्फ काम गरेन भनेर व्यवसायीलाई तर्साउँदै व्यसायीका बैंक ग्यारेनटी जफत गर्ने, कालोसूचीमा राख्ने जस्तो अमानविय काम सरकारको अधिकारीबाट भइरहेको छ । यसलाई तत्काल रोक्न अनुरोध गर्दछु ।

यस्तै, नदीजन्य खानीजन्य साधनका लागि सरकारले जोन तोकिदिनुपर्छ । क्रसर उद्योगहरुलाई चलायमान बनाइनुपर्छ । नेपालको निर्माण यहीँका व्यवसायीले गर्नेहुँदा देशको अर्थतन्त्र र रोजगारीको ठुलो हिस्सा ओगट्ने यो क्षेत्रका व्यवसायीको क्षमता अभिवृद्धिमा सरकाले ध्यान पुर्‍याउनु पर्छ ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ५ : ४५ बजे

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

जलेश्वर – विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो

नेपालगन्जमा पाँच किलो अफिमसहित पक्राउ

नेपालगञ्ज– सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध  अफिम र

मध्यपूर्व युद्धबीच पनि हज यात्रीको सङ्ख्यामा वृद्धि

मक्का- अमेरिका–इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण गरेपछि मध्यपूर्वमा

सरकारको आश्वासनमा विश्वस्त छैनन् निर्माण व्यवसायी

काठमाडौँ– मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा निर्माण सामग्रीको मूल्य