राजनीतिमा इमान रोज्ने कि अवसरवाद ? « Khabarhub

राजनीतिमा इमान रोज्ने कि अवसरवाद ?



सत्ता, लालच र निजी स्वार्थको लागि इमान त्याग्नेहरुलाई केही भन्नु छैन । तर समाजमा इमान त्याग्ने र बेच्नेहरु मात्रै छैनन्, इमानदारहरु पनि प्रशस्त छन् । जहानिया राणाकालमा महान् सहिदहरु लखन थापा मगर, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीका साथै टङ्कप्रसाद आचार्य, कृष्णप्रसाद कोइराला, दिव्या कोइराला, बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र मंगलादेवी सिंहहरुले संघर्ष नगर्नु भएको भए के नेपालमा जहानिया राणा शासनको अन्त्य हुन सक्थ्यो ?

महान् सहिदहरुले सत्ता र व्यक्तिगत स्वार्थको लागि तत्कालीन सत्तासँग आत्मसमर्पण र अनुचित सम्झौता गर्नु भएको भए के आज उहाँहरु स्मरणयोग्य हुनुहुन्थ्यो होला ? के महान् सहिदहरुले आफ्नो प्राण आहुति दिएर सहादत प्राप्त नगर्नु भएको भए नेपालमा जहानिया राणा शासनको अन्त्य र लोकतन्त्रको बहाली सम्भव थियो ?

बिपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि, दिवानसिं राई, रामनारायण मिश्र, मिनबहादुर गुरुङ, शेष इद्रिस, बलबहादुर राई, भीमबहादुर तामाङ, मंगलादेवी सिंह, सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शैलजा आचार्य, वसन्तकुमार गुरुङ, रामहरि जोशी, केबी गुरुङ, भूविक्रम नेम्वाङ र नोना कोइराला लगायतका नेताहरुले पञ्चायत व्यवस्थाविरुद्ध संघर्षका दौरान लोकतन्त्रको पुनर्बहालीको लागि सिद्धान्तनिष्ठ भएर अनवरत संघर्ष गर्दै जेल र प्रवासमा नबसेर त्यसबेलाको सत्ता र निजी स्वार्थसँग आत्मसमर्पण र सम्झौता गरेको भए नेपालमा के लोकतन्त्रको पुनर्बहाली सम्भव थियो ?

नेपालमा हिंसात्मक द्वन्द्वको समयमा माओवादीसँग कहिल्यै पनि सम्झौता र आत्मसमर्पण नगरेको तथा संघर्ष गरिरहेको कारणले उनीहरुले मारेका र अंगभंग गरेर गम्भीर घाइते बनाएकाहरु हजारौँ हुनुहुन्छ । उहाँहरुले मृत्युवरण गर्न स्वीकार गर्नु भयो तर उनीहरुसँग आत्मसमर्पण र सम्झौता गर्नु भएन ।

सिद्धान्तनिष्ठ राजनीति र सत्ताको राजनीतिबीच सदैव संघर्ष रहन्छ, हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ । सिद्धान्तनिष्ठ बाटोबाट सत्तामा जाने कि सत्ताको लागि आफ्नो सिद्धान्त बेच्ने सजिलो उपाय रोज्ने ? यो रोजाइले मानिसको असली चरित्र र भविष्यको मार्ग प्रदर्शन गर्छ ।

भाषण सिद्धान्तको गर्ने तर सत्तामा जान जो कसैसँग जेसुकै पनि सम्झौता गर्न तयार हुनेहरु प्रशस्त छन् । उनीहरुको दोधारे व्यवहार हेरेर थाहा भइहाल्छ । हिजो पनि धेरै मानिसहरुले तत्कालीन निर्दलीय पञ्चायत व्यवस्थासँग सत्ता र स्वार्थको लागि आत्मसमर्पण र सम्झौता गरेकै हुन् । सत्ता र निजी स्वार्थका लागि राज्य र संगठनको सत्तासँग आत्मसमर्पण गर्ने मानिसहरुको कमी कहिल्यै पनि हुँदैन । तर तिनीहरु कहिल्यै पनि कसैको पनि हितैषी हुँदैनन् र समयसँगै परिवर्तन हुँदै बिलाउँदै जान्छन् ।

०४६ अगाडि मात्रै होइन, ०५९ र ०६१ पछि पनि कठिन र असहज परिस्थितिमा धेरै मानिसहरु दुलोभित्र लुकेको दृष्टान्तहरु जीवितै छन् । स्थिति सहज भए पछि तिनै मानिसहरु नै ठूलो स्वरले लाजै नमानी कराउँदै आएको देख्ने मानिसहरु पनि प्रशस्त छन् ।

सत्ता राज्यको होस् वा संगठनको सत्ता होस्, त्यो सत्तालाई उनै लोभी, स्वार्थी र आत्मसमर्पण गर्नेहरुको जत्थाले नै वरिपरिबाट घेरेर चाँडै सिध्याएको प्रत्यक्ष उदाहरण नेपालमा प्रशस्त पढ्न र देख्न सकिन्छ । तिनीहरुले पहिले प्रशंसा र चाकडीको पहाड बनाउँछन् । त्यही पहाडमुनि षडयन्त्रको गहिरो र साँघुरो प्रशस्त खाल्टोहरु खनिरहन्छन् । कुन बेला कसलाई चलाखीपूर्वक कुन खाल्टोमा खसाल्छन्, थाहै हुँदैन ।

लोभी, स्वार्थी र आत्मसमर्पणवादीहरु कसैका पनि हितैषी हुँदैनन् । तिनीहरुले जसलाई जुन सुकै बेला पनि त्याग्न र धोका दिन सक्छन् र जसलाई पनि पतन गराउनको लागि सहयोगी र उत्प्रेरकको रुपमा जुन सुकै बेला पनि दुरुपयोग हुन सक्छन् । तिनीहरुका क्रियाकलापको भविष्यवाणी तिनीहरु स्वयंले पनि गर्न सक्दैनन् । झट्ट बाहिरबाट हेर्दा तिनीहरु सबैको प्रिय भएजस्तो चिप्लो, सहज र सस्तो देखिन्छन्, तर यथार्थमा तिनीहरु आफ्नो निजी स्वार्थको बाहेक कसैको पनि हितैषी हुँदैनन् ।

बिपी कोइरालालाई धोखा दिएर धेरै मान्छेहरु पञ्चायतको जयजयकार गरे तर उहाँले संघर्षको बाटो रोज्नुभयो । जीवनभर दुःख पाउनुभयो तर पञ्चायतसँग सम्झौता र आत्मसमर्पण गर्नु भएन । यसैले बिपी आज हरेक लोकतन्त्रवादीले स्मरण गर्ने नाम हुनु भयो । तत्कालीन पञ्चायतमा गएकाहरु कता हराए, पत्तै छैन ।

सत्ता र स्वभिमानबीच सदैव संघर्ष हुन्छ । निजी स्वार्थ र आत्मसम्मानबीच पनि सदैव संघर्ष हुन्छ । यस प्रकारको मनोवैज्ञानिक, मानसिक र व्यवहारिक संघर्षमा जसले आत्मसम्मान र स्वाभिमानलाई जोगाउनसक्छ । उही नै भविष्यसम्म स्मरणयोग्य हुन्छ । जसले जोगाउन सक्दैन, उसलाई या त सत्ताको रापले खरानी बनाइदिन्छ, या त सत्ताको मातले अन्धो वा दुर्व्यसनी बनाइदिन्छ ।

सोच्छु, बिपीले तत्कालीन सत्तासँग सम्झौता र आत्मसमर्पण गरेको भए प्रधानमन्त्री रहिरहनु हुन्थ्यो होला । तर, सम्झौता गर्नुभएन । गणेशमान सिंहले प्रधानमन्त्रीको पद त्याग गर्नुभयो । धेरै नेताहरुलाई तत्कालीन पञ्चायतले प्रधानमन्त्री र मन्त्री पदको लागि बोलाएको थियो । तर, उहाँहरुले तत्कालीन पञ्चायतसँग सम्झौता र आत्मसमर्पण गरेर जानु भएन ।

त्यसैले उहाँहरु नेता बन्नुभयो । उहाँहरुमध्ये धेरैले जीवनमा आत्मसम्मान र स्वाभिमान बाहेक सत्ताको नाममा केही पाउनुभएन । यी यस्ता अदृश्य ताकत हुन्, जसले संसारलाई सकारात्मक रुपले बदल्न प्रेरणा दिन्छ । तर, आज केही मानिसहरु आफ्नो, आफ्नो परिवार र नातागोताको तुच्छ स्वार्थको लागि जोसँग, जे पनि, जति बेला पनि र जति पटक पनि सम्झौता र आत्मसमर्पण गर्न सक्ने रहेछन् र जसलाई पनि जुनसुकै बेला पनि धोखा दिन सक्ने रहेछन् ।

तिनीहरुलाई स्वयंसँग लाज पनि लाग्छ कि लाग्दैन ? तिनीहरुलाई आफैसँग शरम पनि लाग्छ कि लाग्दैन ? छेपारोभन्दा पनि धेरै चाँडो र अनेक पटक रङ बदल्नसक्ने कस्ता जीवहरु आएछन् भनेर छेपारो पनि छक्क परेको होला । इमान बेच्नेहरुले जसलाई पनि जतिबेला पनि जुनसुकै ठाउँमा क्षणभरमा बेच्न सक्छन् । समाजले यो सबै चर्तिकलाहरु हेररहेको छ र यसको उचित जवाफ समाजले नै उचित समयमा दिनेछ ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ७ : ११ बजे

 ‘स्टार किड’लाई फिल्म पाउन सहज, हिट बनाउन सकस

काठमाडौं – स्टार किडलाई मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न कति सहज

लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउसे

कस्तो रहला आजको मौसम ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राजनीतिमा इमान रोज्ने कि अवसरवाद ?

सत्ता, लालच र निजी स्वार्थको लागि इमान त्याग्नेहरुलाई केही भन्नु

म्याग्दीको मिस्त्रीखोलामा माछा पाइन छाडे

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ भएर बग्ने मिस्त्रीखोलामा माछा पाइन