सूर्यविनायक–धुलिखेल सडक विस्तारको अवस्था (तस्बिर) « Khabarhub

सूर्यविनायक–धुलिखेल सडक विस्तारको अवस्था (तस्बिर)


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बनेपा– अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको काम अझै पूर्ण हुन सकेको छैन । तीन वर्षअघि सुरु गरिएको १६ किलोमिटर लामो यस सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य अहिले पनि जारी रहेकाले दैनिक यात्रु, स्थानीय बासिन्दा तथा व्यवसायीले धूलो, हिलो र जामको समस्या खेपिरहेका छन् ।

भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म फैलिएको यो सडक खण्डलाई दुई प्याकेजमा विभाजन गरेर निर्माण भइरहेको छ । पहिलो खण्ड सूर्यविनायक–साँगा र दोस्रो खण्ड साँगा–धुलिखेल रहेको छ । आयोजनाअनुसार हालसम्म समग्र भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ । केही महिनाअघि यो प्रगति ६७ प्रतिशत रहेको थियो भने त्यसअघि ५० प्रतिशत हाराहारीमा मात्रै सीमित थियो ।

आयोजनाले मुख्य सडक, सर्भिस लेन, नाला, पुल, कल्भर्ट तथा अण्डरपास निर्माणको कामलाई तीव्रता दिएको जनाएको छ । विशेषगरी साँगा क्षेत्रमा निर्माण भइरहेको अण्डरपास अहिले आयोजनाको मुख्य आकर्षण बनेको छ । उक्त अण्डरपास निर्माण सम्पन्न भएपछि पूर्वी नाकाबाट काठमाडौं प्रवेश गर्ने सवारीको चाप व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ ।

यद्यपि निर्माणको गति भने अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि, वर्षायाममा काम प्रभावित हुनु, विद्युत् पोल तथा खानेपानी पाइप सार्ने कार्यमा ढिलाइ हुनुजस्ता कारणले आयोजना पटक–पटक प्रभावित हुँदै आएको छ । आयोजनाले सुरुआती सम्झौताअनुसार ३६ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर निर्धारित समयभित्र काम पूरा हुने सम्भावना न्यून देखिएको छ ।

हाल सूर्यविनायक, जगाती, ठिमी, नलिञ्चोक, साँगा र बनेपा आसपासका क्षेत्रमा सडक विस्तारको काम सँगसँगै कालोपत्रे, ढल तथा सर्भिस लेन निर्माण भइरहेको छ । केही स्थानमा कालोपत्रे सम्पन्न भइसकेकाले सडक चिटिक्क देखिन थालेको छ भने धेरै स्थानमा सडक भत्काएर छाडिएका कारण यात्रुले सास्ती खेपिरहेका छन् । धूलोका कारण स्थानीय बासिन्दामा स्वास्थ्य समस्या बढेको गुनासो समेत आउने गरेको छ । वर्षा हुँदा हिलो र घाम लाग्दा धूलोको समस्या चरम हुने गरेको स्थानीय बताउँछन् ।

सडक विस्तार सम्पन्न भएपछि काठमाडौं उपत्यका र पूर्वी नेपालबीचको यातायात सहज हुने विश्वास गरिएको छ । दैनिक हजारौँ सवारी साधन गुड्ने यो सडक खण्ड व्यापार, पर्यटन तथा पूर्वी जिल्लासँगको सम्पर्कका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । विस्तारपछि सवारी चाप कम हुनुका साथै यात्रा समय छोटिने अपेक्षा गरिएको छ ।

हाल आयोजनाले आगामी महिनाभित्र थप केही खण्डमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ । तर निर्माणको सुस्त गति, ट्राफिक व्यवस्थापनको चुनौती र बजेट व्यवस्थापनका कारण सर्वसाधारणले अझै केही समय सास्ती खेप्नुपर्ने अवस्था देखिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ९ : १७ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ