टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज « Khabarhub

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा झन् ‘एकताबद्ध’ र ‘बलियो’ भएको दाबी गरेका छन् । विश्वकप अन्तर्गत मंगलबार ह्युस्टनमा उज्वेकिस्तानविरुद्ध हुन गइरहेको महत्त्वपूर्ण खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

समूह चरणको पहिलो खेलमा कंगो प्रजातान्त्रिक गणतन्त्रसँग १-१ को बराबरीमा रोकिएपछि पोर्चुगली टोलीको व्यापक आलोचना भइरहेको छ । धेरै स्टार खेलाडीले भरिएको पोर्चुगललाई प्रतियोगिताको बलियो दाबेदार मानिए पनि पहिलो खेलको नतिजाले टोली र ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोमाथि दबाब बढाएको छ ।

पहिलो खेलपछि मिडफिल्डर जोआओ नेभेसले रोनाल्डोबारे दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा ठूलै विवाद सिर्जना भएको थियो । नेभेसले रोनाल्डो “टोलीलाई मद्दत गर्न आएका अन्य सामान्य खेलाडी जस्तै” भएको बताएका थिए, जसलाई प्रसंगभन्दा बाहिर लगेर पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोप्रति अपमान गरिएको अर्थमा व्याख्या गरियो ।

तर, सोमबार ह्युस्टनमा आयोजित प्रि-मैच पत्रकार सम्मेलनमा प्रशिक्षक मार्टिनेजले टोलीभित्र कुनै विवाद नरहेको स्पष्ट पारे । “हामी पहिलेभन्दा बढी एकताबद्ध र बलियो छौँ,” मार्टिनेजले भने, “हामी विश्वकप खेलिरहेका छौँ, त्यसैले बाहिर अनेकौँ चर्चा र तनाव हुनु स्वाभाविकै हो, यो खेलकै एउटा हिस्सा हो । हाम्रो सम्पूर्ण ध्यान टोलीमा केन्द्रित छ । हामी यहाँ आउनुअघि भन्दा अहिले बढी एकजुट छौँ, टोलीभित्र कुनै तनाव छैन ।”

मार्टिनेजले कप्तान रोनाल्डोको लगातार बचाउ गर्दै आएका छन् । छैटौँ पटक विश्वकप खेलिरहेका रोनाल्डोले छनोट चरणमा ५ गोल गरे पनि सन् २०२५ को अक्टोबरयता पोर्चुगलका लागि गोल गर्न सकेका छैनन् । रोनाल्डोको बचाउ गर्दै प्रशिक्षकले थपे, “एक कप्तानका रूपमा उनी उदाहरण हुन् । उनले आफ्नो लामो अनुभवसहित कप्तानकै रूपमा प्रतिक्रिया दिएका छन् । उनी टोलीका लागि योगदान दिन चाहन्छन् र हाम्रा लागि रोल मोडल हुन् ।” रोनाल्डोको मुभमेन्टले मैदानमा अन्य खेलाडीका लागि ठाउँ बनाइदिने भन्दै तथ्याङ्कले पनि उनलाई साथ दिएको मार्टिनेजले बताए ।

यसैगरी, फुलब्याक जोआओ कान्सेलोले कंगो डीआरविरुद्धको खेलमा टोलीको प्रदर्शनमा गुणस्तरको कमी रहेको स्वीकार गरेका छन् । “हामीले गोलका अवसरहरू सिर्जना गर्न सकेनौँ, जुन हाम्रो जस्तो टोलीका लागि सामान्य होइन,” कान्सेलोले भने, “हामीसँग विश्वकै उत्कृष्ट खेलाडीहरू छन् र त्यो हामीले मैदानमा प्रमाणित गर्नुपर्छ । भोलिको खेलमा हाम्रा लागि जित मात्रै विकल्प हो, अब गल्ती गर्ने कुनै ठाउँ छैन ।”

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ९ : ४५ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक