पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग « Khabarhub

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित ६० लाख रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गरेको छ । 

स्थानीयलाई आत्मनिर्भर बनाउँदै कृषिमा आधारित आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित गाउँपालिकाले २१ वटा कृषि फर्मलाई अनुदान सहयोग प्रदान गरेको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार कार्यक्रमका लागि गाउँपालिकाबाट ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने कृषकहरूको तर्फबाट पनि बराबरको ३० लाख रुपैयाँ लागत साझेदारी गरिएको छ । यसरी कूल ६० लाख रुपैयाँको लगानीमा कार्यक्रम कार्यान्वयन गरिएको उनले जानकारी दिए ।

महिला विकास बोर्डअन्तर्गत सञ्चालित ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत वडा नं ४, ५ र ६ का किसानलाई पशुपालनमा अनुदान सहयोग उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । 

उनका अनुसार यसअघि सोही कार्यक्रममार्फत वडा नं १, २ र ३ मा उन्नत जातका गाई वितरण गरिएको थियो । चालु आर्थिक वर्षमा बाँकी वडामा कार्यक्रम विस्तार गरिएको हो ।

कार्यक्रमअन्तर्गत २० वटा बङ्गुरपालन फर्म र एक वटा बाख्रापालन फर्मलाई सहयोग गरिएको छ । किसानको ५० प्रतिशत लागत साझेदारी रहने यस योजनामा खोर निर्माण, पाठापाठी (बङ्गुर तथा बाख्रा) खरिद र आवश्यक प्राविधिक सहयोगमा गाउँपालिकाले सहजीकरण गरेको जनाएको छ ।

उपाध्यक्ष राईका अनुसार यस कार्यक्रमले विशेषगरी ग्रामीण क्षेत्रमा आयआर्जनका नयाँ अवसर सिर्जना गर्नुका साथै महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । ‘हामीले महिलालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरेका छौँ’, उनले भने, “यसले घरपरिवारको आर्थिक अवस्था सुधार्न सहयोग गर्नेछ ।’

गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकालाई दूध तथा मासुमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताए । 

‘हामीले दूध र मासुमा आत्मनिर्भर गाउँपालिका निर्माणको लक्ष्य राखेका छौँ’, अध्यक्ष राईले भने, ‘गत वर्ष गाई वितरण गरेपछि यस वर्ष बङ्गुर र बाख्रापालन कार्यक्रम विस्तार गरेका छौँ । अहिले उत्पादन भएको दूध भोजपुर सदरमुकामसम्म पुग्न थालेको छ ।’

गाउँपालिकाको सहयोगमा आधुनिक खोर निर्माण गरी व्यावसायिक बङ्गुरपालनमा जुटेका स्थानीय वर्तामाया राईले अनुदानले उद्यम सुरु गर्न सहज भएको बताइन् । उनले धरानबाट १० वटा उन्नत जातका बङ्गुर ल्याएर व्यवसाय सुरु गरेकी छन् ।

यस्तै, लिलामाया राईले महिलामुखी कार्यक्रम प्रभावकारी भएको बताउँदै घरायसी काममा सीमित महिलाहरूलाई आयआर्जनको अवसर प्राप्त भएको बताइन् ।

गाउँपालिकाको लागत साझेदारीमा आधुनिक खोर निर्माण गरेर व्यावसायिक रुपमा बंगुरपालन थालेको स्थानीयवासी अनिता राईले बताइन् ।

आफ्नो घरमा धरानबाट ल्याएका १३ वटा हेमसार बङ्गुर रहेको उनले जानकारी दिइन्  । राम्रो ढङ्गले फस्टाएको खण्डमा एउटा बङ्गुर रु ५० हजारदेखि ६० हजारसम्ममा बिक्री हुने उनको भनाइ छ ।

स्थानीय कृषक जयमारानी राईका अनुसार अनुदान सहयोगपछि पशुपालनप्रति आकर्षण बढेको छ । ‘प्रारम्भिक लगानीमा सहयोग पाएपछि व्यावसायिक रूपमा अघि बढ्न सजिलो भयो’, उनले भनिन् । 

गाउँपालिकाले कृषिलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्यसहित यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । पशुपालनमार्फत आय वृद्धि, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले थप योजना ल्याइने गाउँपालिकाको भनाइ छ ।

यस प्रकारका सहुलियत र साझेदारीमा आधारित कार्यक्रमले स्थानीयस्तरमै उत्पादन र आम्दानी बढाउँदै आत्मनिर्भर गाउँ निर्माणतर्फ महत्त्वपूर्ण योगदान पुर्‍याउने स्थानीय जानकारहरूको भनाइ छ । रासस
 

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ११ : ४८ बजे

रास्वपा सह-महामन्त्रीमा यज्ञमणि न्यौपानेको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदका लागि अधिवक्ता यज्ञमणि

रास्वपामा रवि-बालेन भागबन्डाको विरोध, महाधिवेशन प्रतिनिधिले भने : कांग्रेस-एमालेकै रोग देखियो, विद्रोह गर्छौँ

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिँदै गएपछि प्रतिनिधिहरूको आक्रोश बढ्न

सहमहामन्त्री उठ्ने रमेश प्रसाईँको घोषणा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री उठ्ने घोषणा रमेश प्रसाईँले गरेका

द्वन्द्वप्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण

काठमाडौं– वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई

रास्वपा महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि भोलि मतदान

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार