रवि-बालेनकै गाडी ब्रेक लागेर दुई दिनदेखि चितवनमा रोकिएपछि… « Khabarhub

रवि-बालेनकै गाडी ब्रेक लागेर दुई दिनदेखि चितवनमा रोकिएपछि…

‘गर्मी थेग्छौँ, नीति नमिच’



काठमाडौं – देविका राना गुल्मीबाट चितवनको गर्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व चुन्नका लागि उपस्थित भइन्। देविकालाई चितवनको प्रचण्ड गर्मीमा दुई दिनसम्मको बसाइ सहजै लागे पनि थप दुई दिन बस्नुपरे उनीसँग खर्च छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रतिनिधिले बस्ने व्यवस्था आफैं गर्नुपरेको छ । तीन दिनको महाधिवेशन भनेर आएका प्रतिनिधिहरूलाई थप दुई दिन लम्बिए खर्चको अभाव हुने स्थिति छ।

झापाबाट गएका विरोध सुवेदीसँग खर्चको अभाव छैन, तर उनीसँग फर्केर व्यवसायमा लाग्नुपर्ने कारण समय कम छ। सबै प्रक्रिया पूरा भएर डाकिएको भनिएको महाधिवेशन निर्धारित समयमै तालिकानुसार काम नभएपछि प्रतिनिधिहरू निराश भएका देखिन्छन्।

काभ्रेबाट महाधिवेशनका लागि चितवन पुगेका मधुकुमार चौलागाईं पनि निर्धारित समयमा पार्टीको महाधिवेशन सम्पन्न नहुँदा पुरानै दलको हालत भएको बताउँछन्। उनी केन्द्रीय कार्यसमितिले अपर्याप्त तयारी गर्दा प्रतिनिधिहरूलाई तमाम समस्या उत्पन्न भएको उल्लेख गर्छन्।

‘प्रतिनिधि भएर साथीहरू देशभरबाट आउनुभएको छ। यहाँ आएर हेर्दा नाम छैन। कस्तो तनावको स्थिति भयो। यो त पुरानो दलभन्दा खराब देखियो नि। पहिलो महाधिवेशन गर्न अहिलेको केन्द्र समितिले ढंग पुर्‍याएको छैन,’ चौलागाईंले खबरहबसँगको कुराकानीमा भने, पहिले नै प्रतिनिधिहरूलाई जानकारी दिएको भए दुःख गरेर आउनुहुने थिएन। कतिपयलाई समूहगत रूपमा समेटिएकै छैन।’

महाधिवेशन प्रतिनिधिको विवाद नमिलाई बन्दसत्र सुरू गर्न नहुने उनको तर्क छ। महाधिवेशन प्रतिनिधिहरूलाई कार्ड बाँडिएको छ, तर बन्दसत्रमा ढिलाइ भएको छ। व्यवस्थापकीय पाटो कमजोर देखिएको प्रतिनिधि नै बताउँछन् ।

व्यवस्थापकीय पाटो कमजोर देखिएकाले पहिलो महाधिवेशनबाट पार्टीले धेरै कुरा सिक्न बाँकी रहेको आयोजक जिल्ला चितवनका सांसद हरि ढकाल बताउँछन्। ढकालका अनुसार तयारी यसअघि नै पूरा गरिए पनि केही त्रुटि भएकाले सच्याउन सोमबार र मंगलबारको समय लागेको हो।

‘सोमबार पुनः प्रतिनिधिहरूको विषयमा व्यवस्थापकीय काम सच्याउने काम भयो। मंगलबार पनि पाँच–छ घण्टादेखि अहिलेसम्म त्यही काममा दौडिरहेका छौँ। आयोजक जिल्ला चितवनको आयोजक समितिको तर्फबाट म माफी माग्छु,’ ढकालले भने, ‘प्रचण्ड गर्मीमा पनि हामीलाई झेलिदिनुभएको छ। यो नै हाम्रो लागि ठूलो साहस हो। प्राविधिक त्रुटिहरू भएका छन्। केन्द्रीय कार्यसमिति र सचिवालयले सच्याएर जानेछ। उहाँहरूले गल्ती भएको स्वीकार्नु भएको छ।’

दुई दिनसम्म कार्यतालिकाभन्दा पाखा लागेर बालेन–रविको गाडी रोकिएकोमा माधवकुमार गुनासो गर्छन्।

‘गाडी रोकिँदैन भनेर अस्तिको दिन प्रधानमन्त्रीज्यूले भाषणमा भन्नुभयो, तर त्यसको भोलिपल्टै पार्टीको गाडीमा ब्रेक लागेको देखिन्छ। उहाँहरू जहाँ भए पनि ब्रेक लागेको यो गाडीलाई गुडाएर सम्बन्धित ठाउँमा दुर्घटनारहित अवस्थामा पुर्‍याइदिनुहोस्,’ उनी भन्छन्, ‘हामी पर्खिन तयार छौँ, तर विधि, प्रक्रिया र नीतिभन्दा बढ्नु हुँदैन भन्ने हाम्रो सुझाव हो। यस्तरी समस्या थियो भने पार्टी सभापति अथवा वरिष्ठ नेताले एकचोटि सूचना गरिदिनुभएको भए पनि नजिक हुने साथीहरूले आ–आफ्नो व्यवस्था गर्नुहुन्थ्यो। हामीलाई त खर्च अभाव हुने स्थिति आयो।’

आइतबार उद्टघान भएको बन्दसत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको गाडीमा अहिले ब्रेक नभएको बताएका थिए। उनले सरकार र पार्टी ब्रेक नलगाई सम्बन्धित ठाउँमा पुग्ने उल्लेख गरेका थिए।

सरकारको कामकारबाहीमाथि एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले प्रश्न उठाउँदै गाडीमा एक्सिलरेटर र ब्रेक सँगै नराख्दा दुर्घटना भएजस्तै पार्टी र सरकारमा पनि हुन सक्ने कारण दुवै राख्न सुझाव दिँदा बालेनले यस्तो प्रतिक्रिया दिएका हुन्।

बालेनको कुरालाई पार्टी सभापति रवि लामिछानेले पनि समर्थन गर्दै सरकार र पार्टीको कामकारबाहीमा ब्रेक नलाग्ने उल्लेख गरेका थिए।

कमजोरी स्वीकार्दै धमाधम उम्मेदवारी

प्रवक्ता मनिष झा, नेता गणेश पराजुली, सहप्रवक्ता प्रतिभा रावल, रमेश प्रसाई, महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतका नेताहरूले महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले सम्बन्धित क्षेत्रमा पर्न गएको असुविधाप्रति माफी मागेका छन्। 

सञ्चार डेस्कमा आएर माफी माग्दै धमाधम उम्मेदवारी घोषणा गरिसकेका छन्। रावल र बुर्लाकोटीबाहेक अरूले आफ्नो पद सुरक्षित राख्ने तयारी थालेको देखिन्छ।

आयोजक समितिको हैसियतले महाधिवेशन प्रतिनिधि र सञ्चारमाध्यमसँग माफी माग्दै उनीहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहँदा बन्दसत्र सुरु भएको छैन।

नेतृ समीक्षा बास्कोटा बन्दसत्रपछिको के पदमा उठ्दा उपयुक्त हुने विषयमा आफैं निर्णयमा पुग्ने बताउँछिन्। हलमा सबैजना प्रतिनिधि उपस्थित भइसकेकाले बन्दसत्र सुरु भएको छ। उनी भन्छिन्, ‘ढिलो भएको विषयमा प्रतिनिधिहरूलाई सभापति र वरिष्ठ नेताले प्रकाश पारिदिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ। बाँकी प्रक्रिया कसरी गर्ने भन्ने यहाँबाट पनि केही आउला।’

सहमन्त्री विपिन आचार्यले हिजो धमाधम उम्मेदवारी घोषणा हुन लागेपछि बन्दसत्रअघि उम्मेदवारी घोषणा गर्नु नहुने उल्लेख गरेका थिए।

प्रतिनिधि विवादसँगै नेतृत्वका अन्य विषयमा सर्वसम्मतिको प्रक्रियामा पनि ढिलाइ भएको देखिन्छ। ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन गरेर पदाधिकारीमा सर्वसम्मत रूपमा चयन गर्ने भनिएको रास्वपामा त्यो अवस्था अहिले देखिँदैन।

राष्ट्रिय स्वतन्त्र पार्टीमा समूहगत प्रवेश गर्ने व्यक्तिहरूलाई व्यवस्थापन गर्नुपर्ने चुनौतीका कारण पनि बन्दसत्र लगायतका कार्यतालिका प्रभावित भएका हुन्।

अहिलेसम्म महामन्त्री, सहमन्त्री, उपसभापति लगायतका पदमा धेरै जना नेताहरूको आकांक्षा देखिएकाले कार्यसमितिमा पनि निर्वाचन हुने अवस्था रहेको पार्टी स्रोत बताउँछ।

गर्मी थेग्न तयार छौँ, विधि मिच्न तयार छैनौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजु पाण्डे, रमेश प्रसाई लगायतहरू आफूहरू र महाधिवेशन प्रतिनिधिहरू गर्मी छेल्न तयार भएको, तर विधि मिच्न तयार नभएको बताउँछन्। चितवनबाट उनीहरूले विधि मिच्ने काम कसैले पनि गर्नु नहुने उल्लेख गर्दै केही समय पर्खिएर महाधिवेशन प्रतिनिधिको विवाद मिलाउँदै काम सक्नुपर्ने बताएका छन्।

अझै पनि महाधिवेशन प्रतिनिधिले कार्ड पाइसकेका छैनन्। उनीहरूलाई अस्थायी कार्ड अर्थात् चिर्कटो दिएर बन्दसत्रमा छिराइएको छ।

यसबारे प्रश्न गर्दा पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य उनीहरूको प्रतिनिधि कार्ड बनाउँदै गरिएकाले बन्दसत्र सुरु भएलगत्तै कार्ड वितरण सकिने दाबी गर्छन्। प्रतिनिधिहरू सम्पूर्णलाई कार्ड उपलब्ध हुने विपिनको विश्वास छ।

महाधिवेशनमा गुल्मीबाट आएका मिनबहादुर कुँवर विधि, प्रक्रिया र नयाँ पार्टीको नियमअनुसार महाधिवेशन अगाडि बढ्नुपर्ने बताउँछन्।

चितवनको गर्मीमा आफूहरूले दुई दिन झेलिसकेकाले बल्ल बन्दसत्र सुरु हुन लागेको उल्लेख गर्दै कसैले पनि विधि र नीतिभन्दा माथि गएर काम गर्नु नहुने उनको धारणा छ।

धेरैजना नेताहरू चिर्कटो बोकेर बन्दसत्रमा प्रवेश गरेकाले उनीहरूलाई सम्मानजनक कार्डको व्यवस्था गरिनुपर्ने र विवाद समाधान हुनुपर्ने उनको माग छ।

‘धेरैजना साथीहरू चिर्कटो बोकेर प्रवेश गर्नुभएको छ। उहाँहरूलाई कार्डको व्यवस्था गरियोस्, यो विवाद समाधान होस्। नत्र नयाँ पार्टी भनेर हामीलाई पुरानोभन्दा फरक ढंगले हेर्दैनन्,’ कुँवर भन्छन्, ‘रातभरि बसेर सकाउनु पर्ला, तर विधिअनुसार हुनुपर्छ। कसैलाई पनि विधिभन्दा माथि जाने अधिकार छैन।’

आदेश बस्नका लागि इलामबाट पुगेका सन्तोष मोक्तान पनि महाधिवेशनको बन्दसत्र ढिलो भएर तालिका प्रभावित भए पनि नीति–विधिमा टेकेर अगाडि बढ्नुपर्ने बताउँछन्। 

उनले हुनुपर्ने ढिलो भइसकेकाले बन्दसत्र सुरु भएको बताउँदै अब प्रक्रियाहरू विधि र पद्धतिअनुसार अगाडि बढ्नुपर्ने माग राख्छन्। मोक्तानसँगै अन्य नेताहरू पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन चाहनेलाई त्यो छुट उपलब्ध गराउनुपर्ने माग राख्दै आएका छन्।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ४ : ५१ बजे

राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

चितवन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन

एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा