दोलखा– उत्तरी भेगस्थित गौरीशंकर गाउँपालिका साउनको पहिलो सातामै बाढी–पहिरोको ठूलो विपत्तिमा परेको छ ।
लगातारको वर्षापछि वडा नम्बर–८ र ९ मा गएको बाढी तथा पहिरोले एक जनालाई बेपत्ता बनाउनुका साथै सात वटा घर बगाएको छ । हालसम्म २४ परिवार उच्च जोखिममा परेका छन् भने स्थानीय त्रासकाबीच सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन् ।
पहिरोको उच्च जोखिममा रहेका वडा नम्बर–८ को खारे–लोगटा र वडा नम्बर–९ को टासिनाम क्षेत्रमा दैनिकजसो पहिरो खस्न थालेपछि जनजीवन प्रभावित बनेको छ ।
सोमबार र मंगलबार मात्रै टासिनाम क्षेत्रमा दुई स्थानमा गएको पहिरोले चार वटा घरमा पूर्ण क्षति पुर्याएको छ भने एक जना बेपत्ता भएका छन् । यता लोगटा क्षेत्रमा खोलाले बस्ती कटान गर्दा तीन वटा घर बगाएको र थप पाँच वटा घर उच्च जोखिममा परेको गाउँपालिकाले जनाएको छ।

लोगटाका आठ परिवार विस्थापित
वडा नम्बर–८ को लोगटा टोलमा खोलाको कटानले स्थानीय कृष्ण तामाङका चारवटा घर बस्नै नमिल्ने गरी क्षति पुगेको छ। २०७२ सालको भूकम्पपछि आफू र आफ्ना तीन छोराको नाममा निर्माण गरिएका ती घर अहिले बाढी–पहिरोको चपेटामा परेका हुन् ।
घर जोखिममा परेपछि कृष्ण तामाङको परिवारसहित लोगटा टोलका आठ परिवारलाई करिब एक किलोमिटर टाढाको ओल्लो लोगटा गाउँमा सुरक्षित रूपमा सारिएको छ। स्थानीयका अनुसार वर्षा जारी रहेकाले बाँकी घरहरू पनि जोखिममा छन् ।
टासिनाममा उद्धार जारी, एक जनाको खोजी हुँदै

वडा नम्बर–९ को टासिनाममा सिप्रिङखोला जलविद्युत् आयोजनाको बाँधस्थल मूलखर्क र तल्लो गुम्बा क्षेत्रबाट झरेको पहिरोले ठूलो क्षति पुर्याएको छ । वडा अध्यक्ष ङिमगेली शेर्पाका अनुसार यहाँ १५ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।
पहिरोले दुई निजी घर, एक सामुदायिक भवन, बाख्राको गोठ,स्थानीय सुर्यबहादुर तामाङको ९ वटा गाई, ३ वटा गोरू, ३१ बाख्रा बगाएको छ ।
पहिरोमा करिब १० घण्टा फसेका चार जनाको सकुशल उद्धार गरिएको भए पनि बाख्राको गोठसँगै बेपत्ता भएका अन्दाजी ७५ वर्षीय चसमान तामाङको खोजीकार्य जारी रहेको वडा अध्यक्ष शेर्पाले जानकारी दिए ।
करोडौँको क्षति, जलविद्युत् आयोजना पनि प्रभावित
गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीका अनुसार बाढी–पहिरोले स्थानीयका घर, पशुचौपाया, सयौँ रोपनी खेतीयोग्य जमिन तथा १० मेगावाट क्षमताको सिप्रिङखोला जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्याएको छ ।

उनका अनुसार स्थानीयका तीन वटा घर बग्नुका साथै खेतीयोग्य जमिनमा व्यापक क्षति पुगेको छ । पहिरोले जलविद्युत् आयोजनाका भौतिक संरचनामा पनि ठूलो क्षति पुर्याएकाले प्रारम्भिक अनुमानअनुसार करोडौँ रुपैयाँ बराबरको नोक्सानी भएको छ । क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको गाउँपालिकाले जनाएको छ ।
विस्थापितलाई ३ लाख राहत दिने निर्णय
पहिरो प्रभावित क्षेत्रको बिहीबार स्थलगत अनुगमनपछि गाउँपालिका अध्यक्ष कार्कीले विस्थापित परिवारलाई राहत तथा पुनः स्थापनाका लागि विशेष प्याकेज घोषणा गरेका छन् ।
उनका अनुसार पहिरोका कारण घर गुमाएका परिवारलाई तत्काल अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

त्यसपछि स्थायी आवास निर्माण सम्पन्न भएपछि थप दुई लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ। यसरी प्रत्येक विस्थापित परिवारले कुल तीन लाख रुपैयाँ राहत प्राप्त गर्नेछन् ।
गाउँपालिकाले लोगटा र टासिनामका पहिरो प्रभावित क्षेत्रमा पुगेर क्षतिको विस्तृत विवरण संकलन गरिसकेको जनाएको छ ।
वर्षा अझै जारी रहेकाले जोखिमयुक्त बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने, खोज तथा उद्धारलाई तीव्र बनाउने र आवश्यक राहत सामग्री वितरण गर्ने कार्यलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ ।
स्थानीय प्रशासनले पनि जोखिम क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ । सुवास बस्नेत/दोलखा












प्रतिक्रिया