बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा  « Khabarhub

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।

जनैपूर्णिमाका अवसरमा बडीमालिका क्षेत्रमा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएको हो । समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको त्यस क्षेत्रमा सञ्चार सेवा पुगेपछि स्थानीयवासी, तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायका लागि सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ ।

सोमबार दिउँसो करिब १ बजे टावर जडानको काम सम्पन्न भएसँगै फोर–जी सेवा सञ्चालनमा ल्याइएको हो । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवा सञ्चालनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै दुर्गम भूगोलमा रहेका नागरिकलाई पनि सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए । 

त्यस क्षेत्रमा दूरसञ्चार सेवा पुर्‍याउन निरन्तर खटिने नेपाल टेलिकमका कर्मचारी, हेलिकप्टरमार्फत् सामान ढुवानीमा सहयोग गर्ने नेपाली सेना तथा सो कार्यमा समन्वय र सहकार्य गरेका बडीमालिकाका जनप्रतिनिधिलाई सञ्चारमन्त्री डा तिमिल्सिनले धन्यवाद ज्ञापन गरे । 

सञ्चारमन्त्री तिमिल्सिनाले यस वर्षलाई सरकारले दूरसञ्चार क्षेत्रमा अभूतपूर्व सुधारको वर्ष र डिजिटल रूपान्तरणको वर्षका रुपमा मनाउन लागेको उल्लेख गर्दै भौगोलिक रूपमा विकट भएकै कारण कुनै पनि नागरिक सञ्चार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गरिने बताए । 

उनले देशका दुर्गम तथा पर्यटकीय क्षेत्रसम्म गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए ।

सेवा सञ्चालनपछि सञ्चारमन्त्री डा तिमिल्सिनाले टावर स्थापनाका लागि बडीमालिका क्षेत्रमा खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कलमार्फत प्रत्यक्ष संवाद गरे । 

नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय र सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट टावर निर्माणका लागि बडीमालिका क्षेत्रमा खटिएका कर्मचारीसँग उनले सेवा सञ्चालनको अवस्था र त्यहाँको कठिनाई बारे जानकारी लिए । 

सो भिडियो संवादका क्रममा सहायक प्राविधिक अधिकृत माधव बुढाथोकी, इन्जिनियर सुदर्शन आचार्य, सिभिल इन्जिनियर दीपकराज भट्टलगायतका प्राविधिकले टावर स्थापना तथा सेवा सञ्चालनका क्रममा भएका कामबारे जानकारी गराएका थिए । 

त्यस्तै, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले दुर्गम क्षेत्रमा सञ्चार सुविधा पुर्‍याउने विषय टेलिकमको प्राथमिकतामा रहेको बताइन् । उनले टेलिकमको सेवा पहुँच विस्तारसँगै गुणस्तर सुधारमा समेत काम भइरहेको जानकारी दिइन् । 

प्रबन्ध निर्देशक पहाडीले व्यावसायिक लाभलाई मात्र आधार बनाएर सेवा विस्तार गर्नुभन्दा सञ्चार सेवाको पहुँच कमजोर रहेका दुर्गम क्षेत्रमा सेवा पुर्‍याउने जिम्मेवारीलाई प्राथमिकता दिइएको बताइन् । 

उनले देशका विकट भूभागमा समेत नागरिकलाई सञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्यअनुसार नयाँ पूर्वाधार निर्माण र सेवा विस्तार भइरहेको जानकारी दिइन् ।

टावर जडान गर्न करिब १ महिनाको प्रयास सफल

बडिमालिका क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा ल्याउनका लागि सरकार र नेपाल टेलिकमले करिब एक महिनादेखि निरन्तर काम गरिरहेका थिए । 

सञ्चारमन्त्री डा तिमिल्सिनाले बडीमालिका क्षेत्रमा तत्काल सञ्चार सेवा विस्तार गर्न गत साउन ८ गते नेपाल टेलिकमलाई निर्देशन दिएका थिए । बडीमालिकामा सञ्चार सेवा नपुगेको विषयमा गम्भीर चासो देखाउँदै उनले आवश्यक प्रक्रिया तत्काल अघि बढाउन र प्राविधिक तथा भौगोलिक चुनौती समाधान गरी सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ३ : २१ बजे

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।