सदनबाट विपिन र अमरेशले घेरे आफ्नै सरकारलाई « Khabarhub

सदनबाट विपिन र अमरेशले घेरे आफ्नै सरकारलाई


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारमाथि सांसदहरूले कडा प्रश्न उठाएका छन्।

सत्तारुढ रास्वपादेखि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदसम्मले घटनाको अनुसन्धान, पीडित परिवारसँग गरिएको सम्झौता तथा मृतकका परिवार र अभियुक्तसँग सम्बन्धित भिडियो सार्वजनिक गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् सांसद विपीन आचार्यले गरिमा चौधरीका आमाबुबाको भिडियो गृह मन्त्रालयमै खिचिएको र सार्वजनिक गरिएकोप्रति आपत्ति जनाए। उनले घटनाप्रति राज्य र समाज संवेदनशील हुन नसकेको भन्दै प्रश्न गरे।

प्रतिनिधिसभामा बोल्दै आचार्यले मृतकका परिवारले धन्यवाद दिएको भिडियो मन्त्रालयमा खिचिनु र अनुसन्धानकै क्रममा रहेका अभियुक्तले मेडिकल गराउँदै बोलेका कुराहरू सार्वजनिक हुनु गम्भीर विषय भएको बताए।

‘मृतकको बुवाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कतै मेडिकल गर्दै गर्दा अभियुक्तले बोलेका कुराहरूलाई सार्वजनिक रूपमा पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ,’ उनले भने।

आचार्यले यस्ता घटनाले समाज कुन दिशातर्फ गइरहेको छ भन्ने प्रश्न खडा गरेको बताए।

त्यस्तै, रास्वपाकी सांसद श्रद्धा कुँवरले महिला हिंसा र बलात्कारका घटनामा संलग्नलाई कडा सजाय हुने गरी कानुन बनाउनुपर्ने माग गरिन्। उनले बलात्कारसम्बन्धी कसुरमा सजायको व्यवस्था थप कडा बनाउनुपर्ने बताइन्।

समाजले छोरीलाई मात्रै लाज र मर्यादा सिकाउने होइन, छोरालाई पनि मानवता सिकाउनुपर्ने उनको भनाइ थियो।

नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले गरिमा चौधरीको परिवारसँग सरकारले गरेको सम्झौतामाथि प्रश्न उठाइन्। उनले एउटा अबोध बालिकाको जीवनको मूल्य कुनै सहमतिपत्रले निर्धारण गर्न नसक्ने बताइन्।

घटना भएपछि सडकमा आन्दोलन चर्किने र त्यसपछि सरकारले पीडित परिवारलाई काठमाडौं बोलाएर सम्झौता गरी घटनालाई सामसुम पार्ने प्रवृत्ति देखिएको आरोप उनले लगाइन्।

‘एउटा सालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ? सहमतिपत्रले तत्काल आन्दोलन रोक्न सक्ला, राहतले क्षणिक पीडा कम गर्न सक्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यप्रतिको विश्वास पुनःस्थापित गर्न सक्दैन,’ गच्छदारले भनिन्।

उनले जघन्य अपराधका घटनामा सहमति वा मिलापत्र गराउने प्रवृत्ति अन्त्य गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न माग गरिन्।

रास्वपाकी सांसद शाहजान खातुनले बालिका तथा महिलामाथि हुने बलात्कार र बलात्कारपछि हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही हुने गरी कानुन परिमार्जन गर्न सरकारसँग माग गरिन्।

निर्मला पन्तदेखि गरिमा चौधरीसम्मका पीडित परिवार अझै न्यायको प्रतीक्षामा रहेको उल्लेख गर्दै खातुनले राज्यले यस्ता घटनामा गम्भीर भएर काम गर्नुपर्ने बताइन्।

अनुसन्धानकै क्रममा रहेका अभियुक्तको बयानसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा पनि उनले गम्भीर प्रश्न उठाइन्। मृतकका परिवार र अभियुक्तसँग सम्बन्धित संवेदनशील सामग्री सार्वजनिक गर्ने कार्य तत्काल रोक्नुपर्ने उनको भनाइ थियो।

अमरेशले भने, ‘सरकारको प्रभाव र विश्वास घट्दैछ’

सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले समाजमा अराजकता, अस्थिरता, हत्या, हिंसा र बलात्कारका घटना बढ्दै गएको भन्दै सरकारप्रति जनताको विश्वास कमजोर हुँदै गएको बताए।

‘यो हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीका दुई घटनालाई मात्रै हेर्न मिल्दैन। हाम्रो सरकार बनेदेखि कप्तानगन्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या मिटरब्याज, लघुवित्त पीडित, डाक्टरको होस्। दिनदिनै भइरहेको यसले के देखाउँछ भने हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ,’ सिंहले भने।

अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार र विभिन्न आन्दोलनका कारण नेपाली जनता पीडित भइरहेको उनले बताए।

‘जब समाजमा बेथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ। यसलाई राम्रो छलफलको आवश्यकता छ,’ सिंहले भने।

गरिमा चौधरी प्रकरणलाई लिएर संसद्मा उठेका प्रश्नहरूले पीडित परिवारसँगको सरकारी सम्झौता, अनुसन्धान प्रक्रियाको संवेदनशीलता, सामाजिक सञ्जालमा संवेदनशील सामग्रीको प्रसारण र महिला तथा बालिकाविरुद्धका जघन्य अपराधमा विद्यमान कानुनी व्यवस्थामाथि समेत बहस चर्काएका छन्।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ४ : २१ बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क