काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक ज्ञानविना नै आफ्नै डिजिटल एप तथा मिनी एप निर्माण गर्न सक्ने ‘एआई बिल्डर’ सुविधा सार्वजनिक गरेको छ ।
यस नवप्रवर्तनकारी प्लेटफर्मको मुख्य उद्देश्य सामान्य प्रयोगकर्ताहरूलाई पनि आफ्ना नवीन आइडियाहरूलाई सहजै डिजिटल प्रोडक्टमा रूपान्तरण गर्न सहयोग पुर्याउनु हो ।
एनच्याटका अनुसार यस एआई बिल्डर मार्फत विभिन्न व्यवसाय, विद्यार्थी, स्टार्टअप तथा संघसंस्थाहरूले आफ्नो विशिष्ट आवश्यकता अनुसार डिजिटल सोलुसनहरू तयार गर्न सक्नेछन् ।
यस प्लेटफर्ममा उपलब्ध बिल्डरको प्रयोग गरी बिजनेस एप, स्कुल सिस्टम, रेस्टुरेन्ट सिस्टम, कम्युनिटी प्लेटफर्म, कम्पनीका आन्तरिक औजारहरू तथा स्टार्टअप एमभीपी जस्ता विविध सोलुसनहरू निर्माण गर्न सकिने कम्पनीले जनाएको छ ।
यो नयाँ प्रविधि विशेष गरी नेपालका साना तथा मझौला व्यवसाय, विद्यार्थी, उद्यमी र सिर्जनशील व्यक्तिहरूका लागि अत्यन्तै उपयोगी हुने अपेक्षा गरिएको छ ।
सामान्यतया एउटा एप वा वेबसाइट निर्माण गर्नका लागि विकासकर्ता, प्राविधिक ज्ञान र अतिरिक्त ठुलो लागत आवश्यक पर्ने भए तापनि आर्टिफिसियल इन्टेलिजेन्स र नो(कोड प्रविधिको उच्चतम प्रयोग गरी यो झन्झटिलो प्रक्रियालाई सरल बनाउने एनच्याटको मुख्य लक्ष्य रहेको छ ।
यसका साथै, कम्पनीले एआई बिल्डरलाई केवल व्यावसायिक प्रयोजनमा मात्र सीमित नराखी विद्यार्थी तथा युवा वर्गमा केन्द्रित गराउने अवधारणा पनि अघि सारेको छ ।
विद्यार्थीहरूले यस प्रविधिको प्रयोग गरेर आफ्नै समुदायमा देखिएका विभिन्न समस्याहरूको डिजिटल समाधान आफैं तयार गर्न सक्नेछन् । यस कदमले विद्यार्थीहरूलाई प्रविधिको केवल साधारण प्रयोगकर्ता मात्र बनाउनुको सट्टा नयाँ प्रविधिको विकासकर्ता अर्थात् ‘प्रब्लम सल्भर’ र ‘बिल्डर’ का रूपमा रूपान्तरण गर्न ठुलो मद्दत पुर्याउने कम्पनीको विश्वास छ ।
एनच्याटले हाल मेसेजिङ, भ्वाइसरभिडियो कलिङ, कम्युनिटीहरू, र मिनी एपहरू जस्ता विभिन्न डिजिटल सेवाहरूलाई एउटै बलियो इकोसिस्टममा एकीकृत गर्ने बृहत्तर उद्देश्यका साथ काम गरिरहेको छ।
कम्पनीको आधिकारिक वेबसाइटमा उल्लेख गरिए अनुसार प्रयोगकर्ताहरूले यस प्लेटफर्ममा ‘नो कोड’ ढाँचा अपनाएर करिब १० मिनेटभित्रै आफ्नो एप निर्माणको प्रक्रिया सुरु गर्न जनाइएको छ ।












प्रतिक्रिया