काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न आग्रह गरेको छ । टानका महासचिव सोनामग्याल्जेन शेर्पाले आज एक विज्ञप्ति जारी गर्दै आजदेखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले पर्यटकलाई पदयात्रा रोक्न र उच्च सतर्कता अपनाउन आग्रह गरे ।
अविरल वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो तथा डुबान हुनसक्ने र पदयात्रा मार्ग तथा यातायात सेवा प्रभावित हुने जोखिम रहेकाले पदयात्रा रोक्न टानले आग्रह गरेको हो ।
जोखिमपूर्ण परिस्थितिमा सकभर नयाँ पदयात्रामा ननिस्कन र पदयात्रा गन्तव्यमा रहेका पर्यटक तथा सहयोगी टोलीलाई सुरक्षित स्थानमा राख्न आग्रह गरिएको महासचिव शेर्पाले बताए । खोला किनार, भिरालो जमीन र पहिरोको जोखिम भएका क्षेत्रमा नबसी पर्वतारोहण तथा अन्य साहसिक पर्यटनका गतिविधि नगर्नरनगराउन पनि टानले अनुरोध गरेको छ ।
टानले निरन्तर मौसमसम्बन्धी ‘अपडेट’ लिई स्थानीय निकाय, सुरक्षा निकाय र संरक्षित क्षेत्रका व्यवस्थापकसँग समन्वय गर्न व्यवसायीलाई भनेको छ । यस्तै, कुनै समस्या परेमा वर्षासम्बन्धी जानकारी ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० र पर्यटक प्रहरी ११४४ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।












प्रतिक्रिया