जाकार्ता: इन्डोनेसियाले आफ्नो नौसैनिक क्षमता अभिवृद्धि गर्ने क्रममा इटालीको पूर्व नौसैनिक जहाज ‘जुसेप्पे गारिबल्दी’ लाई पहिलो विमानवाहक युद्धपोत (एयरक्राफ्ट क्यारियर) का रूपमा जाकार्तामा स्वागत गरेको छ । इटालीबाट प्रस्थान गरेको १८० मिटर लामो यो युद्धपोत गत सेप्टेम्बर १८ मा उत्तर जाकार्ताको ताञ्जुङ प्रिओक बन्दरगाहमा आइपुगेको हो ।
सुमात्राको ऐतिहासिक समुद्री साम्राज्यको नामबाट यसलाई अब ‘केआरआई श्रीविजय’ नामकरण गरिने अपेक्षा गरिएको छ। करिब ८३० जना कर्मचारी र १८ वटासम्म हेलिकप्टर बोक्न सक्ने क्षमता भएको यो जहाजलाई विपद् व्यवस्थापन, आपत्कालीन रसद आपूर्ति, हेलिकप्टर सञ्चालन तथा वन र पिटल्यान्डमा लाग्ने डढेलो नियन्त्रणजस्ता कार्यमा उपयोग गर्ने इन्डोनेसियाली अधिकारीहरूको योजना छ । सन् १९८५ मा इटालीमा सेवा सुरु भएको यो जहाज द्विपक्षीय रक्षा सम्बन्ध सुदृढ गर्ने उद्देश्यले इन्डोनेसियालाई हस्तान्तरण गरिएको हो ।
इन्डोनेसियाको अर्थ मन्त्रालयले सन् २०२५ मा यस कार्यक्रमका लागि करिब ४५० मिलियन डलर बजेट स्वीकृत गरेको थियो । यद्यपि, मर्मतसम्भार, पूर्वाधार, तालिम र दीर्घकालीन सञ्चालन खर्चका कारण कुल लागत अझ बढ्न सक्ने चेतावनी केही सांसदहरूले दिएका छन् । फ्रान्सबाट ४२ वटा राफेल लडाकु विमान खरिद गर्ने सम्झौता गरिसकेको इन्डोनेसियाले यस कदममार्फत आफ्नो सैन्य र नौसैनिक क्षमतालाई थप विस्तार गरिरहेको छ ।
यो जहाजको आगमनसँगै भारत र चीनसँगको रणनीतिक तथा सुरक्षा साझेदारी पनि चर्चामा आएको छ । इन्डोनेसियाले भारतसँग रक्षा उत्पादन, सामुद्रिक सुरक्षा र ब्रह्मोस सुपरसोनीक क्रुज क्षेप्यास्त्र आपूर्तिसम्बन्धी सहकार्य अघि बढाएको छ भने गत अगस्टमा चीनसँग पनि सैन्य तथा ऊर्जा क्षेत्रमा सहकार्य गहिरो बनाउने सहमति गरेको छ । हिन्द र प्रशान्त महासागरबीचको विशाल द्विपक्षीय राष्ट्र इन्डोनेसियाले आफ्ना नौसैनिक मार्ग र भौगोलिक सुरक्षा आवश्यकताहरू पूरा गर्न यो विमानवाहक जहाजलाई एक महत्त्वपूर्ण सामरिक उपलब्धिको रूपमा हेरेको छ।














प्रतिक्रिया