वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले पुनः ‘एपिक फ्युरी’ जस्तै सैन्य अभियान सञ्चालन गर्न सक्ने बताएका छन्। यद्यपि, उनले अमेरिका र इरानबीच सम्झौता हुन सक्ने सम्भावना पनि औँल्याएका छन्।
शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता हुन नसके अमेरिकाले अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने बताएका हुन्।
‘हामी फेरि एउटा सानो ‘एपिक फ्युरी’ जस्तो अभियान सञ्चालन गर्न सक्छौँ वा उनीहरूले सम्झौता गर्न सक्छन्,’ ट्रम्पले भने।
उनले इरानले समझदारी देखाउने हो भने गम्भीर वार्ता सुरु गर्न प्रस्ताव अघि सार्नुपर्ने बताए। तर, इरानले त्यस्तो प्रस्ताव गर्नेमा आफूलाई शङ्का रहेको पनि उनले उल्लेख गरे।
ट्रम्पले इरानको अर्थतन्त्र अहिले विश्वकै खराब अर्थतन्त्रमध्ये एक रहेको दाबी गर्दै अमेरिकी आक्रमणले इरानलाई ठूलो क्षति पुर्याएको बताए।
यसअघि शुक्रबार नै ट्रम्पले अमेरिकाले इरानसँगको युद्ध छिट्टै अन्त्य गर्न सक्ने बताएका थिए। तर, उनले युद्ध तत्काल अन्त्य गर्ने प्रयास गर्नु उचित हुन्छ वा द्वन्द्वलाई बिस्तारै मत्थर हुन दिनु उपयुक्त हुन्छ भन्ने प्रश्नसमेत उठाएका थिए।
ट्रम्पको पछिल्लो अभिव्यक्तिले इरानमाथि सैन्य दबाब कायम राख्दै वार्तामार्फत सम्झौता गर्ने अमेरिकी रणनीति दुवै विकल्पमा खुला रहेको सङ्केत गरेको छ।














प्रतिक्रिया