रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेर नष्ट गरेको साउदी नेतृत्वको गठबन्धनले शनिबार जनाएको छ ।
रियादमा शनिबार बिहान दुईवटा विस्फोटका आवाज सुनिएको एएफपीका एक पत्रकारले बताएका छन् । सम्भावित खतराबारे सर्वसाधारणलाई सचेत गराउन साउदी नागरिक सुरक्षा निकायले पूर्वचेतावनी प्रणालीसमेत सक्रिय पारेको थियो ।
गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीले सामाजिक सञ्जाल एक्समार्फत हुथी विद्रोहीहरूले रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको जानकारी दिएका हुन् ।
यसअघि शनिबार नै साउदी अरबको पूर्वी प्रान्तमा एउटा ड्रोनलाई पनि बीचमै रोकेर खसालिएको अल–माल्कीले बताएका थिए ।
साउदी अरबमाथि आक्रमण तीव्र
यस महिना साउदी अरबमाथि इरान समर्थित समूहहरूबाट लगातार आक्रमण भएका छन् । तीमध्ये रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण पनि रहेको बताइएको छ । उक्त आक्रमण पछिल्ला केही वर्षयताकै घातकमध्ये एक मानिएको छ ।
साउदी अरबले हुथी विद्रोहीहरूलाई आफूमाथि आक्रमण तीव्र पार्न इरानले उक्साएको आरोप लगाउँदै आएको छ । तर इरानले भने हुथीहरूको आक्रमणमा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गर्दै आएको छ ।
यमनमा पुनः चर्कियो द्वन्द्व
चार वर्षसम्म कायम रहेको तर अस्थिर युद्धविरामपछि गत जुलाईमा यमनमा पुनः लडाइँ सुरु भएको थियो । अमेरिका र इरानबीच जारी द्वन्द्वका बीच यमनको अवस्था थप जटिल बन्दै गएको छ । यसले समग्र मध्यपूर्वको सुरक्षा अवस्थाबारे चिन्ता बढाएको छ ।
वर्षौँदेखि जारी द्वन्द्वका कारण यमनले ठूलो मानवीय क्षति बेहोर्दै आएको छ । विश्वका सबैभन्दा गरिब मुलुकमध्ये एक यमनमा लाखौँ मानिस द्वन्द्वबाट प्रभावित भएका छन् भने देशले गम्भीर मानवीय सङ्कटको सामना गरिरहेको छ ।














प्रतिक्रिया